-गंगासागर पन्त नेपाली कम्युुनिस्ट आन्दोलनका दुई हस्तीहरू हुन् वैद्य अनि बाबुराम । वैद्य पारम्पारिक कम्युुनिस्टका गुरुवर्गमा पर्छन् भने बाबुराम मोडर्न कम्युुनिस्टका गुरु । यी दुवै गुरुहरूको वर्तमान अवस्था यस्तो छ जस्तो समुद्रको बीचमा टाइटानिक ब्रेकडाउन भएपछि कहालीलाग्दो कालो महासागरमा एक्लै एक्लै जीवन र मृत्युसँग लडिरहेका यात्रीहरू ।
बचाऊ–बचाऊ भन्दै छटपटाइरहेका । यिनीहरूको यो अवस्था हुनुमा आ–आफ्नै कारणहरू छन् । वैद्य सुपर स्टेटिक र बाबुराम सुपर डाइननामिक भएर बिग्रिएको स्पष्ट देखिन्छ । उनीहरू आफैँमा बिग्रिएका मान्छे पटक्कै होइनन् । व्यक्तिगत रूपमा दुवैजना इमानदार छन्, स्वच्छ छन् । तर, समयसँग इमानदार हुन नसकेका हुन् ।
जनताको सेन्टिमेन्टसँग इमानदार हुन नसकेका हुन् । वैद्य यति स्टेटीक (स्थीर) भइदिए कि समय धेरै अगाडि पुग्यो उनलाई उछिनेर । कम्युनिस्टकै भाषामा वैद्य भनेको जडसुत्रबादको पर्याय भइदिए । बाबुरामको बहाव चाहीँ यति दु्रत भइदियो कि जनताले त के कुरा उनि आफैँले आफूलाई राम्रोसँग भेट्टाउन नसकेको कुरा मैले नजिक बाट नियाल्न पाएको छुु ।
डाइनामिक (चल शक्ती) त अलि सकारात्मक शब्द हो । गाउँले भाषमा आजकाल बाबुरामलाइ ‘लगपगे’ भन्दारहेछन् । अस्थीर शक्ती ? उनिहरूलाइ बुझाउन हम्मे प¥यो मलाइ । म भन्छु–लगपगे हैन, चलशक्ती हो बाबुराम । बुढीगण्डकीको बहावमा भन्दा बढी शक्ती छ बाबुराममा । गाउँलेहरू भन्छन्– हैन, बाबुराम लगपगे नै हो । कैले कता–कैले कता, उनको आफ्नो स्पस्ट बाटो नै छैन बुढीगण्डकीको जस्तो । हो स्पष्ट नहुँदासम्म गाउँलेले दिएको ‘लगपगे’ टाइटल ठीक छ मैले दिएको ‘डाइनामिक’ टाइटल भन्दा । मैले मात्र वा मुट्ठीभर कार्यकर्ताले मात्र बुझेर राजनेता बन्न भोट पुग्दैन, शक्ति पुग्दैन ।
इमानदारी मात्रै सबैथोक नहुने रहेछ राजनीतमा । त्यो इमानदारी पनि पारदर्शी र स्पष्ट बुझिने खालको हुनुपर्ने रहेछ । याङ्लीकन क्रिष्चियनमा धर्मगुरु (पोप) भन्दा बाइबल माथि हुन्छ । बाइबलको कुनैपनि शब्द, अर्थ, धर्मगुरुले तोडमोड गर्न पाउँदैनन् । तर क्याथोलिक बर्गमा पोपले बाइबलमा समसामयिक परिमार्जन गर्न सक्छन् । याङ्लीकनहरू घट्दै जानु र क्याथोलिकहरू बढ्दै जानुमा यो महत्वपूर्ण कारण हो । वैद्य याङ्लीकन पाराका कम्युनिस्ट भइरहे ।
