स्थिरताका बाधकहरू सावधान !

-रामबहादुर जिसी  लोकतन्त्रमा जनता सबैभन्दा ठूला हुन्छन् । तर, जनताले जब आफ्नो अभिमत मतमार्फत दलका प्रतिनिधिहरूलाई सुम्पिन्छन् र जनताको अभिमत बोकेर सत्तामा पुगेका व्यक्तिहरूले जब आफूलाई मालिक र जनतालाई रैती सम्झन्छन् तब जनता निराश बन्न थाल्छन् । जनताले आफूलाई शासन गर्ने व्यक्ति चुन्छन्, जसले आफ्नो र समाजको विकास र रूपान्तरण गरोस्, तर नेताहरू सत्ता पाएपछि पाँच वर्षका लागि जनता बिर्सने रोगबाट ग्रसित छन् ।

सबै यस्ता छन्, त्यो पनि होइन, केहीले गर्न खोजेका पनि छन् तर अत्यधिक बहुमत संख्या जनमत विर्सने भएका कारण सबै त्यही पेरीफेरीमा परेका छन् । सबै खराब हुन् भन्ने अवस्था सिर्जना भएको छ । नेपालका राजनीतिक दलहरूले वेला–वेलामा जनतालाई ढाँट्ने गरेका छन् । चुनावका वेला उमेदवारहरूले विकास निर्माणदेखि समाज रूपान्तरणका लागि व्यक्त गर्ने अभिव्यक्तिहरूलाई सँगालेर सिँढी बनाउने हो भने त गाईजात्राको सबैभन्दा उत्तम प्रहसन बन्न सक्छ ।

निर्वाचनमा उमेदवारले मात्रै होइन, विजयी भएर देशको नेतृत्व गर्ने व्यक्तिहरूले पनि वेला–वेलामा ढाँट्ने गरेका छन् । ०४६ सालको परिवर्तनपछि ०४८ को आमनिर्वाचनमार्फत देशको प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले भारतमा भएको सम्झौतालाई समझदारी भनेर ढाँटे । उनले समझदारी भनेर ढाँटेको मात्रै होइन, पाँच वर्षका लागि निर्वाचित संसद्लाई तीन वर्षमै विघटन गरेर मध्यावधि निर्वाचनमा देशलाई होमे । सत्ता पाउँदा मैमत्त बन्ने प्रवृतिको सुरुवात गिरिजाप्रसाद कोइरालाले गरे ।

उनले गरेको बलमिच्याईं र ढाँटलाई जनताले भत्काइदिए,०५१ को मध्यावधि निर्वाचनमा कांग्रेस दोस्रो दल बन्यो । ०५१ को मध्यावधि निर्वाचनबाट नेकपा एमाले पहिलो दल बन्यो र सो दलका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा पहिलोपटक वामपन्थी सरकार बन्यो । नौ महिनामात्रै शासनको सञ्चालन गरेको एमाले सरकारले जनताको पक्षमा केही सकारात्मक कार्यक्रम ल्यायो । एमालेको अल्पमतको सरकारलाई नेपाली कांग्रेसको अगुवाइमा हटाउने काम भयो ।

त्यसपछिको चार वर्ष नेपालको संसदीय इतिहासको सबैभन्दा कालो कार्यकालको रूपमा रह्यो । एमालेको अल्पमतको लोकप्रिय सरकारलाई हटाएर नेपाली कांग्रेसका शेरबहादुर देउवा प्रधानमन्त्री भए, त्यसपछि लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । उनीहरूले सञ्चालन गरेका कुनै पनि सरकारले जनताको मन जित्न सकेन । ०५६ सालमा आमनिर्वाचन आयो, नेकपा एमालेले ०५१ सालको अल्पमतको सरकारका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष मनमोहन अधिकारीलाई प्रधानमन्त्रीको रूपमा घोषणा ग¥यो । यद्यपि निर्वाचनअगावै अधिकारीको निधन भयो ।

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको छवि नेपाली जनतामा राम्रो नदेखेकैले होला, नेपाली कांग्रेसले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका रूपमा अगाडि सा¥यो । सभापति कोइरालालाई अगाडि सार्दा जनमत प्राप्त नहुने निष्कर्षका साथ कांग्रेसले भट्टराईलाई अगाडि बढाएको थियो । ०४६ सालको परिवर्तनपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरेर समयमै संविधान जारी गर्नुका साथै आमनिर्वाचनसमेत गराएर सहजै सत्ता हस्तान्तरण गरेर जनताबीच लोकप्रिय बनेका भट्टराईलाई अगाडि सारेपछि जनताले नेपाली कांग्रेसलाई बहुमत दिए ।

एमालेबाट प्रधानमन्त्रीका लागि प्रस्तावित मनमोहन अधिकारीको निर्वाचनअगावै निधन हुनु, एमाले विभाजित भएर बनेको नेकपा मालेले देशभर उमेदवारी दिएको अवस्थाका कारण एमालेले बहुमत ल्याउँछ भन्ने जनतामा विश्वास थिएन । नेपाली कांग्रेसले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने हो भने देशले गति लिन्छ भन्ने ठानेर जनताले आफ्नो अभिमत नेपाली कांग्रेस अर्थात् कृष्णप्रसाद भट्टराईको नेतृत्वलाई दिए ।

