अञ्जु कार्की दुई वर्षअघि विवाहपन्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनकपुर पुगेर रामजानकी मन्दिरको पूजा आराधाना गरिन् । विवाह पञ्चमीका दिन राष्ट्रप्रमुख सकेसम्म रामजानकी मन्दिरको दर्शन गर्न जाने परम्परा नै हो । तर, राष्ट्रपति भण्डारी फर्केपछि रामजानकी मन्दिरमा २१औँ शताब्दीको मानव सभ्यतालाई गिज्याउने खालको अत्यन्त अशोभनीय कार्य भयो ।
मन्दिरमा विधवा प्रवेश गरेको भन्दै चोह्याउने काम केही स्थानीयबाट भयो । यो कुकृत्यलाई मधेसवादी दलले साथ दिए । विधवा महिला प्रवेश गर्दा मन्दिर अपवित्र हुन्छ भन्दै राजनीतिक दलको ब्यानरमा मन्दिर चोख्याउने कार्य भएको उक्त समाचार संसारभर भाइरल बन्यो । यो समाचार पढ्ने सारा विश्वले हामी नेपालीलाई के ठान्यो होला ।
एकल महिला राष्ट्रपतिको पदसम्म पुगेकोमा हामी जति गौरव गछौँ, एकल महिलाप्रति समाजको दृष्टिकोण अझै बदलिन नसकेको अभिसाप पनि हामीले सँगसँगै लिएर बाँचिरहेका छौँ । खासगरी दक्षिण एसियामा एकल महिलालाई हेर्ने दृष्टिकोण अझै पनि संर्कीण छ ।
दक्षिण एसियाली मुलुकहरूमा एकल महिलाहरू उल्लेख्य रूपमा राष्ट्रप्रमुख र सरकार प्रमुख बनेका छन् । तर, एकल महिलाप्रति गरिने सामाजिक, धार्मिक तथा सांस्कृतिक व्यवहार दक्षिण एसियाकै मुलुकहरूमा सबैभन्दा धेरै क्रूर र अमानवीय छ । राष्ट्रप्रमुखमाथि एकल महिला भएकै कारण अमानवीय व्यवहार प्रदर्शन भएको परिप्रेक्ष्यमा आमएकल महिलाको जीवन कति कहालीलाग्दो होला ? सहजै कल्पना गर्न सकिन्छ ।
मुलुकको उच्च पदमा आसीन महिला त यसरी अपमान हुनुपरेको छ भने एकचोटि सौचौँ त नेपालका ग्रामीण बस्तीका महिला, एकल महिलालाई गरिने व्यवहार कस्तो होला ? २१औँ सताब्दीको संघारमा आइपुग्दा पनि हाम्रो पितृसत्तात्मक संस्कार र पुरुषवादी सोच जहाँको त्यहीँ छ ।यही सोचका कारण नेपाली समाजमा समग्र महिलाहरूको अवस्था दयनीय नै देखिन्छ । त्यसमा पनि एकल महिलाको अवस्था त झनै नाजुक छ । के शिक्षित, के अशिक्षित, के गरिब, के धनी, सबै परिवार तथा समाजमाा रुढीवादी तथा अन्धविश्वास जारी छ ।
अझ, एकल महिलाको हकमा त लाग्छ कि उनीहरू घर, परिवार, समाजका कलंक नै हुन् । एकल हुनु आफैँमा अभिशाप हो भन्ने दृष्टिकोणले हेरिन्छ । एकल हँदा धनी होस् या गरिब, गाउँ होस् या सहर उनीहरूप्रति सामाजिक, धार्मिक, सांस्कृतिका नाममा दिइने यातना, तनाब कति हुन्छ भनेर अन्दाज गर्न पनि असम्भव छ । कथित धर्म र सामाजिक परम्पराको नाममा यसरी एकल महिला प्रति गरेको व्यवहार अति नै कहाली लाग्दो उदाहरणहरू पाइन्छ । मृत्यु एउटा सामान्य प्रक्रिया हो, कालगतिले मृत्यु हुन पुगेको श्रीमान्को दोष श्रीमतीमाथि थोपर्दै लोग्ने टोकुईसम्मको आरोप खेप्न बाध्य बनाउछ यस समाजले ।
कतिपय घर परिवारले त एकल बुहारीलाई घरबाट निकालेको प्रशस्त उदाहरण देखिन्छ । यतिसम्म नीच व्यवहार गरिन्छ कि, उनीहरू ( एकल )प्रति कि कुनै शुभ कार्य, विवाह, व्रतबन्ध, पूजा आदिमा सरिक गराउन हिचकिचाइन्छ । अलक्षिनी भनेर हेपाह दृष्टिकोणले हेरिन्छ । पुराण, धर्म ग्रन्थ (विशेषगरी गरुढ पुराण)अनुसार त विधवा महिलाले दिएको पानीसम्म पिउन हँदैन, दान, धर्म गरेको केही फलिफाप हुँदैन, कतै जाने वेलामा उनीहरूलाई भेटे साइत पर्दैन भन्ने कुरासमेत संलग्न छन् । लोग्ने मेरपछि जो महिला सती जाँदैन, ऊ महापापिनी हो भन्ने कुरा गरुढ पुराणमा उल्लेख छ ।
