ओली–प्रचण्डलाई खुल्लापत्र- कमरेडहरू लगनगाँठो त फुस्किँदैन नि ?

रामबहादुर जिसी राजनीतिमा स्थायी सत्रु र स्थायी मित्रु हुँदैनन्, जननेता मदन भण्डारीले भनेको यो शब्द धेरै हदसम्म व्यावहारिक र यथार्थपरक छ । नेपाली राजनीतिमा कुनै दिन नदीका दुई किनाराजस्तै देखिने र कुनै समय हलगोरुझैँ मिलेर मेलो फाल्ने काम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गदै आएका छन् ।

नेकपा माओवादी सशस्त्र युद्धमा गएपछि एमाले वरिष्ठ नेता रहेका ओलीले जहिल्यै माओवादीले गलत गरेको आरोप लगाए, माओवादीले पनि ओलीको बारेमा देशव्यापी प्रचार गरे, उनी भारत परस्त हुन् । आरोप प्रत्यारोप बढ्दै गयो । ओलीले उखान टुक्काबाट माओवादी र त्यसका अध्यक्ष प्रचण्डलाई खेदो खने, प्रचण्डले पनि मानसिक सन्तुलन बिग्रिएको समेत भन्न भ्याए ।

समय बित्दै गयो, एमाले वरिष्ठ नेताबाट ओली अध्यक्षमा निर्वाचित भए, संसदीय दलको नेतासमेत भएपछि ओली र प्रचण्डको भेटघाट बाक्लियो । ०७२ वैशाखमा भूकम्प गएपछि कांग्रेससहित तीन दलले संविधान बनाउनेलगायत १६ बुँदे सहमति गरेपछि ओली र प्रचण्डको सम्बन्ध थप गहिरियो । कुनै दिन मानसिक उपचारमा जान आग्रह गरेका ओलीलाई संविधान बनेपछि प्रचण्डले नै प्रधानमन्त्रीको रूपमा प्रस्तावित गरे र ओली नौ महिना प्रधानमन्त्री पनि भए ।

ओली प्रधानमन्त्री नहुँदै भारतले लगाएको नाकाबन्दी हटाउनका लागि ओलीले लिएको अडानले आमनेपालीमा एउटा उत्साह थपियो । राष्ट्रियताको सवालमा उनले लिएको अडान र विकासका लागि उनले ल्याएका योजनाले जनता जागरुक भए । उनले जनतालाई सपना देखाए । जुन सपना पूरा गर्नका लागि वामपन्थी सरकार आवश्यक छ । नौ महिना नपुग्दै दुई नेताबीच कुरा मिलेन, माओवादी केन्द्रले कांग्रेससँग मिलेर सरकारको नेतृत्व आफैँ गर्ने निर्णय ग¥यो ।

ओली र प्रचण्डको दोहोरी फेरी सुरु भयो । संसद् भवनमै दुई नेताले एकले अर्कोलाई खुबै आलोचना र विरोध गरे । धेरैलाई अब यी दुईको पुनर्मिलन हुँदैन भन्ने लागिरहेकै समयमा ०७४, १७ असोज साँझ यी दुईले नेपाली जनतालाई मात्रै होइन, विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमा तालमेल गर्ने र पार्टी एकीकरण गर्ने सहमतिमा हस्ताक्षर गरे ।  समयले फेरी एकपटक यी दुई नेतालाई राज्य सञ्चालनको अग्रभागमा ल्याइदिएको छ ।

जसरी निर्वाचनमा तालमेल गरेर सहभागी भएका थिए, त्यसैगरी जनताले वाम गठबन्धनलाई झन्डै दुईतिहाइको हाराहारीमा मत दिएर अबको शासन सत्ता सञ्चालनको जिम्मेवारी सुम्पिएका छन् । अझै पनि धेरै जनतामा पूर्ण विश्वास छैन कि यी दुई नेताले प्रतिवद्धता गरेअनुसार देशमा स्थिर सरकार निर्माण गर्छन् ? जनतालाई सुशासन दिन्छन् ? आत्मनिर्भर र स्वाभिमानका साथ जनतालाई बाँच्ने अवसर दिन्छन् ? आर्थिक रूपमा देशलाई सवल र समृद्ध बनाउँछन् ?

