रामपुर-डेढगाउँ-काठमाडौँ बस सेवा शुरु

पाल्पा, १४ पुस । रामपुर यातायात व्यवसायी समिति, रामपुर, पाल्पाले रामपुरदेखि डेढगाउँ हुँदै काठमाडौँसम्म बस सेवा शुरु गरेको छ ।

पूर्वी पाल्पाको रामपुरमा मुख्य कार्यालय रहेको समितिले रामपुरदेखि पूर्व नवलपरासीको पहाडी क्षेत्र डेढगाउँमा शाखा सम्पर्क काउन्टर स्थापना गरी शुक्रबारदेखि बस सेवा सञ्चालन गरेको हो ।

हाल रामपुरदेखि डेढगाउँमा दिउँसो मात्र जिप र बस सेवा दिएको समितिले शुक्रबारदेखि रामपुर-डेढगाउँ हुँदै काठमाडौँसम्म रात्रिबस सेवासमेत सञ्चालन गर्ने यातायात व्यवसायी समितिका उपाध्यक्ष खिमबहादुर केसी पुरुषोत्तमले जानकारी दिए ।

दिउँसो २ बजे रामपुर बेझाडबाट छुटेको बस पूर्व नवलपरासीको डेढगाउँ, तनहुँको भिमाद हुँदै काठमाडौँ सम्मका लागि नियमित रात्रि सेवा दिइने समितिले जनाएको छ ।

शाखा सम्पर्क काउण्टरको उद्घाटन गर्दै बुङ्दीकाली गाउँपालिकाका उपाध्यक्ष मायादेवी श्रेष्ठले नवलपरासीको पहाडी भेगका जनताले समेत सहज सेवा पाउने हुँदा सेवा सञ्चालनमा गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रामपुर यातायात व्यवसायी समितिले पाल्पाको रामपुरदेखि दैनिक दिवा तथा रात्रि सेवा यस क्षेत्रलगायत बुटवल, तानसेन, स्याङ्जा, तनहुँ, पोखरा र काठमाडौँसम्म दिँदै आइरहेको छ ।

पूर्वविद्यार्थीद्वारा जाडोको कपडा वितरण

यसैबीच, आधारभूत माध्यमिक विद्यालय, रामपुर, पाल्पामा अध्ययनरत विद्यार्थीलाई पूर्वीविद्यार्थी एवम् योगगुरु प्रकाश आचार्यले जाडोको कपडा वितरण गरेका छन् ।

विद्यालयका पूर्वविद्यार्थी आचार्यले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार १९ जना विद्यार्थीलाई जाडोको कपडा स्वीटर वितरण गरेका हुन् । आचार्यले विद्यार्थीले राम्रो गरेमा विद्यालयको प्रगतिका लागि अन्य सेवामूलक कार्यक्रम ल्याउने समेत प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया