मत-विमत

विज्ञापनमा आचारसंहिता

सौर्य अनलाइन २०७४ पुष ३ गते १०:०९ मा प्रकाशित

एलपी पौड्याल

विषय प्रवेश:
आमसञ्चार आजका मानिसको जीवनपद्दतिको एक अभिन्न अंग बनिसकेको छ । सूचना तथा सञ्चारबाट टाढा रहेर आधुनिक मान्छे एकछिन पनि बाँच्न सक्तैन । अर्थात सूचना आजका मान्छेको नैसर्गिक अधिकार बनिसकेको छ भन्दा पनि अन्यथा हुँदैन ।

मानिसलाई सूचना प्रवाह गर्ने कार्य सञ्चारमाध्यमहरूले गर्दछन् तर सञ्चारमाध्यमहरूलाई रक्त सञ्चार गराउने कार्य विज्ञापनले गर्दछ । विज्ञापनविना सञ्चारगृहहरू बाँच्न सत्तैmनन् भने सञ्चारगृहका अभावमा सूचना पाउने हाम्रो अधिकार सुरक्षित रहन सक्तैन ।

उत्पादित वस्तु वा उपलब्ध गराइने सेवाका बारेमा उपभोक्तालाई आवश्यक जानकारी गराई त्यसप्रति आकर्षित गर्ने कार्य विज्ञापनले गर्दछ ।

अतः सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित विज्ञापनले उपभोक्तालाई आवश्यक सूचना प्रदानगरी वस्तु वा सेवाको बजार वृद्धि गरिदिन्छन् भने सञ्चारगृहहरूले त्यसबापत विज्ञापनदाताबाट निश्चित रकम प्राप्त गर्दछन् ।

यसरी प्राप्त हुने रकमबाट नै सञ्चारगृहहरू जीवित र गतिशील भएका हुन्छन् । एक अनुमानित तथ्यांकअनुसार नेपालमा हाल वार्षिक रूपमा लगभग पाँच अर्बभन्दा माथिकोे विज्ञापनसम्बन्धी कारोबार हुने गर्दछ ।

यो आँकडा विगत वर्षहरूको तुलनामा क्रमशः बढ्दो अवस्थामा छ । सञ्चारमाध्यमहरूबाट प्रकाशित प्रसारित हुने समाचार सामग्रीलाई जुन रूपमा दर्शक, पाठक वा स्रोताले विश्वास गर्दछन् र त्यसप्रति आफ्नो धारणा बनाउँछन्, त्यसरी नै तिनीहरूबाट प्रकाशित प्रसारित हुने विज्ञापन सामग्रीहरूलाई पनि उपभोक्ताहरू त्यही रूपमा नै विश्वास गर्ने गर्छन् ।

त्यसैले उद्योग व्यवसायीहरू विज्ञापनका माध्यमले आफ्नो उत्पादन वा सेवाको प्रचारप्रसार गरी उपभोक्तालाई आकर्षित गर्दै आफ्नो बजार विस्तार गर्न चाहन्छन् । आजको युग नै विज्ञापनको युग हो ।

विज्ञापनकै कारण उपभोक्ताहरू विश्वका नयाँनयाँ भौतिक उपलब्धी र सेवाबाट लाभान्वित भएका छन् । विज्ञापनले उपभोक्ताको मनमा पार्ने मनोवैज्ञानिक प्रभावले गर्दा नै कुनै वस्तु वा सेवाको बजार वृद्धि हुन्छ र परिणामस्वरूप विज्ञापनदाताहरू लाभान्वित हुन पुग्दछन् ।

तर, विज्ञापनबाट आर्थिक लाभ हुन्छ भन्दैमा उपभोक्तालाई गुमराहमा पार्ने, भ्रमित तुल्याउने वा झुक्याउने खालका विज्ञापन सामग्री बनाइनु र आमसञ्चारका माध्यमहरूबाट प्रचारप्रसार गरिनु राम्रो मानिँदैन ।

