युवा खबरदारीको पहरेदार र विकासको साझेदार

-सुनीता बराल  समयले कोल्टे फेरेको छ, केही समयअगाडिसम्म कुराले मात्रै पत्याउँने मानिस विश्लेषक÷समालोचक बनेका छन् । आज सामाजिक, राजनीतिक र आर्थिक जुनसुकै क्षेत्र किन नहोस्, नागरिकको उपस्थिति र निर्णय सुझबुझपूर्ण देखिन्छ । संविधान कार्यान्वयनको क्रममा भएका स्थानीय तह, प्र्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि त्यो विवेकपूर्ण निर्णयले प्रस्टता पाएको छ ।

जनता राजनीतिप्रति सचेत मात्रै होइन, सुसूचित पनि छन् र उनीहरूलाई थाहा छ कि, जग बलियो बनाइयो भने मात्रै घरको पर्खाल लगाउने वेलामा धेरै समस्या रहँदैन । यो कुरा जनताले आफ्नो मतबाट प्रस्ट दर्शाएर दिएका छन् । यो नैतिक दबाब वाम गठबन्धमा रहनुभएका नेतृत्वका लागि महत्वपूर्ण पक्ष हो ।

एमाले नेतृत्वबाट भएका पहलकदमी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वाभिमानी, दृढ र निडर व्यक्तित्वबाट राष्ट्रियतामा पारेको सकारात्मक प्रभाव आज नेकपा एमालेको पुँजी साथै विश्वासको आधार भएको छ । नेपालको भौगोलिक अवस्था र जनताको वर्तमान आवश्यकताप्रति साँच्चै नजिकबाट जान्ने र विकासको निकास निकाल्ने क्षमता प्रगतिशील तथा लोकतान्त्रिक वामगठबन्धमा जनताले देखेका छन् जसलाई आगामी दिनमा यो नेतृत्वले पुष्टि गर्नै पर्दछ ।

विभिन्न शीर्षक नै छुट्याएर विकासका अवधारणा पस्किएको घोषणापत्रमा कमजोरी औँल्याउन निकै मिहिनेत गर्नुपर्दथ्यो । अब अहिले आमसरोकारको विषय भने नेपाली राजनीतिमा संस्कारको रूपमा नै विकसित र बुझाइ रहेको बोली र व्यवहारप्रतिको फरकपना हो । तर, वाम गठबन्धनले प्रतिबद्धता र इमानदारीमा शंका गर्ने र कमजोरी देखाउने काम गर्नु हुँदैन । अहिले प्राप्त जनमतको प्रमुख पक्ष अब नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मिलेर देशको विकास गर्नुपर्छ भन्ने हो यसमा विभिन्न काल्पनिक कुरामा अर्घेल्याइँ गर्नुको केही अर्थ हुँदैन ।

साथै, अनावश्यक रूपमा स्थापना गरिएका पार्टीहरूलाई पनि राम्रो सन्देश जनताले दिएका छन् र विभिन्न जात, धर्म, रंगको आधारमा विभाजन साथै कम्युनिस्टका नाममा भएका विभाजनलाई एक बन्नका लागि पनि जनादेश प्राप्त भएको छ । झन्डै १५ वर्षसम्म जनप्रतिनिधिविहीन रहेका स्थानीय तहमा निर्वाचित प्रतिनिधि सँगै संघीयता र राज्य पुनःसंरचनाको नयाँ पक्ष प्रदेश र प्रतिनीधिसभाको निर्वाचन सम्पन्न भएको छ । नयाँ संविधानबमोजिम विभिन्न जात, धर्म, लिंग, भूगोलको समावेशी सहभागिता सहितका स्थानीय निकाय र तहहरू समेत निर्माण भएका छन् ।

अब देशलाई सामाजिक आर्थिक रूपान्तरणका माध्यमबाट सामाजिक न्यायमा अधारित, लोकतान्त्रिक, बहुलवादी, खुला, प्रतिस्पर्धात्मक, आर्थिक रूपले समृद्ध र उच्चस्तरको संस्कृतियुक्त बनाउने अभिभारा जनप्रतिनिधिको हो । जनतामा चेतनाको स्तर वृद्धिसँगै क्षणिक पद र पैसाको प्रलोभनभन्दा पनि दिगो शान्ति र विकाससँगै समृद्धिलाई जनस्तरबाट नै आत्मसात गरेको जनमत पाइयो । सही सदुपयोगको निगरानीमा जनता छन् भन्ने यथार्थ नेतृत्वले भुल्नु हुँदैन । हामीसँग पूर्व मेचीदेखि पश्चिम कालीसम्म फैलिएको हिमाल, पहाड र तराई तीन प्रकृतिको भूगोल छ ।