तात्कालिन कम्युनिस्टका किताबमा जे–जे लेखिएको छ, त्यो नै आज पनि अकाट्य मान्दामान्दै समय र शक्तीले उनको साथ छोडेर गइसक्यो । पुजीबादी समाजबादले संसारका अति बिकसित, सुन्दर र शान्त मुलुकहरू निर्माण भएको प्रशस्तै उदाहरणहरू सामुन्ने देख्दादेख्दै पनि सत्यलाई स्वीकार्न नसक्नु वैद्यको कमजोरी हो । राज्यको पूजी बिकास नगरी कसरी आउँछ वास्तविक समाजवाद ? पुँजी विकास नगरी के पु¥याउनुहुन्छ गरिबको घर आँगनमा ? क्यानडा, अस्ट्रेलियालगायत उत्तरी यूरोपका प्रायः सबै मुलुको नागरिक अधिकार र सामाजिक सुरक्षाको कुरा बयान गरिरहन पर्दैन आजको दिनमा ।
काम गर्न सक्ने जाँगर र बुद्घीलाइ लगानी, प्रोत्साहन र संरक्षण दिन्छ सरकारले र उनिहरूले नै कमाएको पुँजी घुमाउँदै अशक्त, गरिब, बेरोजगार आदिको घर–घरमा सेवा पु¥याउँछ सरकार । जब पछिल्लो राजनीतिक परिवर्तनपछि बाबुराम भट्टराइबाट राष्ट्रिय पुँजी विकासका कामकुरामा पहलकदमी भएको पाइन्छ । तर वैद्य साम्यवादी शास्त्रमा नै हराइरहे, जुनकुरा व्यावहारमा असम्भव छ । साम्यबाद र समाजबादका कुरा गर्दा बाबुराम भट्टराई आजम्म पनि स्पष्ट नभएको कुरा यसपटक थाहा भयो ।
केही महिना अघि अब कम्युनिस्टको आवश्यकता छैन देशमा, राजतन्त्र फाल्नको लागि मात्र म कम्युनिस्टमा लागेको थिएँ भनेरै उनले एमाओबादी छोडेर नयाशक्ती पार्टी स्थापना गरेका थिए । तर अचानक फेरि वाम गठबन्धनमा नारिन पुग्दा जनता तीन छक परेकै हुन् । फेरि दुई दिनमै सो गठबन्धन छोडर कांग्रेससँग मिलेमतोमा लाग्दा जनताको सामुहिक बुझाइ विग्रह भयो र बाबुराम प्रति व्यक्तिगत बुझाइ बढ्न गयो । यी पछिल्ला अस्थिर गतिविधि मात्र हैन । बाबुराम भट्टराइ प्रतिको जनअपेक्षा र विश्वास न्यून हुदै जानुमा धेरै नै खुद्रा कारणहरू छन् ।
बाबुराम भट्टराई जनविश्वासको उचाइमा रहेको वेला थियो उनी प्रधानमन्त्री हुँदासम्म । काठमाडौंका सडक सुधारलगायत राम्रा कामको थालनी हुदै थियो उनको पहलमा । त्यति नै वेला नेपालको त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलमा सुरक्षाको कारण देखाउँदै भारतीय कम्पनीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको जिम्मा दिए राम्रो हुने प्रस्ताव आयो कतैबाट र बाबुरामले त्यसलाई सकारात्मक प्रस्ताव माने । राष्ट्रवादी नेपालीहरूको मनमा बाबुरामप्रति चिसो पस्यो । उनले चोट पु¥याए देशभक्तीमा ।
अर्को ढुंगेल प्रकरण नै हो जसले बाबुराम प्रतिको जनविश्वास स्वात्तै घटायो । सर्वोच्च अदालतको निर्णय नमान्ने हो भने कसरी कानुनी राज्यको राजनेता बन्ने हैसियत राख्छन् बाबुराम ? देशको प्रधानमन्त्रीले एक जनाको हितको लागि राज्यव्यवस्थासँग खेलबाड गर्ने ? यही हो जनधारणा । सम्बिधान निर्माणको नेतृत्व, तर त्यसको बिश्वसनियता प्रतिको उत्तरदायित्व अर्को समस्या रह्यो बाबुराम भट्टराईको । आफैँ सम्बैधानिक समितिको सभापति बनेर सम्बिधान जारी गरेलगतै आधी गिलास खाली छ भन्दै मधेश उचाल्न दौडिए । सर्बसाधारलाई पनि पाच्य थिएन उनको त्यो कदम । त्यो पनि नाकाबन्दी जस्तो राष्ट्रिय संकटको वेलामा ।