अतः उपभोक्ताहरूको गुणस्तरीय वस्तु किन्न पाउने वा सही सेवा छान्न पाउने अधिकार कुण्ठित नहोस् भनेर कुनै पनि देशले विज्ञापन-सामग्रीको वैधता नियमन गर्ने विधि वा नियम बनाइएको हुन्छ, त्यसैलाई विज्ञापन आचारसंहिता भनिन्छ ।

अर्थात् एउटा सभ्य समाजका विज्ञापनमा केकस्ता सामग्रीहरू समावेश गर्नु वाञ्छनीय हुँदैन भनेर सरोकारवाला निकायले बनाएको नीति, नियम वा आन्तरिक अनुशासनलाई नै विज्ञापन आचारसंहिता भन्न सकिन्छ ।

विज्ञापन सामग्री कस्तो हुनु हुँदैन :

आमसञ्चारका माध्यमहरूबाट प्रकाशित वा प्रसारित हुने सामग्रीहरू कस्तो हुनुपर्छ भन्नु भन्दा पनि कस्तो हुनुहुन्न भन्ने कुराले बढी महत्व राख्दछ जुन देश, काल र समयसापेक्ष हुन्छ ।

हरेक जिम्मेवार सरकारले विज्ञापनका कारण आमउपभोक्ताहरूले सही वस्तु खरिद गर्न वा उचित सेवा लिनबाट वञ्चित हुनु नपरोस् भनेर विज्ञापन आचारसंहिता बनाई कडाइका साथ लागू गरेको हुन्छ ।

विशेष गरी विकसित मुलुकहरू यस्ता कुरामा बढी सचेत देखिन्छन् । संसारभरिका अधिकांश मुलुकहरूले आत्मसात् गर्ने गरेका केही महत्वपूर्ण विज्ञापनसंहितालाई संक्षिप्त रूपमा प्रस्तुत गर्नु यस लेखको अभीष्ट हो ।

१) विज्ञापन सामग्री मुलुकको नियम–कानुन र हित प्रतिकूल हुनुहुन्न

विज्ञापनमा प्रयोग हुने भाषा, शब्द, दृश्य, भावना तथा सन्दर्भ-सामग्रीहरू सम्बन्धित देशको नियम तथा कानुनको विपरीत हुनु हुँदैन । राष्ट्रिय हितभन्दामाथि व्यावसायिक हित हुन सक्तैन ।

अतः विज्ञापन सामग्री राष्ट्रिय हितविपरीत निर्माण गर्न र प्रचारप्रसार गर्न रोक लगाइएको हुन्छ ।

विज्ञापन सामग्रीमा हत्या, हिंसा, रगत तथा नागरिकलाई अनावश्यक रूपमा भयभित वा उत्तेजित पार्ने खालका चित्र वा सन्दर्भ-सामग्रीहरू पनि समावेश गरिनु हुन्न ।

२) विज्ञापन सामग्री सामाजिक सद्भाव भड्काउने किसिमको हुनुहुन्न

हरेक समाजको आफ्नै खालको मनोविज्ञान हुन्छ । यही मनोवैज्ञानिक रसायनले समाजका विभिन्न वर्गहरू एकआपसमा मिलेर रहेका हुन्छन् । विज्ञापनका रूपमा प्रचारप्रसार हुने सामग्रीले यस्तो सामाजिक सद्भाव र भाइचारको सम्बन्धलाई खलल पुर्याउनु हुँदैन ।

जातीय, क्षेत्रीय, भाषिक, वर्गीय तथा धार्मिक द्वन्द्व सिर्जना हुने विज्ञापन सामग्रीहरूलाई आमसञ्चारका माध्यमहरूमा स्थान दिइनु हुँदैन ।

