आज अन्तर्राष्ट्रिय आप्रवासन दिवस : वैदेशिक रोजगार सुरक्षित र व्यवस्थित बनाउन आवश्यक

काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासन दिवस सोमबार नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।   सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हकअधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको दिनको सम्झनामा हरेक वर्षको १८ डिसेम्बरमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरिन्छ ।

यसपटक अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउँदै गर्दा नेपालले भने वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने विषयलाई प्रमुख मुद्दा बनाएको छ । ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार, हाम्रो सरोकार’ भन्ने नारासहित विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदै छ ।

हाल विश्वभर करिब २३ करोड २० लाख आप्रवासी कामदारका रूपमा रहेको र तीमध्ये एकचौथाइ मानिस एसिया तथा प्रशान्त क्षेत्रमा मात्र रहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को तथ्यांक छ । नेपालबाट बर्सेनि चार लाखको हाराहारीमा रोजगारीका लागि युवा विदेशिने गरेका छन् । विदेशमा करिब ३० लाखको हाराहारीमा नेपाली कामदार रहेको अनुमान गरिए पनि आधिकारिक तथ्यांक सरकारसँग छैन ।

वैदेशिक रोजगारीमा पठाएका कामदारले पठाएको विप्रेषण नै नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको छ । वार्षिक सात खर्बको हाराहारीमा विप्रेषण भित्रिने गरेको छ । यस्तै रोजगारीका क्रममा विभिन्न मुलुकमा पुगेका नेपाली कामदारको बढ्दो मृत्युदर, दुर्घटना पनि चिन्ताको विषय बनेको छ । विदेश जानुअघि राम्रो अभिमुखीकरण र तालिम प्रदान गर्न नसकेकै कारण यो संख्या बढ्दै गएको छ ।

यस्तै विदेशका जेलमा रहेका नेपाली कामदार र त्यहाँको अस्पतालका ‘कोमा’ मा उपाचाररत नेपाली कामदारको विषयमा समेत राज्यले स्पष्ट मापदण्ड बनाउन आवश्यक छ । विदेशमा रहेका नेपाली आप्रवासी कामदारको अधिकारको चर्चा गरिरहँदा नेपालमा रहेका भारत, बंगलादेशलगायत विभिन्न मुलुकका पाँच लाखभन्दा बढी आप्रवासी कामदारको अधिकारको विषय पनि यस सन्दर्भमा चर्चा गर्न आवश्यक छ ।

नेपाली कामदारको प्रमुख गन्तव्य खाडी र मलेसिया रहँदै आएकामा त्यसलाई न्यूनीकरण गर्दै विकसित युरोपेली राष्ट्रमा श्रम गन्तव्यको खोजी गर्ने, विद्यमान प्रमुख श्रम गन्तव्य मुलुकसँग तत्कालै श्रम सम्झौता गर्ने, वैदेशिक रोजगार ऐनलाई छिटो परिमार्जन गर्ने, म्यानपावरको नियमनमा कडाइ गर्नेजस्ता कार्यलाई कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाको भनाइ छ ।

यसैबीच वैदेशिक रोजगार व्यवसायी संघले सन् २०२५ देखि वैदेशिक रोजगारीमा अदक्ष कामदार नपठाउने गरी नीति निर्माण गर्नुपर्ने तथा सन् २०१८ भित्र मलेसिया, युएई लगायतका खाडी मुलुकसँग नेपाली श्रमिकको हितमा हुनेगरी श्रम सम्झौता गर्न सरकारी स्तरबाट पहल गर्नुपर्नेमा जोड दिएको छ ।

श्रम सम्झौता गर्न अस्वीकार गर्ने मुलुकहरूमा कामदार पठाउन रोक लगाउनुपर्ने संघको माग छ । प्रत्येक दिन करिब १७ सयको हाराहारीमा नेपाली युवा रोजगारीका लागि विदेशिने गरेको सरकारी तथ्यांक छ । हाल ३० लाखभन्दा बढी नेपाली रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

नेपालीहरू श्रमका लागि खाडी मुलुकहरू, मलेसिया, दक्षिण कोरिया, पूर्वी अमेरिकालगायत देशमा जाने गरेका छन् । त्यसमध्येमा पनि खाडी मुलुकमा जाने नेपाली कामदारमाथि श्रम शोषणका घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ ।
रोजगारदाताबाट कामदारले पारिश्रमिक नपाउने या पाए पनि समयमा नपाउने, कम्पनीले सामान्य स्वास्थ्य उपचार पनि नदिने, तोकिएको काम र कार्यक्षेत्र भन्दा अन्यत्रै काम गर्नुपर्ने, पारिवारसँग सम्पर्क गर्न नदिने तथा बेचबिखनमा पर्नेजस्ता ठूला मानवीय समस्याहरू पनि देखिने गरेका छन् ।

 

प्रतिक्रिया