नारी देह र पुरुष मोह

मानिस मात्र यस्तो जीव हो, जसलाई समागमका लागि कुनै काल कुर्नुपर्दैन । स्त्रीको ऋतुकाल हुन्छ, महिनावारीचक्र चल्छ, तर पुरुष ? पुरुष समागमका लागि हरक्षण लालायित छ, कल्पिइरहेको छ । सपना, विपना, जपना, रटना स्त्री, स्त्री अनि स्त्री ।

दिनेशराज सत्याल

स्त्री–पुरुष मिलन, समागम वा सम्बन्ध सम्भवतः सबैभन्दा बढी चिन्तन, चियो र चर्चाे गरिएको विषय हो । स्त्रीसुखका लागि पुरुष याचक बन्छ, करोडपति पनि भिखारी देखिन्छ, भिखारी पनि याचक हुन्छ, राजा पनि स्त्रीको सौन्दर्य र समागमका लागि राजपाठ भुल्छ । महाभारत भनौँ वा रामायण, हरेक कथा र घटनाका मूल पात्र नारी हुन्छिन् । नारी देहको लागि याचक बनेका महापुरुषहरू इतिहासदेखि अद्यपर्यन्त प्रशस्त छन् ।

सौर्य र वीरताको पर्याय बनेको पुरुष, स्त्रीमिलनको सवालमा एकदमै कमजोर बन्न पुग्छ । राजा शुम्भको दूत भएर देवीको अगाडि गएको निशुम्भ भन्छ, ‘हे देवि ! हाम्रा राजा शुम्भ, कोही कसैसँग पराजय व्यहोर्दैनन् । पराजय व्यहोर्ने स्त्रीसँग हो । त्यो पनि शयनकक्षमा, तिमी हाम्रा राजा शुम्भलाई स्वीकार गर, उनकी रानी होऊ, त्यसपछि शयनकक्षमा तिमी राजा शुम्भलाई पराजित गरौली, हे देवि ! कोमल अंग युद्धका लागि होइन, तिमी युद्ध गर्ने जिद्दी नगर ।’ देवी भन्छिन्, ‘होला, तिम्रा दाजु राजा शुम्भ महापराक्रमी होलान्, विश्वविजेता बनेका होलान्, मलाई पनि जित्लान्, तर के गर्नु, मैले मेरो अहंकारका कारण पहिले नै प्रतिज्ञा गरेकी छु, जसले मलाई जित्छ, म उसैको हुनेछु । मेरो प्रतिज्ञाको कारण पनि राजा शुम्भ मलाई चाहन्छन् भने युद्ध गर्नै पर्दछ, मलाई जित्नैपर्दछ ।’ यस्तो संवाद भएपछि देवीको शुम्भ–निशुम्भसँग युद्ध हुन्छ, देवीले युद्ध जित्दछिन् । धेरै पुरानो श्रीमद्देवीभागवत कथाले त्यसै भन्छ ।

सृष्टिप्रक्रिया चल्न स्त्री–पुरुषको मिलन आवश्यक छ । सृष्टिका हरेक प्राणीबीच समागम हुनेगर्छ, तर त्यो निश्चित छ, समागमका लागि याचक पुरुष (नर) नै बन्नुपर्ने विधान छैन । तर, मानिस (नर) को सवालमा सधैँ याचक पुरुष बन्दछ । यसबारे दर्शनशास्त्रीहरूको विभिन्न मत हुन सक्छन् । दर्शनशास्त्रीको मतबारे यो लेखमा चर्चा गरिनेछैन । तर, के उल्लेख नगरिरहन सकिन्न भने, हरेक प्राणीको समागमको निश्चित काल हुन्छ, निश्चित ऋतुकालमा नै हरेक प्राणीले समागम गर्छन् । मानिस मात्र यस्तो जीव हो, जसलाई समागमका लागि कुनै काल कुर्नुपर्दैन । स्त्रीको ऋतुकाल हुन्छ, महिनावारीचक्र चल्छ, तर पुरुष ? पुरुष समागमका लागि हरक्षण लालायित छ, कल्पिइरहेको छ । सपना, विपना, जपना, रटना स्त्री, स्त्री अनि स्त्री ।