३) विज्ञापन सामग्री उपभोक्तालाई भ्रमित पार्ने खालको हुनुहुन्न

विज्ञापन सामग्रीले सही सूचना वा जानकारी प्रदान गरी विज्ञापन गरिएका उत्पादन वा सेवाप्रति उपभोक्तालाई आकर्षित गर्नुपर्दछ । यस प्रयोजनका लागि बनाइने विज्ञापन सामग्री सिधा, स्पष्ट र विश्वासिलो हुनुपर्छ ।

विज्ञापन सामग्रीमा सामान्यतः अप्रमाणित रूपमा नम्बर वान, शतप्रतिशत, सर्वगुणसम्पन्न, सबैभन्दा ठूलो, सबैभन्दा पुरानो, सबैभन्दा उत्कृष्टजस्ता वाक्यांशहरू तथा ठोकुवा गरेका अभिव्यक्तिहरू (उदा. ‘फुट्तै फुट्तैन, जे गरे पनि फुट्तैन’ अथवा ‘सय प्रतिशत भिसाको ग्यारेन्टी’ जस्ता वाक्य वा वाक्यांश) उल्लेख भएका सामग्रीहरूले उपभोक्ताहरूमा भ्रम पैदा गर्ने भएकोले यस्ता सामग्रीको प्रयोग गरिनु पनि राम्रो मानिँदैन, जुन उपभोक्ताको हितविपरीत हुन्छ ।

सम्बन्धित निकाय वा व्यक्तिको अनुमती नलिई कुनै संस्थाको नाम, लोगो, झन्डा वा फोटाको प्रयोग गरिनुलाई पनि संहिताविपरीत मानिन्छ ।

त्यस्तै, सम्पादकीय वा समाचार सामग्रीजस्तै देखिने गरी प्रकाशित सामग्रीहरू, विज्ञापनदाता नखुलेका विज्ञापनहरू, वास्तविकताभन्दा बढी बढाइ(चढाइ गरिएका सामग्रीहरू, अवैज्ञानिक र अन्धविश्वासलाई प्रश्रय दिएका सामग्रीहरू (उदा. त्रिकालदर्शी ज्योतिषी, धनलक्ष्मी यन्त्र, सेक्सपावर बढाउने अचुक औषधि, ग्यारेन्टीका साथ कपाल उमार्ने औषधि आदि), सरकारी स्तरमा दर्ता नभएका तर कुनै संस्थाजस्तो नामबाट आकर्षक तलबको प्रलोभन देखाई गरिएका विज्ञापन सामग्रीहरू आदिले पनि आमउपभोक्तालाई भ्रमित पार्ने भएकोले यस्तो प्रकृतिका विज्ञापन सामग्रीहरू पनि सञ्चार माध्यमहरूबाट प्रकाशन वा प्रसारणका लागि उपयुक्त मानिदैनन् ।

डाक्टर, इन्जिनियर तथा विशेषज्ञको रूपमा कसैलाई प्रयोग गरी निर्मित विज्ञापन सामग्रीहरूले समाजमा भ्रम सिर्जना गर्ने र उपभोक्तालाई मिस(गाइड गर्ने डर हुने भएकोले अप्रमाणित यस्ता सामग्रीहरूलाई पनि प्रकाशन प्रसारणका लागि योग्य मानिदैनन् ।

४) विज्ञापन सामग्री समाज तथा उपभोक्ताप्रति जवाफदेही हुनुपर्छ

विज्ञापन र समाज एक सिक्काका दुई पाटा हुन् । विज्ञापन सामग्रीको उत्पादन समाजमा नै हुन्छ र त्यसको प्रयोग समाजका लागि समाजमा नै हुने गर्छ ।

अतः विज्ञापन निर्माताहरूले विज्ञापन निर्माण गर्दा सामाजिक मनोविज्ञान, सामाजिक सरोकार, समाजको चेतनाको स्तर तथा विज्ञापन सामग्रीमा प्रयोग हुने भाषा तथा सन्दर्भले त्यस समाजका साधारण उपभोक्ता तथा बालबालिकाहरूको कलिलो मस्तिष्कमा पार्न सक्ने नकारात्मक प्रभावलाईसमेत ध्यान दिनु जरूरी मानिन्छ ।