०५६ वैशाखमा निर्वाचन सम्पन्न भएपछि जेठमा प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराईलाई सोही वर्षको फागुनमा गिरिजाप्रसाद कोइरालाले हुत्याइदिए । निर्वाचनमा भट्टराईलाई सेलिब्रेटी बनाएर निर्वाचन जितेको कांग्रेसका तत्कालीन सभापति कोइरालाले सत्ता हत्याएर स्थिर शासन सञ्चालन गर्न सक्ने अवस्थाको अन्त्य गरिदिए । गिरिजाप्रसाद कोइरालालाई शेरबहादुर देउवाले ०५८ साउनमा हुत्याइदिए । आमनिर्वाचन भएको दुई वर्षमा लोकतन्त्रको सच्चा पहरेदार पार्टीले तीन जना प्रधानमन्त्री दियो ।

तीन जना प्रधानमन्त्री मात्रै दिएन, अन्तिममा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले ०५९ जेठमा जननिर्वाचित संसद् विघटन गरे, त्यति मात्रै कहाँ हो र, उनले स्थानीय निकायसमेत भंग गरेर कर्मचारीलाई शासन सञ्चालनको जिम्मेवारी दिए । आफूलाई लोकतन्त्रको सच्चा पहरेदार भन्दै स्वघोषणा गर्ने नेपाली कांग्रेसले जनमतको यसरी खिल्ली उडायो कि जनता हेरेको हेरै भए । नेपाली कांग्रेसकै कारण ०४८ र ०५६ सालमा सुविधाजनक बहुमत भएर पनि शासन सञ्चालन हुन सकेन, जसका कारण देशमा निरंकुश शासन आयो । ०६३÷०६३ को परिवर्तनपछि पनि देशमा स्थिर सरकार बन्न सकिरहेको छैन ।

देशमा पञ्चायत गएर बहुदल आयो, बहुदल खोसेर निरकुंशता आयो, निरंकुशता फालेर गणतन्त्र आयो तर जनताले स्थिर शासन र आर्थिक तथा सामाजिक रूपान्तरणको सही फल चाख्न पाएका छैनन् । यतिवेला देशमा वामपन्थीहरूको बहुमत छ । नेपाली कांग्रेसले बहुमत पाएर पनि सत्ता सञ्चालन गर्न सकेन, देशको आर्थिक विकास गर्न सकेन, सुशासन र स्थिरता दिन सकेन, समग्रमा नेपाली कांग्रेसले देश चलाउन सक्दैन, त्यसकारण हामीलाई मत दिनुस्, हामी स्थिरता, सुशासन, विकास र समृद्धि दिन्छौँ भन्ने वाम गठबन्धनको प्रतिबद्धतालाई नेपाली जनताले आफ्नो अभिमतमार्फत अनुमोदन गरिदिएका छन् ।

नेपालको इतिहासमा यतिवेला वामपन्थी गठबन्धनले स्पष्ट बहुमतसहितको सरकार सञ्चालन गर्ने जिम्मेवारी पाएको छ । वामपन्थी गठबन्धनका लागि यो अग्निपरीक्षा हो । जनताको अभिमतलाई वामपन्थी दलहरूले सही मानेमा सम्बोधन गर्न सकेनन् भने फेरि देशमा वामपन्थीहरूको बहुमत ल्याउन अलि लामै समय कुर्नुपर्नेछ । त्यति मात्रै होइन देशमा स्थिर शासनको पनि सम्भावना कम देखिन्छ । अस्थिरता निम्त्याउनका लागि नेपाली कांग्रेस मात्रै जिम्मेवार छैन, ०६४ को संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाललाई विस्थापन गरी माधवकुमार नेपाल, नेपाललाई हुत्याएर झलनाथ खनाल र खनाललाई विस्थापन गरी बाबुराम भट्टराई प्रधानमन्त्री बनेको इतिहास पनि नजिकै छ ।

विगतमा छुट्टाछुट्टै निर्वाचन लडेका दुई दलका कारण स्थिरता भएन, तर यतिवेला दुई दलले वाम गठबन्धन बनाएर निर्वाचनमा गएका थिए र उनीहरूले गरेका प्रतिबद्धताअनुसार नै जनताले मत दिएका छन् । के अब देशमा स्थिर सरकार बन्छ ? जनताको चाहना छ, देशमा स्थिर सरकार बनोस्, विकासले गति लिओस् । तर, राजनीतिक दलहरूको गतिविधि हेर्दा आशंका अझै छ । नेपालको राजनीतिमा हुन नसक्ने कुनै विषय छैन । आज एउटा र भोली अर्कै निर्णय भएका हामीले देखी÷भोगी आएकै छौँ । जनताको चाहनालाई आत्मसात नगर्दा देश अन्योलको भुमरीमा फसेको छ ।