विश्वका उच्च १० मध्ये ८ वटा हिमशृंखलासहित वन, जंगल, जडीबुटी, खनिज र कृषि योग्य जमिनले भरिपूर्ण छौँ । समृद्धिको सपना साकार बनाउँन यिनै सम्भावना पर्याप्त छन् । नेपालको आर्थिक विकासका प्रमुख आधारहरू पर्यटन, जलस्रोत, कृषि, वन, खनिज, सहकारी, उद्योग र मानव संशाधन हुन्, जसको उपयुक्त प्रयोग यो देशको समृद्धिका लागि आवश्यक छ । हाम्रो उदेश्य प्राप्तिका आधारहरू पनि यिनै हुन् ।संविधानमा उल्लेखित मौलिक अधिकारको कार्यान्वयनमा तदारूपता साथै, युवालाई रोजगार, ज्येष्ठ नागरिकलाई सम्मान र विद्यार्थीहरूलाई आवश्यक ज्ञान दिने योजना र प्रतिबद्धता भएको नेतृत्व अबको नेपालको आवश्यकता हो, जुन धरातलको निर्माण निर्वाचनबाट भइसकेको छ ।

नेपाली विद्यार्थीहरूका लागि इतिहासमै अमिट छाप राख्ने गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा कर्जा व्यवस्था गर्ने निर्णयलाई कार्यान्वयनमा लान सके धेरै विद्यार्थीले राज्यको सहयोग पाएको महसुस गर्नेछन् । विकासका कार्यक्रमलाई योजनाबद्ध रूपमा कार्यान्वयनमा लिएर जानका लागि राष्ट्रिय स्वाभिमान भएको निडर नेतृत्वको आवश्यकता पर्दछ ।अहिले सम्पन्न भएको प्रदेश र संघको निर्वाचनको जनमतबाट नेकपा एमाले अध्यक्षप्रति यो विश्वास देखेको प्रस्टिन्छ, किनकि अब नेपालको प्रधानमन्त्री केपी ओली भन्ने आम बुझाइ रहेको छ र जनमत बाट यो कुरामा पुष्टि गर्ने विश्वास थपेको छ ।

विश्वव्यापीकरणले खुला गरेको रोजगारीको विश्व बजारमा जहाँ सम्भावना र सुरक्षित भविष्य देख्छन्, युवा पिँढी त्यतै पलायन हुनु स्वाभाविकै हो, अहिले दैनिका १५ सय जनाको हाराहारीमा नेपाली युवा बिदेसिने गरेको तथ्यांक छ । तर, यसमध्ये धेरै नेपाली युवाहरूको साझा समस्या बेरोजगारी, बेरोजगारीसँगै बढेको दुव्र्यसनीको लहर, बिग्रदो स्वास्थ्य अवस्था, असुरक्षित खाद्य पदार्थ, समाजिक सञ्जाल वा यससँग सम्बन्धित साइबर अपराध नै रहेका छन् र यो सबै पक्षको सही समाधान भनेको राजनीतिक स्थिरता र सक्षम नेतृत्वबाट मात्रै सम्भव हुन्छ ।

देशलाई सामाजिक आर्थिक रूपान्तरणका माध्यमबाट सामाजिक न्यायमा आधारित, लोकतान्त्रिक, बहुलवादी, खुला, प्रतिस्पर्धात्मक, आर्थिक रूपले समृद्ध र उच्चस्तरको संस्कृतियुक्त राष्ट्रनिर्माण हाम्रो गन्तव्य हो । लामो समयदेखि तरलताबाट अगाडि बढेको नेपालको राजनीतिक अवस्थालाई गतिदिनका लागि विकासमा विश्वासको जग थप्नुको विकल्प छैन, जुन योजनामा बालकले आफ्नो उज्ज्वल भविष्य, युवाले समृद्ध जीवन र वृद्धले बाँकी जीवनको सहजता भेट्न सक्नुपर्दछ ।

अबको पाँच वर्ष साच्चै देशसँगै जनताको भविष्य जोडिएको छ, राजनीतिक पार्टीहरूप्रतिको विश्वनीयता गाँसिएको छ र दुनियाँलाई साँचो अर्थमा उदाहरणीय कम्युनिस्ट विचारको कुशल नेतृत्व प्रस्तुत गरेर देखाउँने सुनौलो अवसर प्राप्त भएको छ जसको सार्थकताका लागि हरेक नागरिक सचेत र प्रत्येक नेता जिम्मेवार हुनुपर्दछ । अब हुने विकास र समृद्धिसँग जोडिएका सबै विषयले प्रत्यक्ष रूपमा युवा पंक्ति सँग जोडिएको छ र यसबाट पर्ने सकारात्मक र नकारात्मक प्रभावको भागेदार पनि युवा नै हुनुपर्ने निश्चित छ । आज निर्वाचनबाट प्राप्त यो अवसरलाई आफ्नो रचनात्मक सुझाव र खबरदारीको साथमा युवाले साथ दिनु जरुरी छ ।

