काठमाडौं । ३ वर्ष अघि एसिड पीडित बनेका संगीता मगर र सीमा बस्नेतले नियमित औषधि उपचार र शिक्षाका लागि सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् । राम्रो पढाइलेखाइ गरेर भविष्यमा नाम र दाम कमाउने अभिलाषा बोकेका यी दुई युवती ३ वर्ष अघि एक युवकले प्रहार गरेको एसिडको सिकार हुँदा त्यसको चोट आज पनि सहन बाध्य छन् ।
समयक्रमसँगै पीडा भुल्दै जीवनलाई अगाडि बढाउन संघर्षरत यी दुई युवतीले आर्थिक अभावका कारण शिक्षा र स्वास्थ्य उपचारमा सहयोगी दाता खोज्न थालेका हुन् । परिवारको निम्नआर्थिक अवस्थाको कारण पढ्नलाई समेत अनेक समस्या झेल्दै आएका उनीहरुमा एसिड प्रहारपछि बिग्रिएको अनुहारको उपचार नियमित गर्नु पर्दा अर्को आर्थिक भार थपिएको छ ।
२०७१ साल फाल्गुन १० गते सीमा र संगीतामाथि एसिड आक्रमण भएको थियो । रौतहत चन्दनपुर नगरपालिका –८ कि सीमा र रामेछाप खनिया पानी– ५ घर भएकी संगीता दुबै ३ वर्ष पहिले एसिड आक्रमणको घटनामा परेका हुन् । सीमा हाल रत्नराज्य लक्ष्मी क्याम्पसको स्नातक तह प्रथम वर्षमा अध्ययनरत छिन् । एसिड आक्रमणबाट गम्भीर घाइते भएकी संगीताको भने उपचारका लागि लामो समय अस्पताल बस्नु पर्दा सीमा भन्दा पढाइमा पछि परेकी छन् । उनी हाल नोबेल एकेडेमी कलेजमा कक्षा १२ मा म्यानेजमेन्ट विषय पूर्ण छात्रावृतिका साथ अध्ययन गरिरहेकी छन् ।
सीमाले एसिडका कारण बिग्रिएको अनुहारको छालालाई हरेक महिना उपचारका लागि एक हजार रुपैयाँ खर्च गर्नु पर्ने हुन्छ । प्रत्येक महिना दुई पटक अनुहारको छालाकै लागि उनले ३ सय रुपैयाँ गोटाको सुई पनि लगाउनु पर्छ । मागेर जीवन चलाउन हुन्न भन्ने सोच भएकी सीमा भन्छिन्, ‘औषधि उपचार र पढाइलाई निरन्तरता दिन मलाई सहयोगको खाँचो छ ।’
सीमाको तुलनामा संगीताको अनुहार पुरै बिग्रिएको छ । उनको अनुहारको उपचारका लागि अप्रेसन गर्नु पर्ने हुन्छ । अनुहारको अप्रेसन निकै खर्चिलो हुने उनले बताइन् । चिकित्सकको सल्लाहअनुसार गर्नु पर्ने उपचारका लागि एक पटकमै उनले २५ देखि ३० हजार रुपैयाँ खर्च जुटाउनु पर्ने हुन्छ । यदि सीमाले अनुहारको प्लाष्टिक सर्जरी गर्ने हो भने उनलाई एकै पटकमा ५ देखि ६ लाख रुपैयाँ चाहिने छ । तर आर्थिक अभावकै कारण उनले अहिलेसम्म प्लाष्टिक सर्जरी गरेकी छैनन् ।
कलेजले उनलाई अध्ययनका लागि छात्रवृत्ति दिएपनि कापी, किताब किन्ने देखि अन्य दैनिक खर्च जुटाउने जिम्मेवारी उनका बुबाआमाको काँधमा छ । अहिलेसम्म परिवारको आयस्रोतमा जीवन बिताइ रहेका उनीहरु आत्मनिर्भर बन्न चाहन्छन् । आफुहरु जस्ता एसिड आक्रमण तथा अन्य हिंसामा परेका महिला तथा बालबालिकालाई सरकारले उचित हेरचाहको व्यवस्था गरिदिए समस्या झेल्नु नपर्ने उनीहरुको भनाइ छ ।
आक्रमणको घटनापछि सरकारले रु एक लाख राहत सहयोग उपलब्ध गराएपनि त्यसयता केही पनि नपाएको उनीहरुले बताए । संघर्षरत यी दुई युवतीले आफुहरुले जस्तो अरुले यस्तो पीडा भोग्न नपरोस् भन्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका छन् ।
प्रतिक्रिया