गेलको छक्काको नयाँ कीर्तिमान

काठमाडौं । आक्रामक क्यारेबियन ब्याट्सम्यान क्रिस गेलको विस्फोटक ब्याटिङको मद्धतमा रंगपुर राइडर्सले घरेलु लिग बंगलादेश प्रिमियर लिगको उपाधि जितेको छ । गेलले फाइनलमा छक्काको वर्षा नै गरे ।

उनले टी–२० को एकै पारीमा १८ छक्का प्रहार गर्दै नयाँ कीर्तिमान बनाए । यसअघि आफैँले बनाएको १७ छक्काको कीर्तिमान गेलले भंग गरे । गेलले फाइनलमा विष्फोटक ब्याटिङ गर्दै ६९ बलमा १४६ रन बनाए । उनले १८ छक्का र ५ चौका प्रहार गरे ।

यो म्याचमा उनले २०औँ शतकसमेत पूरा गरे । टी–२० मा २०औँ शतक पूरा गर्ने उनी पहिलो खेलाडी हुन् ।  वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान गेलले टी–२० क्रिकेटमा ११ हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यानका रूपमा समेत आफ्नो नाममा कीर्तिमान बनाएका छन् ।

उनले बंगलादेश प्रिमियर लिगमा सय छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यानका रूपमा पनि आफूलाई नै उभ्याएका छन् । उनले टि–२० करिअरमा ८१९ छक्का प्रहार गरिसकेका छन् ।

यो सूचीमा दोस्रो नम्बरमा रहेका वेस्ट इन्डिजकै अर्का खेलाडी किरन पोलार्डको नाममा ५०९ छक्का छ ।

प्रतिक्रिया