रामानन्दीय सम्प्रदायका गुरु एवं रामचरित मानसका लेखक तुलसी दास, घरमा आउँदा पत्नी माइत गएको थाहा पाएर, पत्नी भेट्न ससुराली पुग्दा मध्यरातमा नारीदेह सम्झँदै कोठामा आइपुगेको पतिलाई पत्नी भन्छिन्, ‘नारीदेहप्रतिको तिम्रो आकर्षण र याचना यदि श्रीरामका चरणकमलमा भइदिएको भए तिम्रो डुंगा पार हुने थियो ।’ पत्नीको यही वाक्यांशबाट हुलसीका छोरा तुलसी रामभक्त तुलसी अर्थात् गोस्वामी तुलसी भएको इतिहास पाँच सय वर्ष पुगेको छैन ।

पतिपत्नीबीच हुने अधिकांश झगडा समागमकै विषयलाई लिएर हुने गर्दछ । भौतिकताले ग्रस्त समाजमा देखिएका सम्बन्धविच्छेदका घटनामा ९५ प्रतिशतभन्दा बढी समागममा सन्तुष्टि नभएको, परपुरुष वा परस्त्रीसँग सम्बन्ध बढेको कारण घरमा झैझगडा हुने गरेको, अर्को पुरुष वा अर्को स्त्रीसँग घरबाहिर मिलन भएकै कारण घरमा द्वेष बढेको हो भन्ने दुवै स्त्री–पुरुषको आशंका आदिबाट शारीरिक र मानसिक यातना हुँदै सम्बन्धविच्छेदसम्म आउनुपरेको घटना इतिवृत्तान्त बताउँदै आएका छन् ।

याचक पुरुषको मालिक स्त्रीसँग गुनासो छ, ‘समागममा बेवास्था गर्छिन् । मप्रति उनको कुनै प्रेम छैन र आकर्षण घटेको छ । सायद अर्को प्रेमी भएको कारण यस्तो भएको हुनुपर्छ ।’ मालिक स्त्रीको याचक पुरुषसँग गुनासो छ, ‘पुरुष मिलन सम्झँदै रात नपरे हुन्थ्योजस्तो लाग्छ । बाघले बाख्रालाई के त्यसरी झम्टन्थ्यो होला, मलाई त्यो पुरुषले त्यसरी झम्टन्छ । मेरो शारीरिक र मानसिक स्वास्थ्यको त्यो पुरुष भन्ने अवतारलाई रत्तिभर पनि चिन्ता छैन । जाँड खाएर तथानाम गाली गर्छ । त्यसको प्रेम मात्र मेरो शरीरको लागि हो । अरे शारीरिक सम्बन्ध त मनको विषय हो नि, होइन र ? मन नै खुसी छैन भने कसरी मिलन हुन्छ र ? मलाई त त्यो पुरुष भन्ने अवतारको मुख जाँड नै नखाए पनि सारै गन्हाउँछ । जाँड खाएको छ भने त के कुरा गर्नु र ? एउटै शयनकक्षमा सुत्दा पनि उसको जिउले छोयो भने एलर्जीजस्तो फोका उठ्छ । त्यो पुरुषले छोएको ठाउँमा पोलिरहन्छ । अनि, कसरी मिलन हुन्छ होला त हाम्रो ।’

स्त्रीको यौनिक सम्बन्धले पुरुषको आधा सम्पत्तिमा आधिपत्य जमाउँछ । सामाजिक संस्कारको रूपमा वा दर्ता विवाहको रूपमा गरिने विवाह सम्बन्धले पतिको अर्धांगिनी एवं पतिको सम्पत्तिको समान हकदार कायम गरिने कानुनी तथा सामाजिक व्यवस्था छ । जबर्जस्ती करणीको महलमा भएको दण्ड–जरिवानासम्बन्धी व्यवस्थाले विवाहको रूपमा नस्विकारे पनि कारणीबाट जरिवाना भराइदिने व्यवस्थाले यौनिक सम्बन्ध स्वेच्छिक वा गैरस्वेच्छिक जे भए पनि गम्भीर रूपमा लिइन्छ र स्त्रीलाई त्यसको क्षतिपूर्ति भराइन्छ । स्त्रीको स्वेच्छाविना राखिएको सम्बन्ध दण्डनीय मानिन्छ र दोषीलाई कैद तथा जरिवाना भराइन्छ । आधुनिक समयमा कानुनद्वारा व्यवस्थित गरिने प्रयास गरिएको यौनिक सम्बन्ध प्राचीन समयमा विभिन्न धार्मिक ग्रन्थको आधारमा व्यवस्थित गरिन्थ्यो ।