देशलाई यो भुमरीबाट जोगाउने जिम्मा यतिवेला वामपन्थी नेताहरूको काँधमा आएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचनअगाडि जुनखालको प्रतिबद्धता गरेर निर्वाचन जितेका छन्, त्यो प्रतिबद्धता पूरा हुन्छ कि हुँदैन ? जनता दुविधामा छन् । दलहरूका विगतलाई हेर्ने हो भने फेरी पनि स्थिरता टाढै छ, किनकि कुनै एक दलको बहुमत छैन र सत्तामोहका कारण गठबन्धन बनाउने र भत्काउने अनेक खेल हुन सक्छन् । तर, जनता आशावादी बनेका छन् । विगतबाट चेतेर यसपटक नेताहरूले स्थिरता दिन्छन् ।

स्थिरताकै पक्षमा जनताले मत दिएका छन् । यो मतलाई सम्मान गर्दै अगाडि बढ्नु वामपन्थी गठबन्धनको जिम्मेवारी हो । पार्टी एकीकरणको विषयलाई लिएर गठबन्धन अन्योलमा परेको आभाष जनताले गरेका छन् । स्वाभाविक रूपमा पार्टी एकीकरण हुँदा कतिपय व्यक्तिको पद वा हैसियत तलमाथि पर्न सक्छ, तर समग्रमा देशले जित्छ, देशमा राजनीतिक स्थिरता हुँदा, देश समृद्ध बन्दा आमजनतालाई फाइदा हुन्छ र एकीकरणका कारण पछि परेकाहरूलाई पनि यसैले फाइदा गर्छ ।

त्यसकारण व्यक्तिगत इच्छा आकांक्षालाई थाती राखेर यतिवेला जनताको भावनाअनुसार वाम गठबन्धनको स्थिर सरकार निर्माण आवश्यक छ र त्यसका लागि जनताका तर्फबाट खबरदारी पनि आवश्यक छ । राजनीतिक क्रान्ति सफल भएर त्यो क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा गर्ने जिम्मेवारी जनताले वामपन्थी गठबन्धनलाई दिएका छन् । विगतमा नेपाली कांग्रेसले जनताको अभिमतलाई सम्मान गर्न सकेन । वामपन्थीहरूले गर्न सक्छन् भन्ने अपेक्षाका साथ जनताले अभिमत दिएका हुन् ।

अझै पनि वामपन्थी गठबन्धनलाई पूर्ण रूपमा जनताले साथ दिएका छैनन् भन्ने कुरा समानुपातिकमा नेपाली कांग्रेसले पाएको मतले प्रस्ट पार्दछ । यदि यो अवसरलाई वाम गठबन्धनले सदुपयोग नगर्ने हो भने जनताबाट टाढिनुको विकल्प छैन । घर राम्रो भयो भने हावाहुरी, आँधीबेरीजस्तोमा पनि बस्न सकिन्छ, घर कमजोर भयो भने अर्काको घरमा आश्रय लिनुपर्ने अवस्था आउन सक्छ । त्यस्तै, देश समृद्ध भएन भने हामी कमजोर हुन्छौँ र विदेशीको शरणमा जानुपर्ने बाध्यता हुन सक्छ ।

जनताले स्थिर शासन, दिगो विकास र समृद्धिका लागि वामपन्थी गठबन्धनलाई जिम्मेवारी प्रदान गरेका छन् । यो जिम्मेवारीलाई सहजताका साथ समन्वय गरेर पूरा गर्ने अभियानको अगुवाइ केपी शर्मा ओली र प्रचण्डले गर्नुपर्छ र उहाँहरूलाई दुवै पार्टीका अन्य नेताहरू, कार्यकर्ता र आमजनताका तर्फबाट सहयोग हुनुपर्छ । नेताले नराम्रो गरे पनि राम्रो देख्ने अन्धभक्त र विरोधीले राम्रो गरे पनि विरोध गर्ने पूर्वाग्रही सोच त्यागेर वाम गठबन्धनले पाँच वर्ष शासन सञ्चालन गर्न दबाब सिर्जना गरौँ ।

अन्यथा वामपन्थीहरूको अवस्था प्रजापरिषद्को जस्तो बन्न पनि सक्छ । एकपटकको जित सधैँका लागि हुँदैन । जितको उन्माद त्यागेर सबैसँग समन्वय र सहकार्य गर्ने गरी जनताको अभिमतअनुसार अगाडि बढ्नका लागि जुटौँ । जनताले स्थिरताका लागि मत दिएका हुन् । आफ्नो व्यक्तिगत वा पार्टीगत स्वार्थका लागि स्थिरता भाँड्नेहरूलाई खबरदारी गरौँ । त्यस्ता प्रवृतिका व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई जनताका बीचमा लैजाने काम गरौँ ।  (जिसी एमाले केन्द्रीय सहकारी तथा गरिबीनिवारण विभाग सदस्य हुन्)

प्रतिक्रिया