विगतमा उनीहरूबीच हुने गरेका आरोप प्रत्यारोप, उनीहरूलाई प्रभावित बनाउने विभिन्न क्रियाकलापहरूका कारण पनि जनतामा पूर्ण विश्वास नभएको हुन सक्छ । आदरणीय ओली र प्रचण्ड ज्यू   नेपाल अस्थिरताको जडतामा जगडिएका कारण आर्थिक विकास हुन सकिरहेको छैन । स्थिर सरकार नभएका कारण नेपाली जनताको उत्साहजनक सहभागिता र संघर्षबाट प्राप्त परिवर्तन संस्थागत हुन सकेन । व्यवस्था परिवर्तन भयो तर जनताको आर्थिक अवस्थामा खासै फरक आएन । जनताले राज्यबाट पाउने सेवा सुविधामा खासै फरकपन देखिएन ।

राणाशासन, पञ्चायत, राजतन्त्र फालेका जनताले गणतन्त्रमा पनि सुरक्षाको अनुभूति गर्न सकेनन्, निर्धक्क काम गरेर खाने वातावरण बनेन । सरकारी कार्यालयमा जाँदा त्यहाँका कर्मचारीले झुत्रे झाम्रे कपडामा आएको किसानलाई जनता ठानेनन्, जनताले पाउन पर्ने शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अधिकारबाट वञ्चित नै भए । निजीकरणका नाममा उद्योगधन्दा कौडीको भाउमा बेचिए, जसका कारण भएको रोजगारी पनि अन्त्य भयो, देशमा उद्योग कलकारखाना खुल्नुपर्नेमा वैदेशिक रोजगारीका लागि मेनपावर कम्पनीहरू फस्टाए ।

विकासका नाममा भागबन्डाको घिनलाग्दो भ्रष्टाचारले गणतन्त्रलाई भित्रभित्रै गन्हाउने बनायो, सामाजिक समावेशीका नाममा पैसा र पहुँचवालाहरूले मोजमस्ती गर्ने अवस्था सिर्जना गरिदियो । शिक्षाका नाममा व्यापार, स्वास्थ्यका नाममा व्यापार जनता आक्रान्त बने । महँगो शिक्षा र स्वास्थ्यका कारण जनताको आर्थिक अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको छ । जनताले गणतन्त्रमा राजा फालेको बाहेक अरू धेरै उपलब्धी नदेखेकैले गणतन्त्रप्रति खास उत्साह जागेन ।

जनताले ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखान भट्याउन थाले ।   यो देश वामपन्थी विचार राख्ने जनताको बहुमत भएको देश हो । तर, दक्षिणपन्थीहरूले वामपन्थीहरूमा विभाजनको रेखा कोरेर जहिल्यै शासन गरे । आकलझुकल वामपन्थीको सरकार आउने, ती सरकारले जनप्रिय काम गर्ने पनि गरेका छन् । जसलाई नेपाली जनताले राम्रो रूपमा ग्रहण पनि गरेका छन् । जब वामपन्थीहरूले सरकारको नेतृत्व गर्छन् ? दक्षिणपन्थीहरूले विभिन्न तिकडम गरेर सत्ता हत्याउने गरेका थुप्रै उदाहरणहरू छन् ।

नेपालको सन्दर्भमा दक्षिणपन्थीहरूले नेतृत्व गरेका सरकार पनि तोकिएको अवधीसम्म सञ्चालन हुन सकेका छैनन् । उनीहरूको आन्तरिक कारणले सत्ता सञ्चालन गर्ने अवस्थामा उनीहरू छैनन्, तर उनीहरूकै कारण वामपन्थीहरूको सरकार पनि सञ्चालन हुन सकिरहेका छैनन् ।   ऐतिहासिक संविधानसभाबाट पारित गरी ०७२, ३ असोजमा संविधान जारी भएपछि तपार्इंहरू दुई जना मिलेर सत्ता सञ्चालन गर्नुभयो ।