जन्मनिरोधका साधनहरूको आविष्कार नभएको अवस्थामा यौन याचनाको विषय हुनु स्वाभाविक पनि हो, किनकि, स्त्रीले अनिच्छित गर्भधारण गर्नुपर्ने, त्यो पनि थोरै हो र ? नौ÷नौ महिना, स्त्रीको शरीर गर्भधारणका कारण कमजोर बन्ने, स्त्रीको सौदर्यमा परिवर्तन आउने, प्रशवपीडा भोग्नुपर्ने आदि कारणले स्त्रीलाई यौनको मालिक र पुरुषलाई याचक मानिनु स्वाभाविक पनि हुन्थ्यो । स्त्रीले प्राप्त गर्ने प्रणय सुखभन्दा उनले भोग्नुपर्ने गर्भधारण र प्रशवपीडा कयौँ गुणा जटिल भएका कारण महिलालाई मालिक बनाएको यथार्थ स्विकार गर्नेहरू गर्भनिरोधका साधनहरूको पर्याप्त उपलब्धता हुँदासमेत दुवैथरि स्त्री र पुरुषलाई प्राप्त हुने प्रणय आनन्दमा स्त्रीलाई शोषित र पुरुषलाई शोषकको भूमिका दिइएकोमा न्यायसंगत छैन, यसलाई भिन्नै रूपमा व्याख्या गरिनुपर्छ भन्ने दृष्टिकोण राख्नेहरू पनि वर्तमान समयमा देखा परेका छन् ।

धर्म, समाज र कानुनले स्त्रीको शरीरमाथिको अधिकारलाई महत्व दिएकै कारण कुनै स्त्रीले कुनै पुरुषलाई आरोपित गर्दा पुरुषलाई समाजिक आँखाले निर्दोष देख्न सक्दैन, स्त्री आफ्नो सतीत्वको विषयलाई लिएर झुटो बोल्दिनन् भन्ने सामाजिक मान्यताका कारण नै स्त्रीले आरोप गरिएको व्यक्ति प्रथम दृष्टिमै दोषी देखिने हाम्रो समाज हो । आजसम्म कुनै स्त्रीले कुनै पुरुषलाई आरोपित नगरेकै कारण एउटा पुरुष समाजमा सन्मानित पुरुष भएर बाँच्न सकेको हो । द्वापर युगमा घटेको महाभारतमा द्रौपदीले आफ्नो अपमानको बदला लिन वर्षौं कुर्नुपरेको थियो । अन्तमा विजय द्रौपदीको भएको थियो । महाभारत युद्धको मुख्य पात्र नै द्रौपदी थिइन्, तर आज कुनै स्त्री वदला लिनुप¥यो भने वर्षौं कुर्न पर्दैन, उनले तत्काल न्याय प्राप्त गर्न सक्छिन्, विजय प्राप्त गर्न सक्छिन् ।

कुनै स्त्री कुनै पुरुषका पछाडि लोकलाज छाडेर उभिइन् भने त त्यो पुरुषको अर्धपतन सुरु भयो । उसले निर्दोषिताको सफाइ लामो अदालती प्रक्रियापछि प्राप्त गर्ला, तर सामाजले त्यो पुरुषलाई निर्दोष नै थियो कि भनी हेर्न सक्ने अवस्था छैन । हामीले अभ्यास गरेको कानुनी तथा सामाजिक व्यवस्थाले स्त्रीद्वारा आरोपित कुनै पुरुष सम्मानित भइरहन सक्ने कल्पना गर्न सकिँदैन । तर, हामीले गर्व गर्न लायक यथार्थ के छ भने, अझै पनि स्त्रीले आफ्नो धर्मनिर्वाह गरेका छन् र निर्दोषलाई आरोपित गरिरहेका छैनन् ।

                                                                                                                                                             [email protected]

प्रतिक्रिया