रोल्पाको समानुपातिकमा २२ प्रतिशतभन्दा बढी मत बदर

रोल्पा, २७ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मंसिर १० गते भएको मतदानमा समानुपातिकतर्फ रोल्पाका मतदाताले ठूलो सङ्ख्यामा मत बदर गरेका छन् ।

प्रतिनिधिसभातर्फ खसेको कूल मत ७० हजार ५७० मध्ये ११ हजार ४९४ मत बदर भएको छ । यो सङ्ख्या खसेको कूल मतको १६ प्रतिशतभन्दा बढी हो । यो सङ्ख्या जिल्लामा नेकपा एमालेले प्राप्त गरेको मतभन्दा बढी हो ।

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ जिल्लामा नेकपा माओवादी केन्द्रले २७ हजार २२०, नेपाली काँग्रेसले १६ हजार ८४७ र एमालेले १० हजार ५४५ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभामा बदर मतको सङ्ख्या प्रतिनिधिसभाको मतभन्दा बढी देखिएको छ । जिल्लाको दुवै प्रदेशसभामा ७० हजार ५७० मत खसेकामा १५ हजार ७६६ मत बदर भएको थियो ।

यो सङ्ख्या प्रदेशसभाका लागि दुवै निर्वाचन क्षेत्रबाट खसेको मतको २२ प्रतिशतभन्दा बढी हो । प्रदेशसभाका लागि बदर भएको मत जिल्लामा नेपाली काँग्रेस र एमालले प्राप्त गरेको मतभन्दा बढी हो ।

प्रदेशसभाका लागि माओवादी केन्द्रले २५ हजार २६० मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले १४ हजार ४१८ र एमालेले १० हजार २७१ मत प्राप्त गरेका थिए ।

जिल्लामा यति धेरै मत बदर भएसँगै निर्वाचन शिक्षाका बारेमा प्रश्न उठ्न थालेको छ । ठूलो धनराशि खर्च गरेर गरिने मतदाता शिक्षाको परम्परागत पद्धतिले मतदातालाई कुनै प्रभाव नपारेको बताइएको छ ।

प्रतिक्रिया