जनता चरम निराशामा भएको समयमा केपी ओली नेतृत्वको वामपन्थी सरकारले जनतामा आशा जगाइदियो । नेपालको आर्थिक विकास र सामाजिक रूपान्तरणको भोक जागेकै समयमा फेरी तपाईंहरूबीच बेमेल भयो । सत्ता स्वार्थका कारण भयो, अरूले प्रभावित बनाएर भयो वा जुनसुकै कारण भए पनि तपाईंहरूबीचको बेमेलले तपार्इंहरूलाई मात्रै होइन, आमदेशवासीलाई अन्योलतातर्फ डो¥यायो । सत्ताको नेतृत्व वामपन्थीको भए पनि त्यसलाई दक्षिणपन्थीले सञ्चालन गर्ने अवस्था सिर्जना भयो ।

वामपन्थी सोचविचार राख्ने र वामपन्थीलाई माया गर्ने जनता पुनः एकपटक निराश भए । जनतामा जागेको आशा हराउन थाल्यो ।   जनतामा निराशा छाएकै समयमा स्थानीय निर्वाचन आयो, यो निर्वाचनमा वामपन्थीहरूबीच चुनावी तालमेल होला कि ? भन्ने आशा गरेका जनता पुनः निराश बने, कमरेड प्रचण्डले स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र कमरेड केपी ओलीले राप्रपासँग चुनावी सहकार्य गर्नुभयो । अब फेरी एकपटक जनतामा वामपन्थी एकताको विषय ओझेल पर्दै गयो । प्रचण्ड कमरेडले कांग्रेससँग मिलेर एमालेलाई भित्ता पु¥याउने भन्न थाल्नुभयो ।

तैपनि स्थानीय निर्वाचनमा एमाले पहिलो शक्ति बनेपछि जनतामा थोरै आशा पलायो । जनताको निराशा र चिन्तालाई ख्याल गरेर तपार्इंहरूले २०७४, १७ असोजमा जुन घोषणा गर्नुभयो, आमजनतामा त्यसले उत्साह पैदा गरिदियो । वामपन्थी विचार राख्नेलाई मात्रै होइन, यो देशमा स्थिरता, दिगो विकास र समृद्धि चाहने हरेक नेपालीलाई तपार्इंहरूको निर्णयले उत्साहित बनायो । निर्वाचनमा गठबन्धन गरेर सहभागी हुने र लगत्तै पार्टी एकीकरण गर्ने तपार्इंहरूको निर्णयलाई नेपाली जनताले अत्यधिक रुचाए । जनताले आफ्नो अभिमतमार्फत तपाईंहरूको निर्णयलाई अनुमोदन गरेका छन् ।

विगतमा वामपन्थीहरूले नेतृत्व गरेका सरकारहरूले गरेका जनपक्षीय कामहरूका कारण वामपन्थीलाई मत दिन तयार जनताले यसपटक थप अपेक्षाका साथ वामगठबन्धनलाई अत्यधिक मत दिएका छन् ।  अब देशमा स्थिर शासन सञ्चालन हुन्छ, यो देशका सडकहरू अब चाक्ला र चिल्ला हुन्छन्, यो देशमा पूर्व–पश्चिम र उत्तर–दक्षिण रेल चल्छ, भ्रष्टाचारीहरू अब किनारा लाग्छन्,, जनताका छोराछोरी रोजगारीका लागि अब विदेश जाँदैनन्, शिक्षा र स्वास्थ्य क्षेत्रमा अब जनताको ढाड सेकिँदैन, यो देशमा खेर गइरहेका स्रोतहरू अबदेखि पहिचान, उत्पादन, प्रशोधन र बजारीकरणमार्फत नगदमा रूपान्तरण हुन्छन् ।

