पार्टी एकीकरण र सरकार गठन सँगसँगै: दाहाल


आनन्द पोखरेल

चितवन, २६ मंसिर l नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरण र नयाँ सरकार निर्माणको काम सँगसँगै अगाडि बढ्ने बताएका छन् । जनताले वाम गठबन्धनका पछिल्ला प्रक्रियालाई अनुमोदन गरेकाले अब दुवै काम अगाडि बढ्ने बताएका हुन् ।

प्रत्यक्षको प्रतिनिधिसभा सदस्यमा चितवन ३ बाट निर्वाचित भएपछि सौर्य दैनिकसँग कुराकानी गर्दै दाहालले पार्टी एकीकरण गर्ने उद्देश्यले नै पार्टी एकता संयोजन समिति बनेकाले एकता र सरकार गठनको कामलाई सँगसँगै अगाडि बढाउने बताएका हुन् । आममतदातालाई जिताएकोमा धन्यवाद दिँदै दाहालले भने, ‘आमनेपाली जनताले वाम गठबन्धनलाई अनुमोदन गरेर देशको राजनीतिक स्थायित्व र विकासको जिम्मेदवारी दिएकाले त्यसले ठूलो जिम्मेवारीबोध महसुस भएको छ ।’ जनताको भावनाअनुसार विकास र समृद्ध नेपाल बनाउने लक्ष्यमा आपूmहरू लाग्ने बताए ।

नेपाली कांग्रेस प्रमुख प्रतिपक्षीको रूपमा अगाडि आउने विश्वास व्यक्त गर्दै दाहालले काँग्रेसको भूमिका पनि आर्थिक विकास र राजनीतिक स्थायित्वको लागि महत्वपूर्ण हुने बताए । राष्ट्रिय र साझा मुद्दाहरूमा नेपाली काँग्रेससँग सहकार्य गरेर अगाडि बढ्ने नीति रहेको पनि स्पष्ट पारे । निर्वाचनमा जित र हार भइरहने उल्लेख गर्दै दाहालले वामदेव गौतम र नारायणकाजी श्रेष्ठको हारबाट व्यक्तिगत पीडा भएको प्रतिक्रिया दिए । पराजय भोगेका भए पनि उनीहरूको जिम्मेवारी कम नहुने दाहालको भनाइ छ ।

चितवनको विकास र समृद्धि र राष्ट्रकै विकास र समृद्धि स्थायित्व आफूहरूको मुख्य मुद्दा भएकाले त्यसैमा प्रतिबद्ध भएर लाग्ने दाहालले प्रतिबद्धता जनाएका छन् । दाहालले उनका निकटतम प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष एवं वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेलाई ९ हजार ३ सय ४१ मतान्तरले पराजित गरेका हुन् । चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा दाहालले ४८ हजार २ सय ७६ मत प्राप्त गर्दा पाण्डेले ३८ हजार ९ सय ३५ मत मात्रै प्राप्त गरेका छन् ।

निर्वाचित भएका चितवनका ९ वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र प्रदान गरेका छन् । चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र क्षेत्र नम्बर २ मा नेकपा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल विजयी भएका छन् । त्यस्तै, ६ वटा प्रदेशसभा मध्ये ४ वटामा एमाले र २ वटामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

चितवन क्षेत्र नम्बर ३ मा पराजित भएका वनमन्त्री विक्रम पाण्डेले मतगणनास्थलमा नै गएर पुष्पकमल दाहाललाई बधाई दिएका छन् । आफू पराजित भए पनि जनताको काममा सधैँ साथमा रहने पाण्डेले बताए । चितवनका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि सोमबार नै संयुक्त विजय ¥यालीसमेत निकालिएको छ ।

प्रतिक्रिया