काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ताको दुरुपयोग गरी राष्ट्रपतिविरुद्ध दुर्भावना फैलाउने काम गरेको भन्दै शीतल निवासमा उजुरी परेको छ । राष्ट्रिय सभा अध्यादेशसम्बन्धी विवादको विषयमा परामर्शका लागि शीतलनिवास पुगेका राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरूले सत्तामा बसेर सम्मानित संस्थाविरुद्ध दुर्भावना फैलाउने काम भएको भन्दै प्रधानमन्त्री देउवाविरुद्ध राष्ट्रपतिलाई उजुरी गरेका हुन् ।
प्रधानमन्त्री देउवाले दलहरूबीच सहमति जुटाउन पहलकदमी नलिएपछि दलीय सहमतिका लागि आफैँ पहलकदमी लिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेशको विषयमा धारणा बुझ्न राजपाका ६ जना नेतालाई शीतलनिवास बोलाएकी थिइन् । राष्ट्रपतिको बोलावटअनुसार राजपा नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव शीतलनिवास पुगेका थिए । पार्टीका शीर्षमध्येका एक महेन्द्र राय यादव भने काठमाडौं बाहिर रहेको कारण भेटवार्तामा सहभागी हुन सकेनन् ।
‘सरकारमा बसेर राष्ट्रपतिजस्तो सम्मानित संस्थाकै विरुद्ध दुर्भावना फैलाउन पाइँदैन, यो अत्यन्तै आपत्तिजनक काम हो, कांग्रेस र प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई सडकमा उतारेर अत्यन्तै अनुचित काम गरे, यस्तो काम कहीँ कतैबाट पनि हुनुहुन्न,’ परामर्शको क्रममा राजपा नेताहरूको भनाइ थियो । उनीहरूले मुलुककै अन्तिम निकाय राष्ट्रपति कार्यालयविरुद्ध दुर्भावना फैलाउने कामबारे प्रधानमन्त्रीलाई बोलाएरै सचेत गराउनसमेत सुझाव दिएका छन् ।
‘अध्यादेश संविधानसम्मत छ कि छैन भन्ने कुरा संविधान र कानुन बनाउने तिनै दलहरूले जानून्, तर आफ्नो स्वार्थका लागि मुलुककै अन्तिम निकाय राष्ट्रपति कार्यालयविरुद्ध दुर्भावना फैलाउन पाइँदैन, अहिले जसरी सडकमा राष्ट्रपतिविरुद्ध उतार्ने काम भएको छ, यो बिल्कुलै अनुचित छ, यस विषयमा प्रधानमन्त्रीलाई बोलाएर सोध्नुपर्छ,’ परामर्शको क्रममा राजपा नेताहरूको भनाई उधृत गर्दै सहभागी एक नेताले भने, ‘राष्टपति सम्मानित संस्था हो, देशको अन्तिम ठाउँ पनि यही हो, यसको हामी अत्यन्तै सम्मान गर्छाैं, यो संस्था विवादमा पर्नु वा पार्नु पनि हुन्न ।
उनीहरूले अध्यादेशको विषयमा छिटो निर्णय लिन पनि राष्ट्रपति भण्डारीलाई सुझाव दिएका छन् । ‘अध्यादेशलाई छिटो टुंगो लगाउनुपर्छ, तपार्इं निर्णय लिनोस्, हामी तपाईंको निर्णयप्रति पूर्ण विश्वस्थ छौँ,’ राजपा नेताहरूको भनाइ थियो । राजपा नेताहरूले पछिल्लो समय कांग्रेसले देखाएको सत्ता मोह र एमाले माओवादीले सहमतिका लागि आफूहरूसँग परामर्श नगरेको विषयमा समेत राष्टपतिलाई गुनासो गरेका थिए ।
कांग्रेस कहिल्यै लोकतान्त्रिक आचरणमा प्रस्तुत भएन, चुनावमा जितेका एमाले र माओवादीले पनि मधेसी जनताले विश्वास गरेका हामीलाई महत्व दिएको देखिएन, राजपा नेताहरूको भनाइ थियो । राष्टपति भण्डारीले भने आफू संविधानको दायराभित्र रही संविधानसम्मत निकास होस् भन्ने मान्यतामा अडिग रही सबैलाई निकासका लागि सुझाएको बताएकी थिइन् ।
‘मैले संविधानको दायराभित्र रही संविधानसम्मत निकास दिनोस् भनेर प्रधानमन्त्रीलाई सबैभन्दा पहिला सुझाव दिएँ, त्यसपछि एमाले र माओवादीका अध्यक्षलाई भनेँ, संघीय समाजवादी फोरमका अध्यक्षलाई पनि यही कुरा सुनाएँ, तपार्इंहरूलाई पनि सहमतिका लागि योगदान गर्नाेस् भन्ने मेरो सुझाव हो,’ राजपा नेताहरूलाई राष्ट्रपतिको भनाइ उधृत गर्दै स्रोतले भन्यो । राष्ट्रपतिले यसअघि नै एमाले, माओवादी, कांग्रेस र संघीय समाजवादी फोरमका नेताहरूसँग निकासको विषयमा परामर्श गरिसकेकी छन् ।
प्रतिक्रिया