५) विज्ञापन सामग्री स्वस्थ व्यावसायिक प्रतिस्पर्धामा आधारित हुनुपर्छ

विज्ञापन सामग्रीहरू व्यावसायिक प्रतिस्पर्धाका लागि निर्माण गरिए पनि यस्ता विज्ञापन सामग्री सभ्य र स्वस्थ हुनुपर्छ ।

स्वस्थ प्रतिस्पर्धालाई सभ्यसमाजले सहज रूपमा स्वीकार गर्दछ तर विज्ञापन सामग्रीहरू मानसिक कुण्ठा थोपर्ने माध्यम बन्नु हुँदैन ।

अतः विज्ञापनका माध्यमबाट आफ्नो उत्पादन वा सेवाको बजार विस्तार गर्ने बहानामा प्रतिस्पर्धी उत्पादन वा सेवालाई होच्याउने, गाली गर्ने, तौल वा गुणस्तरको तुलना गर्ने, अरूसँग मिल्दोजुल्दो नाम, ब्रान्ड वा लोगो प्रयोग गर्ने तथा रिसर्च वा सर्वेका अप्रमाणित तथ्यांकहरू प्रस्तुत गरी यसकारण यो ठीक र त्यो बेठीक भन्ने तथा आक्रमक किसिमले अभिव्यक्ति दिनसमेत् पाइँदैन ।

व्यक्तिगत आरोपहरू र कसैको व्यक्तिगत र व्यावसायिक गोपनीयता भंग हुने विज्ञापन सामग्रीहरूलाई पनि सञ्चार माध्यमहरूमा स्थान दिइन्न ।

६) विज्ञापन सामग्री सत्य, तथ्य र वास्तविकतामा आधारित हुनुपर्छ

विज्ञापन सामग्रीमा अप्रमाणित र अनावश्यक तथ्यांक, संदिग्ध सन्दर्भ वा दाबी, पूरा गर्न नसकिने नारा, वाचा वा घोषणा तथा उपभोक्तालाई दिग्भ्रमित पार्ने किसिमका भनाइहरू राखिनु हुँदैन ।

उपभोक्ताहरूलाई भ्रमित पार्ने काल्पनिक तथ्यांकहरू तथा अवास्तविक कुरालाई बढाइ–चढाइ गरिएका विज्ञापन सामग्रीहरू पनि सभ्य समाजमा स्वीकार्य योग्य मानिदैनन् । वि

ज्ञापन सामग्रीहरू सत्य, तथ्य र वास्तविकतामा आधारित हुनु वाञ्छनीय मानिन्छ ।

७) विज्ञापन सामग्रीमा प्रयोग हुने भाषा स्तरीय, मर्यादित र शुद्ध हुनुपर्छ

विज्ञापनमा भाषाको प्रयोग हुन्छ । भाषा अभिव्यक्तिको माध्यम मात्र होइन, यो कुनै जाति र समुदायको आत्मसम्मान र गौरवको विषय पनि हो । अतः विज्ञापनमा भाषाको प्रयोग हुँदा धेरै सचेतता अपनाइनु पर्छ ।

त्यसै पनि नेपाल बहुभाषिक मुलुक हो । भाषिक दृष्टिले कुनै सम्प्रदायमा शिष्ट र सभ्य ठानिएको भाषा अर्को सम्प्रदायका लागि अशिष्ट, असभ्य र अमर्यादित हुन सक्दछ ।

विज्ञापन सामग्रीको निर्माण गर्दा भाषिक मर्यादाको ख्याल गर्न सकिएन र राष्ट्रिय स्तरका सञ्चार माध्यमहरूबाट त्यस्ता विज्ञापन सामग्रीको प्रकाशन प्रसारण भयो भने त्यसले कुनै सम्प्रदायको स्वाभिमानमा चोट पुर्याउने मात्र होइन, लज्जा वा घृणाले शिर निहुराउनु पर्ने अवस्थाको सिर्जना पनि हुन सक्दछ ।

