सहरका विद्यार्थी गाउँतर्फ

कञ्चनपुरको झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा महेन्द्रनगर, धनगढी तथा अत्तरियाबाट पढ्न जाने विद्यार्थीहरूको भीड लाग्न थालेको छ । आफ्नो टोल तथा चोकका निजी आवासीय विद्यालयभन्दा त्यस क्षेत्रका अविभावकहरूले गाउँको सरकारी विद्यालयमा आफ्ना छोराछोरी पढाउने चाहना राख्न थालेका छन् । गाउँमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयले सहरका विद्यार्थी तान्न थाल्नुको मुख्य कारण हो व्यावहारिक ज्ञान र सीप दिने स्तरीय पढाइ । उक्त विद्यालयमा बाली विज्ञान विषयको पढाइ हुन्छ । विद्यालयसँग आफ्नै प्रसस्त जग्गा छ । उक्त जग्गामा कृषिसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप दिइन्छ । विद्यालयमा सिकेको ज्ञान तथा सीप तत्कालै विद्यार्थीहरूले घरमा गएर प्रतिफल आउनेगरी प्रयोग गर्न सक्ने भएकोले अविभाकहरूको आकर्षण बढेको हो । यतिन्जेलसम्म स्तरीय शिक्षाका लागि गाउँका अविभाकहरूले आफ्ना छोराछोरीलाई सहरका निजी विद्यालयमा पठाउने गरेकोमा अब सहरका अविभाकहरूले आफ्ना छोराछोरीलाई गाउँको सरकारी विद्यालयमा पठाउन थाल्नु भनेको निकै ठूलो परिर्वतन हो । कार्यक्रम संयोजक राजेन्द्रप्रसाद पाण्डेका अनुसार उक्त विद्यालयमा फलफूल, बाली, तरकारी, बीउ, फूल, माटो, रोग, किरा, माछा, माहुरी, रेशम, च्याउ, कृषि उपकरणलगायत ११ विषयमा पढाइ हुन्छ । हाम्रोजस्तो कृषि प्रधानमुलुकका लागि अत्यन्त व्यावहारिक हुने विषयवस्तु छनोट गरिएका कारण पनि उक्त विद्यालयमा सहरका विद्यार्थीको समेत आकर्षण बढेको हो ।
गाउ“का सरकारी विद्यालयहरू विद्यार्थीको अभावमा धमाधम बन्द हुन थालेको वर्तमान अवस्थामा सरकारले कञ्चनपुरको झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयबाट पाठ सिक्नु जरुरी छ । गाउँका सरकारी विद्यालयमा विद्यार्थीको अभाव हुन थालेपछि शिक्षा मन्त्रालयले विद्यालयलाई एकआपसमा गाभ्ने नीति सुरु गरेको छ । सरकार र स्थानीय समुदायको ठूलो लगानीमा गाउामा विद्यालय भवन बनेका छन् । तर, विद्यार्थीको अभाव हुन थालेपछि गाउँका धेरैजसो विद्यालयहरू खारेजी हुने चरणमा छन् । एकातिर सहरमा सरकारी विद्यालय स्थापनाका लागि जमिनको अभाव देखिएको छ भने अर्कोतर्फ गाउँका विद्यालयहरू खारेजीको चरणमा छन् । आफ्ना छोराछोरीलाई स्तरीय शिक्षा दिने उद्देश्यले नै अभिभावकहरू धमाधम सहरतर्फ बसाइँ सरिरहेको अवस्था छ । गाउँकै सरकारी विद्यालयमा स्तरीय शिक्षा प्रदान गर्नसक्ने हो भने मात्रै पनि धेरैजसो बसाइँसराइ रोकिन्छ । मुलुकको समानुपातिक विकासको मुख्य चुनौति भनेकै बसाइ“सराइ हो । बसाइ“सराइले बहुआयामिक समस्या सिर्जना गरेको छ ।
संविधानले विद्यालय तहको शिक्षण संस्था स्थापना तथा व्यवस्थापनको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहअन्तर्गत मुलुकभरी सात सय ५३ पालिकाहरू संरचना गरिएको छ । सबै पालिकामा जनप्रतिनिधिहरू आइसकेका छन् । अब जनप्रतिनिधिहरूले पहिलो प्राथमिकता शिक्षा क्षेत्रलाई दिने हो भने धेरैजसो समस्या समाधान हुन्छ । कम्तिमा पनि माध्यमिक शिक्षा आर्जनका लागि आफ्नाे पालिकाका विद्यार्थी अन्यत्र नजाउन् भन्नेमा जनप्रतिनिधिहरू सचेत हुनु जरुरी छ । पालिकाका हरेक वडामा सरकारी विद्यालयमध्ये पाँच वर्षभित्र कम्तिमा एउटालाई नमुना विद्यालयमा रूपान्तरण गर्न नसकिने होइन । ज्ञानका साथ सीपसमेत प्रदान गर्नसक्ने विद्यालय हुने हो भने सहरमा आएका अविभाकहरू आफ्ना छोराछोरीलाई लिएर स्वतः गाउँ फर्कनेछन् । सहर अव्यवस्थित हुनबाट र गाउँ उजाड हुनबाट जोगिने उपायमध्ये यो उपाय नै सबैभन्दा सजिलो र भरपर्दो हो ।

प्रतिक्रिया