कच्चा पदार्थ र कच्चा जनशक्ति विदेश पठाएर प्रशोधित सामान र काम गर्न नसक्ने जनशक्ति स्वदेश भित्र्याउने अवस्थाको अब अन्त्य हुन्छ, जनताको यही अपेक्षा छ र आफ्नो अपेक्षा पूरा गर्नका लागि वाम गठबन्धनलाई मत दिएका छन् ।   तपार्इंहरूले भन्ने गरेको नेपालको मौलिक लोकतान्त्रिक क्रान्तिले अब सफलता पाउँछ, ५० वर्षदेखि विभाजनको कोपभाजनमा परेको वामपन्थी आन्दोलनलाई एकीकृत गर्न तपाईंहरू सफल हुनुहुन्छ, शान्ति, समृद्धि र स्वतन्त्रता प्राप्त हुन्छ, स्थिर वामपन्थी सरकार बनेर राष्ट्रिय समृद्धिको आधार तयार गर्छ ।

आत्मनिर्भर अर्थतन्त्रको विकास, समाजवाद उन्मुख राष्ट्रिय औद्योगिक आर्थिक क्रान्तिको मुल आर्थिक कार्यदिशा र मार्गचित्र बन्छ, आर्थिक विकासमा राज्यको नेतृत्वदायी भूमिका हुन्छ, राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, सिमानाको रक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, पूर्वाधारका परियोजना, स्वास्थ्य, खानेपानी, सामाजिक सुरक्षा र वातावरण लगायतको क्षेत्रमा राज्यले नेतृत्व गर्छ, निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण अंग र सहकारीलाई अर्थनीतिको महत्वपूर्ण आधार स्तम्भ बनाउने तपाईंहरूको प्रतिवद्धता कार्यान्वयन हुन्छ भन्ने ठानेरै नेपाली जनताले तपार्इंहरूलाई मत दिएका छन् ।

अबदेखि नौ÷नौ महिनामा सरकार परिवर्तन हुँदैन, एउटै सरकारले पाँच वर्ष निर्धक्क काम गर्छ, योजना बनाउँछ, स्रोत जुटाउँछ, सहभागिता बढाउँछ, दीर्घकालीन रूपमा विकास अगाडि बढ्छ । जनताले यस्तै यस्तै अपेक्षा राखेका छन् । कमरेडहरू   गणतन्त्र स्थापनाको एकदशक पार गर्दा पनि सत्तास्वार्थका कारण अन्योल बनेको राजनीतिक व्यवस्थाका कारण निराश बनेका जनतामा तपार्इंहरूको सहमति र सहकार्यले उत्साह भरिएको छ, परिवार पाल्नका लागि बिदेसिएको युवाले घरमा आमा र पत्नीलाई वामपन्थी गठबन्धनलाई जिताउनका लागि सन्देश पठाएको छ, मलाई स्वदेशमै बस्ने रहर छ, भनेर आग्रह गरेको छ ।

दुर्गम गाउँमा बस्ने किसानले अब खानेपानीका कारण काकाकुल बन्नु पर्दैन, सिँचाइको अभावमा जमिन बाँझै रहँदैन, यसकारण वाम गठबन्धनलाई विजयी गराऔँ भन्दै आफन्त र छरछिमेकलाई सम्झाइबुझाइ गरेको छ । कलाकार, शिक्षक, विद्यार्थी, पत्रकार, वकिल, प्राध्यापक, व्यापारी, कृषक, कालिगढ, महिला, अल्पसंख्यक, अपांगता भएका, एकल महिला, जेष्ठ नागरिक, कर्मचारी, व्यवसायी, निजी उद्यमी, सहकारीकर्मीलगायत आमनागरिकले यसपटक वाम गठबन्धनलाई विजयी बनाएर दिगो शासन व्यवस्था ल्याउन पहलकदमी गरेका छन् ।

ती सबै वामपन्थी विचार राख्नेहरू मात्रै छैनन्, दिगो र स्थिर सरकार चाहने, देशको विकास र समृद्धि चाहने नागरिकले तपार्इंहरूलाई जिताउन मत दिएका छन्, मत दिन प्रेरित गरेका छन् ।   जनतासँग यो अन्तिम विकल्प पक्कै होइन होला तर त्यसरी नै जनताले अपेक्षा राखेका छन् कि अब देशमा स्थिर सरकार बन्छ, स्वदेशी विदेशी विभिन्न षड्यन्त्रका खेलहरूलाई परास्त गर्ने नेपाली शानसहितको सरकार बन्छ र यसले देशमा समृद्धि र सुशासन ल्याउँछ भन्ने जनताको अपेक्षा पूरा गर्ने जिम्मेवारी तपार्इंहरूको काँधमा आएको छ ।

