तीन नेतालाई एकताविरोधीको आरोप !

काठमाडौं । नेकपा माओवादी केन्द्रका तीन नेता पार्टी एकताविरुद्ध लागेको उजरी परेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई चुनावी तालमेलपछि पनि पार्टी एकता भाँड्न लागेको भन्दै वरिष्ठ नेताकै विरुद्ध उजुरी परेको हो ।

माओवादी स्रोतका अनुसार पूर्वअर्थमन्त्री तथा वरिष्ठ नेता कृष्णबहादुर महरा, वर्षमान पुन र मातृका यादव पार्टी एकता भाँड्न विभिन्न शक्तिकेन्द्रसँग टेलिफोन वार्ता गरेको र पार्टीभित्र पनि भड्काउन लागेको भन्दै उजुरी परेको हो । चुनावपछि पार्टी एकता, नयाँ सरकार गठन र तालमेलको विषयमा समीक्षा गर्न सोमबार केन्द्रीय कार्यालयको बैठक बस्दै छ । सो बैठकमा समेत एमाले नेताहरूको भनाइलाई लिएर एकताको विपक्षमा अडान राख्ने लबिङ गरिरहेको स्रोतको भनाइ छ । महरा, पुन र यादवले भित्रीरूपमा कसरी एकतामा आँच ल्याउन सकिन्छ भनेर कांग्रेसदेखि विभिन्न शक्ति केन्द्रसँग वार्ता गरेको स्रोतको भनाइ छ ।

‘पार्टी एकताविरुद्ध गोप्य बैठक सञ्चालन गर्न थालेपछि उजुरी गर्न बाध्य भयौँ, उहाँहरूको नियत ठीक भएन, एकतालाई जनताले अनुमोदन गरिसकेको अवस्थामा अब कसैको चलखेलले रोकिनु हुन्न भन्ने हाम्रो उद्देश्य हो,’ अध्यक्ष दाहाललाई उजुरी गर्नेमध्येका एक नेताले भने । चुनावपछि एमाले र माओवादी दुवै पार्टीभित्र एकताको विषयमा केही नेताहरू नै लागेको सूचना पुगिसकेको छ । यसै सूचनाका आधारमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहालले शुक्रबारको भेटमा लामो छलफल गरी सूची बनाएका थिए । दुवै नेताले एकताविरोधी काम नगर्न अफ्ना पार्टीका नेता कार्यकर्तालाई निर्देशनसमेत दिइसकेका छन् । निर्देशनपछि पनि महरा, पुन र यादवले एकताविरुद्ध अभियान चलाएको आरोप उजुरीमा छ ।

माओवादीका एक केन्द्रीय सदस्यका अनुसार ‘एकतापछि कोही पनि केन्द्रीय सदस्य हुँदैन, तपाईं पनि पर्नुहुन्न, किन पक्षमा लाग्ने’ भन्दै एकताविरोधी समूहले भड्काउन काम अघि बढाएको छ । महरा, पुन र यादव नेतृत्वको समूहले सोमबारको बैठकमा समेत एकताको विषयलाई लिएर कडारूपमा प्रस्तुत हुने योजना बनाएको छ । सो समूहले बैठकमा तत्काल पार्टी एकतामा जान नहुने एजेन्डा राख्ने तयारी गरेको उनले बताए । सो समूहले शनिबार र आइतबार गोप्य छलफलसमेत गरिसकेको स्रोतको भनाइ छ । चुनावअघि पनि महरा र पुन खुलेरै तालमेलको विपक्षमा उभिएका थिए । उनीहरूलाई प्रचण्डले कडा निर्देशन दिएपछि मात्रै शान्त बनेको ती नेताले बताए ।

‘तालमेलका कारण दाङमा चुनाव जित्नुभयो तर जिते लगत्तै एकता गर्नुहुन्न भन्ने लबिङमा हुनुहुन्छ,’ ती केन्द्रीय सदस्यको भनाइ छ । वाम गठबन्धन गर्दा नै भित्रिरूपमा विरोधमा देखिएका यी नेताहरू अहिले भने आफ्ना एजेन्डा बैठकमै राख्ने गरी तयारीमा जुटेका हुन् । एकतामा जाँदा माओवादी आन्दोलन हराएर जाने, एमालेमा पार्टी विसर्जन गरेको जस्तो देखिने, प्रचण्ड राष्ट्रपति बन्नै नहुने, पदीय व्यवस्थापन गर्न नसक्दा सक्रिय नेता कार्यकर्ता पलायन हुनेजस्ता समस्या देखाउने योजना महरा–पुन समूहको रहेको छ । उनीहरूले पार्टी एकताभन्दा पनि एमालेसँग सरकारमा सहकार्य मात्र गरेर जानुपर्ने, सहकार्य गर्दा भनेअनुसारको भागबन्डा नमिले अरू दलसँग मिलेर सरकार चलाउनु पर्नेसम्मको प्रस्ताव राख्ने तयारी गरेको स्रोतले बतायो । उनीहरूले राजपा नेता राजेन्द्र महतोदेखि अन्य सबै मधेस केन्द्रित नेतासँगसमेत यस विषयमा छलफल चलाएको स्रोतको भनाइ छ ।

माओवादी प्रवक्ता पम्फा भुसालले भने एकता र सरकार निर्माणका विषयमा पार्टीभित्र विभिन्न विचार र दृष्टिकोण आए पनि एकता गर्ने कुरामा कसैको आपत्ति नरहेको बताइन् । सोमबार बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा पछिल्लो अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेको भुसालले जानकारी दिइन् । यस्तै नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुने उनको भनाइ छ ।

नेपाली कांग्रेससँग स्थानीय तहको निर्वाचनमा तालमेल गरेको माओवादी केन्द्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेसँग पार्टी एकताको घोषणा गरी चुनावी तालमेल भएको थियो । दुई पार्टीले अहिले पार्टी एकता र सरकार निर्माण पहिले वा दुवै सँगसगै लैजाने भन्ने विषयमा छलफल गरिरहेका छन् ।

प्रतिक्रिया