हालैको प्रतिनिधिसभाको चुनावको क्रममा पनि बाबुरामले तराइमा बोलेका मैले सुनेकै हो कि अहिलेको सम्बिधान आधा भरी, आधा खाली गिलास जस्तो छ । यो भरी बनाउने चाहिँ कसरी हो ? भारतीयहरूलाई नागकिता दिएर ? वा धेरै जनसँख्या भएको ठाउँमा धेरै अधिकार दिएर ? भारतले निरन्तर हस्तक्षप गर्न सक्ने प्वालहरू बेलैमा नटालेमा विस्तारै नेपाल सक्किँदै जान्छ भन्ने हेक्का छ बाबुरामजीलाई ? यिनै हुन जनधारणा । फेरि पनि एक मौका दिनुपर्छ भनेर गोरखालीले बाबुराम जिताए । यो जीतप्रतिको जनधारणा साझा छ गोरखालीहरूमा–बाबुराम व्यक्तिगत रूपमा इमान्दार, सक्षम र विकासप्रेमी मान्छे हो ।
गोरखालीको इज्जत पनि हो । एक पटक अझै हेरौँ । हो, बाबुराम सुपर डाइनामिक भएकोले राष्ट्रबाट जिल्लामा खुम्चिएको अवस्था हो । चुनावपछि गोरखालीहरूको काठमाडौं नयाँबजारमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पनि बाबुराम भट्टराईमा विजयको त्यस्तो चमक देखिँदैनथियो । उनी कता कता हराईरहेका देखिन्थे । मलाइ जस्तै उनलाइ पनि कता कता महशुस भईरहेजस्तो लाग्थ्यो– राष्ट्रनायक बन्न सक्ने जनताको सुरुआती आँकलन, उनकै सपना अनि क्षमतालाई उनकै शैद्घान्तीक अस्थीरता र अस्पष्टताले गोरखाको पनि क्षेत्र न. २ मा मात्रै सिमित गरिदिने त होइन ?
त्यत्तिलाई पनि भक्तपुरका बिजुक्छेले झैँ मिहेनेत केन्द्रित गर्नुपर्ने त हैन ?
कुनै पनि शास्त्रले समयको मागलाई, जनचाहनालाई सम्बोधन गरेन भने त्यो आधिकारिक वा अथेन्टिक शास्त्र हुँदैन । माओत्सेतुङकै विशाल देश चीन स्वयंले कसरी कम्युनिज्मलाई समय सापेक्ष बनाउँदै सोसलिज्म (समाजबाद) स्थापित गर्दै छ भनेर वैद्य गुरुले कहिल्यै ख्याल नगरेकाले वैद्यको माथि उठ्ने सम्भावना समाप्त भएको छ ।
समाजवादी सिद्घान्तलाई मार्गदर्शन लिएर दशकौँदेखि हिँडेको नेपाली कांग्रेस खराब नेतृत्वका कारण अहिले खुम्चिन पुगे पनि बाबुराम वा अरू कसैको समाजवादले कांग्रेसलाई विस्थापन गर्न सक्ने सम्भावना पनि छैन । अबको सम्भावना भनेको साम्यवाद भन्दै यहाँसम्म आइपुगेका ठुला कम्युनिस्ट पार्टीहरूले साझा निर्देशक सिद्घान्तहरू तयार पारेर पार्टी एकिकरण गर्ने, राष्ट्रिय पुँजी बिकासकालागि ठोस कार्यथालनी गर्दै समाजवादी नीतिअनुरूप जनचाहनालाई सम्बोधन गर्ने हो ।
प्रतिक्रिया