तपार्इंहरूले नेतृत्व गरेका दुई वामपन्थी दलको गठबन्धनपछि गैरवामपन्थीहरूसमेत तपार्इंहरूको गठबन्धनलाई साथ दिँदै सहकार्यमा सहभागी भएका छन् । यसको सिधा अर्थ छ, देशवासी स्थिरताको पक्षमा छन् । त्यही भएर वाम गठबन्धनले सोच अनुसारको सफलता पाएको छ ।  कमरेडहरू   तपाईंहरूलाई जनताले गरेको विश्वासमाथि तुषारापात भयो भने तपार्इंहरू त जनताको नजरमा गिर्नु हुन्छ नै वामपन्थीहरूलाई आगामी दिनमा जनताले साथ दिने अवस्था आउँदैन । जनताले परिवर्तन चाहन्छन् र त्यो वामपन्थीहरूबाट मात्रै संभव छ भनेर जनताले मत दिएका छन् ।

जनताको मतलाई कागजको खोस्टो सम्झने विगतका परम्पराहरूको अन्त्य गर्दै यसपटक यहाँहरूले जसरी सबैलाई आश्चर्यचकित पार्दै गठबन्धन गर्नुभयो, गठबन्धनलाई विजयी गराउनुभयो त्यसैगरी जनतामा रहेको आशंकालाई समाप्तपारी दिगो र स्थिर सरकार निर्माणमा ध्यान दिनुपर्छ ।   जितको उन्माद विगतमा तपाईंहरूमा पनि देखिएकै हो । हरूवाचरुवा लगायतका शब्दजालहरू तपाईंहरूबाट पनि भएकै हुन् ।यतिबेला जितको उन्माद पनि वामपन्थी गबठन्धनमार्फत मुलुक परिवर्तन गर्ने अभियानको तगारो बन्न सक्छ । वामपन्थीलाई मत दिने सबै वामपन्थी होइनन् भन्ने कुरा पनि हेक्का राख्नुहोला ।

प्रत्यक्षमा तेस्रो बनेको नेपाली कांग्रेस समानुपातिकमा पहिलोको हाराहारीमै छ, यो विषयलाई यहाँहरूले पक्कै बेवास्ता गर्नु हुनेछैन । विपक्षी समेतसँग सहकार्य गरेर नवउदारवादको अन्ध पक्षपोषणको अनुत्पादक र उपभोक्तावादी पुँजीवादलाई बढावा दिइरहेको वर्तमान अवस्थाको अन्त्य गरी राष्ट्रिय उत्पादशील पुँजी, श्रम र रोजगार केन्द्रित औद्योगीकरण एवं विकास नीति अलबम्बन गरी तीव्र आर्थिक विकास र सामाजिक न्याय सहितको समावेशी र दिगो विकास गर्ने तपार्इंहरूको प्रतिवद्धतालाई जनताको अभिमतले पारित गरिदिएको छ ।

यसलाई कार्यान्वयन गर्नका लागि फेरि पनि तपार्इंहरूबीच एकता, सहकार्य र समन्वय आवश्यक छ । निर्वाचनको मुखमा तपाईंहरूले संयुक्त घोषणापत्रमार्फत गरेका प्रतिवद्धताका आधारमा यो देश चलाउने जिम्मेवारी नेपाली जनताले तपार्इंहरूलाई दिएका छन् । यो ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्नका लागि थुप्रै चुनौतीहरू छन् । ती चुनौतीको समग्र समाधान भनेको तपार्इंहरूबीचको सुमधुर सम्बन्ध नै हुन् । अहिले पनि तपार्इंहरूबीचमा विवाद सिर्जना गराउने, मेलमिलाप हुन नदिनका लागि विभिन्न प्रलोभन र आश्वासनहरू आई नै रहेका छन् ।

