दरबन्दी अभावले सामुदायिक विद्यालयलाई समस्या

जाजरकोट, ७ पुस । विद्यार्थी सङ्ख्याका आधारमा शिक्षकको दरबन्दी नहुँदा यहाँका दर्जनौँ विद्यालय निजी स्रोतबाट शिक्षक राख्न बाध्य छन् ।

त्यसरी निजी स्रोतमा राखिएका शिक्षकले समयमै तलब नपाएको गुनासो गरेका छन् ।

नयाँ दरबन्दी आउनै छाडेका कारण विद्यालयमा शिक्षक उपलब्ध गराउन नसकेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए ।

जिल्लाभर झण्डै आठ सय दरबन्दी अपुग रहेको उनले बताए ।

दरबन्दी अभाव भएका ठाउँमा विद्यालयले आफ्नो आन्तरिक स्रोतबाटै शिक्षक नियुक्त गर्ने गरेका छन् तर समयमै तलब खुवाउन भने समस्या छ ।

छेडागाड नगरपालिका-११ झाप्रास्थित जनता आधारभूत विद्यालयका शिक्षक चन्द्रबहादुर थापाले १५ महिनादेखि तलबभत्ता पाएका छैनन् ।

उनी पनि विद्यालयले आन्तरिक स्रोतबाट तलब व्यहोर्ने गरी नियुक्त भएका हुन् । अर्का निजी स्रोतका शिक्षक भीमराज कार्कीले पनि १५ महिनादेखिको तलब नपाएको गुनासो गरे ।

निजी स्रोतबाट राखिएका यी शिक्षकले पढाउन थालेको ५ देखि १० वर्ष भइसकेको छ । यस विद्यालयमा ६ जना शिक्षक विद्यालयको आन्तरिक स्रोतबाट राखिएको छ ।

तीनजनाले मासिक रु ११ हजार र तीनजनाले मासिक रु १० हजार तलबभत्ता पाउने गरी नियुक्त गरिएको छ । नियमित आम्दानी नहुँदा शिक्षकलाई तलब खुवाउन समस्या परेको विद्यालयले जनाएको छ ।

“सरकारबाट तलब खाने शिक्षकलाई चार महिनामा चौमासिक तलब आउँछ भने हामीलाई आठ महिनाको, कहिलेकाहीँ चौमासिक तलब पनि आउने गरेको छ,” त्रिवेणी नलगाड नगरपालिका-८ को पञ्चभयार माध्यमिक विद्यालयमा गणितका शिक्षक रवीन्द्र खत्रीले भने ।

यस विद्यालयमा निजी स्रोतबाटै नियुक्त भएकी शिक्षिका मीना बिसीले पनि सात महिनाको तलब नपाएको गुनासो गरे । सामुदायिक विद्यालय भएकाले शुल्क लिन पनि पाइँदैन ।

“आम्दानीको कुनै माध्यम नहुँदा खर्च टार्न तथा शिक्षकलाई तलब खुवाउन समस्या छ,” पञ्चभयार माविका प्रधानाध्यापक हुमप्रकाश सिंहले भने ।

सरकारले दरबन्दी नदिए पनि पिसिएफ रकम दिँदा विद्यालयलाई केही राहत भएको थियो तर गत वर्षदेखि सरकारले पिसिएफ रकम दिन पनि बन्द गर्यो । त्यसपछि शिक्षकलाई तलब खुवाउन समस्या परेको प्रअ हुमप्रकाश बताए ।

प्रतिक्रिया