यस्ता कुरा पुराणमा परिमार्जन गर्नुपर्ने आवश्यकतासमेत हाम्रो समाजले देखेको छैन । किनकि, समाज पितृसत्तात्मक छ । एकल महिलालाई रातो रङसम्म वञ्चित गरिएको छ । सिन्दूरपोते एउटा लोग्ने मानिसले (श्रीमान्) महिलालाई दिएको एउटा अमूल्य उपहार, उसको मृत्युपश्चात् सिन्दूरपोते पनि खोसेर लगिन्छ । के उपहार पनि फिर्ता हुन्छ ? जुन वेला मानव सभ्यता सुरु भएको थियो त्यतिवेला विभिन्न रङका कपाडा चुरा पोते, सिन्दूरको चलन थियो होला र ? तर, पुरुषका हकमा भने यस्ता प्रकारका सामाजिक परम्परा मूल्य मान्यता केही पनि लागू हुँदैन ।
पत्नीको मृत्युपछाडि सजिलै दोस्रो विवाहको अनुमति पाउँछन्, तर विधवा महिलालाई भने एक्लै बाच्न मजबुर गराउँछन्, समाजको नकारात्मक दृष्टिकोण, चरित्रलाई लिएर अनेक प्रकारका लान्छना लगाउन पनि पछि पर्दैनन् । कतिपय पुरुषले विचरा र दया देखाउने नाममा उनीहरूको गिद्धे नजरबाट बच्न पनि समस्या बनाउँछ । श्रीमान् गुमाउनुपर्दाको पीडा र पारीवारिक जिम्मेवारी एकातिर छँदै छ, यस्तो परिस्थितिमा पनि अन्ध सामाजिक परम्परा, रुढीवादी हुनु अज्ञान र पर्याप्त शिक्षाको कमी नै मूल कारक हुन सक्छ ।
अझै पनि हाम्रो समाजमा कतिपय मठमन्दिर पाटी देउघाटजस्ता स्थानमा श्रीमान्को अनुहार नै बिर्सिसकेका बालविधवाले आफूलाई पापी सम्झेर अर्को जन्ममा यस्तो भोग्न नपरोसर् भनी यो जन्म ध्यान र तपस्यामा व्यथित गरिएको उदाहरणहरू प्रशस्तै छन् । यस्ता समाजलाई विकृति बनाउने रुढीवादी धर्मग्रन्थ, प्रचलनहरू आजको युगमा परिमार्जन गर्न जरुरी देखिन्छ । ०६८ को जनगणनाअनुसार एकल महिलाको संख्या कुल जनसंख्याको आँकडा यति नै छ भनेर यकिन गरेर ठोकुवा गर्न असमर्थ देखिन्छ ।
पछिल्लो समय जनयुद्धपछि हजारौँ महिलाहरू एकल बाचिरहेका छन् । सताब्दीऔँदेखि यसरी एकल महिलाहरू रुढिवादी परम्पराको नाममा प्रताडित र शोषणको सिकार बन्दै आएका छन् । हुन त आजभोलि विभिन्न संघ संस्थाले जागरुक र उद्धार गर्दै आएका छन् । उनीहरूको हक–हितको पक्षमा विभिन्न आवाज उठाउँदै संघर्ष गरिरहेको देखिन्छ । यद्यपि, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले एकल महिलाको लागि सामाजिक सुरक्षा कोष सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयले ०७० नियमावली सञ्चालनमा ल्याएको हो । मन्त्रिपरिषद्को ०७० जेठ ९ गते बसेको बैठकले उक्त नियमावली स्वीकृत गरेको हो । विपन्न, एकल महिलाको हक–हितको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले नियमावली आएको हो । आर्थिक दृष्टिले विपन्न, विधवा, सम्बन्ध बिच्छद गरेकी महिला, ३५ वर्ष पुगेकी अविवाहिता, पाँच वर्षभन्दा बढी समयसम्म पनि बेपत्ता भएकी महिला, अंशबण्डा गरी पतिसँग अलग बसेकी महिलालाई नियमावलीले एकल महिलाको परिभाषा दिएको छ ।
गाउँ तथा दूरदराजका महिलाहरूमा राज्यले अवलम्बन गरेका यस्ता नियमहरू पु¥याउनु आवश्यक छ । सामासजक, आर्थिक दृष्टिले कमजोर र विपन्न एकल महिलाहरूलाई आवश्यक सीपमूलक तालिम, स्वरोजगार कार्य सञ्चालन, उद्धार, राहत तथा पुनःस्थापना, औषधोपचार, कानुनी सहायता लिनेबारे नियमावलीको नियम ४ अनुसार आवश्यकता भए लिन सकिन्छ । यस्ता प्रकारका शोषण, उपेक्षा वा क्रूर प्रथाबाट जकडिएका महिलालाई समयअनुसार विकसित तुल्याउनु जरुरी देखिन्छ ।
प्रतिक्रिया