यस्ता प्रयोगले कुनै सम्प्रदायको आत्मसम्मानमा आघात परी सामाजिक सद्भाव खल्बलिन सक्छ । अतः सभ्य समाजमा भाषिक मर्यादाको विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

भाषिक प्रयोगको अर्को पाटो पनि छ । भाषाका विद्यार्थी तथा बौद्धिक व्यक्तित्वहरूका लागि विज्ञापन सामग्रीमा प्रयोग हुने भाषाले पनि ठूलो प्रभाव पार्ने गर्दछ ।

अशुद्ध र असभ्य भाषाको प्रयोगले एकातिर त्यस्ता सामग्रीहरूप्रति उपभोक्ताको नकारात्मक धारणा पैदा हुन्छ भने अर्कोतिर स्थापित सञ्चारका माध्यमहरूबाट प्रकाशन प्रसारण भएका विज्ञापन सामग्रीमा प्रयोग भएको भाषालाई पनि ती सञ्चारगृहको ब्रान्डसँग तुलना गरी शुद्ध र सत्य मान्दा गलत सिकाइ वा गलत बुझाइ हुने हुन्छ ।

भाषासँग मानव मस्तिष्कको मनोवैज्ञानिक सम्बन्ध रहने हुनाले विज्ञापन सामग्रीमा भाषाको प्रयोग गर्दा भाषिक मर्यादामा विशेष ध्यान पुर्याउनु जरूरी मानिन्छ । अतः विज्ञापन सामग्रीहरूको निर्माण गर्दा भाषाको शुद्ध, शिष्ट र शालीन प्रयोगको अपेक्षा गरिन्छ ।

संक्षेपमा,

विज्ञापन सामग्रीको अभिप्राय उपभोक्तालाई सही सूचना प्रवाहगरी आफ्नोउत्पादन वा सेवाको बजार विस्तार गर्नु हो । अतः आमसञ्चारका माध्यमहरूबाट विज्ञापन सामग्री प्रकाशित वा प्रसारित हुँदा कुनै पक्षले आरोपित हुनुपर्ने, लज्जाबोध गर्नुपर्नेे, भ्रमित हुनुपर्ने वा साम्प्रदायिक सद्भावमाथि प्रहार हुने प्रकारको हुनुहुन्न ।

मुलुकको नीति नियमको परिधिभित्र रही मर्यादित रूपमा आÇनो उत्पादन वा सेवाको प्रचार गर्न पाउनु लगानीकर्ताको नैसर्गिक अधिकार हो । तर, आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार सुरक्षित भयो कि भएन भनेर पनि ख्याल गरिनुपर्छ । यसका लागि विज्ञापन आचारसंहिताको आवश्यक पर्दछ ।

विज्ञापन-संहिताको पालना भयो भएन भनेर नियमन गर्ने प्रयोजनको लागि राज्यले एउटा अधिकारसम्पन्न प्राधिकरणको गठन गर्नु राम्रो मानिन्छ ।

सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरू रहेको यस्तो संस्थाले विज्ञापन अचारसंहिता बनाउने, नियमन गर्ने र सीमा अतिक्रमण गर्नेलाई कानुनी दायराभित्र ल्याउने कार्य गर्नेछ ।

आचारसंहिता आफूले आफैँलाई बाँध्ने विधान हो, जुन सभ्य समाज निर्माणका लागि आवश्यक हतियार मानिन्छ ।

नेपाली समाजका सन्दर्भमा विज्ञापन आचार-संहिता कति आवश्यक वा कति सान्दर्भिक छ भन्ने कुरा छुट्टै समीक्षाको विषय पनि बनाउन सकिएला तर यो नयाँ कुरा भने पक्कै होइन† अन्तर्राष्ट्रिय क्षेत्रमा वर्षौंदेखि यस्तो अभ्यास भइरहेको छ ।

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय