‘पद्मावती’ विवाद कलाकार धम्क्याउनु गलत: पाटेकर


एजेन्सी
मुम्बई । बलिउड चलचित्र ‘पद्मावती’ यतिखेर विवादको चुलीमा पुगेको छ । यसमा अभिनय गर्ने कलाकार तथा निर्देशकलाई ज्यानको धम्कीसमेत आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, बलिउड अभिनेता नाना पाटेकरले अभिनेत्री दीपिका पादुकोण र फिल्म निर्माता सञ्जय लीला भन्सालीलाई दिइएका धम्की गलत भएको बताएका छन् । विवादको सामना गरिरहेको ‘पद्मावती’ को विषयमा दिइएका धम्की ‘गलत’ र ‘अस्वीकार्य’ भएको पाटेकरले जनाएका छन् ।

‘पद्मावती अहिलेसम्म रिलिजसम्म भएको छैन । फिल्ममा के देखाइएको छ भन्नेबारे कसैलाई केही जानकारीसम्म छैन । म यो विवादमा पर्न चाहन्न तर दीपिका र भन्सालीलाई धम्क्याउनु गलत र अस्वीकार्य छ,’ एक कार्यक्रममा पाटेकरले भने ।

राजपूत रानी पद्मावतीको विषय जोडिएकाले र यसमा इतिहासलाई तोडमोड गरेको भन्दै विरोध भएको हो । यस चलचित्रमा दीपिका, शाहिद कपुर, रणवीर सिंहको मुख्य भूमिका छ । १ डिसेम्बरमा रिलिजको तयारीमा रहेको यो चलचित्र विवादका कारण सेन्सर बोर्डबाट पास हुन सकेको छैन भने भारतको संसदीय बोर्डले समेत यसबारेमा चासो राखेको छ ।

‘पद्मावती’ लाई केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सिबिएफसी) ले मञ्जुरी नदिएका कारण प्रदर्शनको मिति तय हुन सेकेको छैन । ‘पद्मावती’ माथि पूरै प्रतिबन्ध लगाउनुपर्ने राजपूत करणी सेनाले माग गरेको छ ।

यसैबीच, ‘दीपिका बचाओ’ अभियान सञ्चालन गरेकी अभिनेत्री शबाना आजमीले सुरु गरेको अभियानमा कंगना रनावतले हस्ताक्षर गर्न मानिनन् । शबानाले सुरु गरेको यो अभियानमा प्रायः अभिनेत्रीलाई दीपिकाको सुरक्षा गराउनुपर्ने पेटिसनमा हस्ताक्षर गर्न लगाइन् । जया बच्चन, हेमा मालिनी, विद्या बालन, अनुष्का शर्मा, प्रियंका चोपडा, सोनाक्षी सिन्हा, आलिया भट्ट लगायतका अभिनेत्रीहरूले हस्ताक्षर गरेका छन् ।

पद्मावतीको विषयलाई लिएर दीपिकामाथि अनेकौँ धम्की आए । उनको समर्थनमा बलिउडका कलाकारहरूले विभिन्न कार्यक्रम गरिरहेका छन् । तर, बलिउड अभिनेत्री कंगनाले भने दीपिकाको समर्थन गर्न मानिनन् ।

बलिउडमा कंगना विवादास्पद तथा कडा बयानका लागि चर्चित छिन् । उनले हालै ऋतिक रोशनमाथि लगाएका आरोपका कारण चर्चामा छन् । यसैबीच, दीपिकाको विषयमा कंगना फेरि चर्चामा आएकी छन् ।

कंगनाको दीपिकालाई असहयोग गर्ने निर्णयले शबानालाई छक्क पा¥यो । यो पेटिसन प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाइने भएको छ । रिपोर्टहरूका अनुसार, कंगनाले चाहिँ पेटिसन साइन गर्न मानिनन् । कंगनाले तर्क गरेकी छन्, कि आफू ऋतिक रोशन र आदित्य पञ्चोलीसँग लड्दा बलिउडले साथ नदिएको वा नकारात्मक कुरा बोलेको भन्दै दीपिकाका विषयमा उनले साइन गर्न अस्वीकार गरेकी हुन् ।

प्रतिक्रिया