परिवारका सदस्यहरूबीच समन्वय र एकता नहुँदा छिमेकीले घर भडाउने काम गर्छन् नै त्यो पनि भइरहेकै छ । पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्र बनाउँदै १० वर्षमा नेपाली जनताको प्रतिव्यक्ति आय पाँच हजार अमेरिकी डलर पुग्नेगरी राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने तपाईंहरूको लक्ष्य प्राप्तिको प्रमुख तगारो भने तपार्इंहरूबीचको एकता र सहकार्यमा आउने समस्या नै हो । समस्या समाधानका लागि यहाँहरूले गरेका प्रतिवद्धतामा अडिग रहन जरुरी छ ।

सत्ता वा अन्य स्वार्थ र स्वार्थीहरूको चिल्ला कुरामा तपार्इंहरू नफस्नु, नभुल्नु नै तपाईंहरूको प्रतिवद्धता पूरा गर्ने अचुक उपाय हो । आमनेपाली जनता मुलुकमा स्थिरता कायम हुनेभयो, देशले आर्थिक विकास र सामाजिक रूपान्तरणको मार्ग पहिल्याउने भयो भनेर सुखानुभूति गरिरहेका छन् । जनताको यो भावनालाई आत्मसाथ गर्नका लागि तपार्इंहरूले एकता प्रक्रियालाई अन्तिम रूप दिन जरुरी छ । एकतामा बल छ, त्यही बललाई प्रयोग गरेर तपार्इंहरूले देखेको सपना, गरेको प्रतिवद्धता पूरा गर्नका लागि ०७४, १७ असोजमा सहमति कार्यान्वयन जरुरी छ ।

यही बीचमा वाम गठबन्धनका एक प्रमुख नेता कमरेड प्रचण्डलाई पुत्र शोक परेको छ । शोकका बीच पनि उहाँ, उहाँको परिवार र समग्र वाम गठबन्धनले निर्वाचनलाई सफल पार्न र विजय प्राप्त गर्न कुनै कसर राखेनन् । शोकलाई शक्तिमा बदलेर अभियान सफल भयो । कमरेड प्रचण्डले जीवनमा धेरै महत्वपूर्ण कुरा आफ्नो एक मात्र छोरालाई गुमाउनुभएको छ । यो पीडा पर्नेले मात्रै बुझेको छ । तपाईंले पाएको पीडालाई बिर्साउनका लागि पनि तपाईं र ओली मिलेर यो देशका सबै युवाहरूको मुहार फेर्नुपर्छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्ने महान नेताहरू पछि धेरैपटक एकीकरणका प्रयासहरू हुँदै आएका छन् । टुटफुटको वाम आन्दोलनलाई यतिबेला एउटा उभार ल्याउने काम तपाईंहरूको अगुवाइमा भएको छ । यसलाई निष्कर्षमा पु¥याएर वाम आन्दोलनको इतिहासमा स्वर्णिम अक्षरले नाम लेखाउने अवसरलाई सानातिना सत्ता वा अन्य स्वार्थले पक्कै छेक्ने छैन भन्ने जनताले अपेक्षा गरेका छन् ।  अन्त्यमा तपार्इंहरूका बीचमा १७ असोजमा बाँधिएको लगनगाठो थप कस्सिनुपर्छ भन्ने वाम गठबन्धनलाई मत दिने जनताको चाहना छ ।

जनतालाई आशंका छ, कतै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको अगुवाईमा बाँधिएको यो देशका दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकीकरण अभियानको लगनगाँठो फुस्किने त होइन ? र, धेरै जनता आश्वस्त छन् कि तपाईंहरूले यो देशबाट लिनुपर्ने केही छैन, देशवासीलाई एकता, विकास र समृद्धिको उपहार पक्कै दिनुहुन्छ । फेरि, जनताको आशंका छ, कमरेडहरू तपार्इंहरूबीचको लगनगाँठो फुस्किने त होइन ? यो गाँठो कस्सिँदै गएर यो देशमा एउटा मात्र कम्युनिस्ट पार्टी बनोस्, जनताको दुःखका दिन समाप्त गरोस्, । धन्यवाद ! (लेखक नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग सदस्य हुन्)

प्रतिक्रिया