आणविक हतियार बेच्ने क्रममा उत्तर कोरियाली नागरिक अष्ट्रेलियामा पक्राउ

सिड्नी, २ पुस । एकजना उत्तर कोरियाली नागरिक आणविक हतियार र यसका पार्टपूर्जाहरु बेच्ने क्रममा अष्ट्रेलियाली नगर सिड्नीमा पक्राउ परेका छन् ।

उनले उत्तर कोरियामा आणविक हतियारको विकासका लागि रकम जुटाउने उद्देश्यले प्रतिबन्धित आणविक शस्त्र र यसका पार्टपूर्जाहरु बेच्ने गरेका थिए ।

उनले सिड्नीमा रहेर निकै लामो समयदेखि यस्तो कारोबार गर्ने गरेको खुलेको पनि सिड्नीको प्रहरीले जानकारी दिएको छ ।

हाल संयुक्त राष्ट्रसंघको नै प्रस्तावमा उत्तर कोरियामाथि यस्ता सामाग्रीहरु बेच्न र किन्न पनि प्रतिबन्ध लगाइएको छ ।

साथै उसले बारम्बार गर्ने गरेको नाकाबन्दीका कारण ती सामाग्रीहरुमा संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका तथा अन्य विश्वले पनि उसमाथि नाकाबन्दी लगाएको बताइएको छ ।

यस्तो अवस्थामा एकजना उत्तर कोरियाली नागरिक चान हान चोइलाईलाई प्रहरीले पक्राउ गरेको हो । उनी बिगत लामो समयदेखि सिड्नीमा बस्दै आएका तर सो आणविक कम्पनीका लागि एजेन्टको काम गर्दै आएका छन् ।

उनी प्योङयाङ्मा ब्यालेस्टिक क्षेप्यास्त्रको उत्पादन र प्रयोग एवम् परीक्षणको काममा पनि संलग्न भइआएका एकजना विज्ञ समेत रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको दाबी छ ।

उनले ती पार्टपूर्जाहरु सिड्नीमा बेचबिखन गर्नुको साथै ब्यालेस्टिक क्षेप्यास्त्रका लागि सिड्नीमा प्रविधि र पार्टपूर्जा आयातका लागि आफुले सहयोग पुर्याउन सक्ने बारेमा पनि कुराकानी गरेको प्रहरीले जनाएको छ ।

सो अनुसन्धानमा संलग्न एकजना अष्ट्रेलियन प्रहरीले भनेका छन्– यस्तो घटना हामीले अष्ट्रेलियामा पहिलो पटक देखेका छौँ, उनी उत्तर कोरियाका उच्चस्तरीय अधिकारी रहेछन् र नाकाबन्दीका कारण उत्पन्न आर्थिक मन्दीको समयमा यस्तै पार्टहरु बेचेर देशका लागि अर्थोपार्जन गर्ने प्रयोजनले यहाँ आएका रहेछन् ।

अष्ट्रेलियाली प्रधानमन्त्री माल्कोन टर्नबुलले आइतबार सिड्नीमा सम्वाददाताहरुसँग भने, यो पक्राउलाई हामीले निकै महत्वपूर्ण कामका रुपमा लिएका छौँ ।

उत्तर कोरियाले विश्व शान्तिमा नै धावा बोल्ने काम गरिरहेकोले उसका कारण ती नागरिक पक्राउ परेका र उनलाई के कस्तो कारबाही गर्ने भन्ने विषयमा थप कानुनी परामर्श गरिने जानकारी प्रहरी अधिकारीहरुले दिएका छन् ।

प्रतिक्रिया