अहिलेको निर्वाचित पंक्तिले गरेको सानो कमजोरी हाम्रो भविष्यको अन्धकारमय बाटो हो भन्ने कुरा बुझेर जसको जुन जिम्मेवारी हो त्यसलाई त्यही ठाउँमा उत्कृष्ट बनाउन सहयोग गर्नुपर्दछ । अहिलेको राजनीतिक ट्रेन्ड हेर्दा यो पुराना पार्टीलाई पुनः एकपटक भन्ने सोच भएको र विकल्प साथमा राखेर अगाडी बढेको युवा पंक्ति धेरै देखियो । त्यसका लागि विकास, राजनीतिक स्थिरता र दीर्घकालीन विकासको चाहनालाई निराश हुन दिनु हुँदैन । नेपालमा नै बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास गुम्न लागेको अवस्थामा परिवर्तन गनुपर्नेछ ।

केही दशकअगाडिसम्म अभिभावकले आशीर्वाद दिँदा मन्त्री र नेता बन्ने आर्शीवाद दिएको पाइन्थ्यो भने अहिले भरसक आफ्ना सन्तानलाई राजनीतिभन्दा टाढा नै भएको हेर्न चाहने अभिभावक धेरै भएका छन् जुन संकटमा परेको विश्वासलाई फर्काउनुपर्नेछ । राजनीतिकर्मीहरूको खस्किँदो मान र प्रतिष्ठालाई उचाइमा पु¥याउन सबै नेपालीले सचेत नागरिकको भूमिकामा, हरेक युवाले विकासको साझेदारको रूपमा र नेतृत्वकर्ताले जिम्मेवार अभिभावकको भूमिकालाई इमानदारीका साथ पालना गर्नुपर्दछ जसबाट आउने प्रतिफल उदाहरणीय बन्ने कुरामा कुनै द्विविधा छैन ।
सम्भावनाहरू असीमित छन्, आमनागरिकमा चाहनाहरू असीमित छन् । आाधरभूत आवश्यकताहरूको परिपूर्तिसँग समेत राजनीतिलाई जोडिएको छ, जुन स्वाभाविक नै हो । सपनाहरू मूर्छित छन् । सपनाहरू जगाउनु छ । चाहनाहरू पूरा गराउनु छ । सम्भावनालाई उपलब्धिमा रूपान्तरण गर्नु छ । त्यसैले, अबको युवापुस्ताका केही मूलभूत दायित्वहरू थपिएका छन् । जसरी हिजोको युवापुस्ताले दासता र सामन्तवादका विरुद्धमा लड्यो, त्यसपछिको युवापुस्ताले अन्य आधारभूत अधिकारका लागि लड्यो अबको युवापुस्ताले आम नागरिकको मुहारमा खुसी ल्याउन लड्नुपर्ने दिन आएको छ ।

आमनागरिकको भरोसा बन्नुपर्ने दिन आएको छ । संसारभर विश्व भूमण्डलीकरणको प्रभावले छिनको छिनमै नयाँ पुस्तामा संसारसँग प्रतिस्पर्धा गर्ने भोक जागेको छ । निजत्वको प्रभाव बढिरहेको छ । पुँजी बजारको दबदबाले गर्दा समय निकै बलवान र मूल्यवान् भइरहेको छ ।  यसरी उदाउँदो पुस्ताले बग्रेल्ती देखिएका चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न अघिल्लो पुस्ताको नेतृत्व र कार्यशैलीलाई सिर्जनात्मक रूपमा सघाउनु र सच्याउनु जरुरी छ । राजनीति, संसदीय वा राजकीय जिम्मेवारी र सम्पूर्ण क्रियाकलापमा खुला र स्वतन्त्र रूपमा छाडेको खण्डमा आलोचनाहरूको बगर बन्नेछ ।

तर, युवा पुस्ताले असरल्ल भएको आलोचनाको बगरलाई सिर्जनात्मक रूपमा संग्रह गरेर महल बनाउनेछन् अहिलेको सामाजिक राजनीतिक म्यान्डेट त्यही हो ।  राजनीतिक रूपमा हेर्ने हो भने मूल प्रवाहमा युवाहरूको अभाव भएकै हो । तर, नेतृत्वको रूपमा मात्रै नभएर बदलिएका भूमिकाहरूमा युवा सहभागिता हुनेछ, हुनुपर्छ । खबरदारीको पाटो निकै प्रभावकारी हो । लोकतन्त्रमा खबरदारी नेतृत्वभन्दा पनि संवेदनशील र प्रभावकारी पाटो हो । खबरदारी गर्ने जिम्मेवारी नयाँ पुस्तामा छ । विकासका अभियानहरूमा साझेदारी गर्ने जिम्मेवारी पनि युवाहरूमा छ । प्रभावकारी उपस्थितिसहित विकासमा साझेदारी हुन आवश्यक छ ।

उपाध्यक्ष, अनेरास्ववियु केन्द्रीय कमिटी

प्रतिक्रिया