जनताले नपत्याएका हेभिवेट

काठमाडौं २५ मंसिर । ०४८ देखि निरन्तर तनहुँबाट निर्वाचन जित्दै आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको विजयी यात्रामा ब्रेक लागेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ–१ बाट कांग्रेस नेता पौडेलले पहिलोपटक पराजय भागेका हुन् । वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठले पौडेललाई ६ हजार ८ सय २ मतले पराजित गरेका हुन् । श्रेष्ठले यो जितसँगै पौडेलसँग ०७० को निर्वाचनमा पराजित भएको बदला पनि लिएका छन् । दोस्रो संविधानसभाको निर्वाचनमा पौडेलको प्रतिस्पर्धीको रूपमा श्रेष्ठ नै थिए ।

यसपटकको निर्वाचनमा श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याएर विजयी हुँदा पौडेलले २७ हजार ६ सय ९० मत प्राप्त गरे । आपूmलाई भावी प्रधानमन्त्री तथा पार्टी सभापतिको दावेदारका रूपमा प्रस्तुत गर्दै आएका कांग्रेस ‘हेभिवेट’ पौडेलको यो हारले उनको सपनामाथि ठूलो धक्का लागेको छ । २६ वर्षदेखि तनहुँबाट जित्दै आएका पौडेलको पराजयमा विभिन्न फ्याक्टरहरूले भूमिका खेलेको विश्लेषण हुन थालेको छ । आफ्नै सहकर्मी गोविन्दराज जोशीले उनीविरुद्ध बागी उम्मेदवारी दिनुलाई पनि एउटा कारक मानिएको छ । जसका कारण जोशीसँगको कटुतापूर्ण सम्बन्धले पौडेलको राजनीतिक छबीलाई क्षयीकरण गरेको देखिन्छ । समग्रमा कांग्रेसको किल्ला मानिएको तनहुँमा यसपटक भने कांग्रेसले सबै क्षेत्र गुमाएको छ ।

देशैभर वाम गठबन्धनको रुझान भइरहेको अवस्थामा वाम गठबन्धनका सूत्राधार वामदेव गौतम आपैmँले हार बेहोर्नुपरेको छ । एमालेका प्रभावशाली नेता तथा पूर्वउपप्रधान एवं गृहमन्त्री गौतम बर्दिया–१ बाट पराजित भएका हुन् । उनी वर्तमान सिचाइँ मन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतमसँग ७ सय ५३ मतले पराजित भएका हुन् । सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याएर विजयी हुँदा गौतमले ४४ हजार ७६ मत ल्याए ।

०४८ र ०५१ मा बर्दियाबाटै संसदीय निर्वाचनमा विजयी भएका गौतम ०७० को दोस्रो संविधानसभा निर्वाचनमा बर्दिया–१ र प्युठान–१ बाट निर्वाचित भएका थिए । बर्दिया–१ बाट तीनपटक जितेका र दुईपटक हारेका गौतमले ०७० को निर्वाचनमा दुवै स्थानबाट जित हासिल गरेपछि प्युठानलाई रोजेका थिए । यसबाट पनि बर्दियावासी उनीसँग रुष्ट रहेको बताइन्छ । यसका साथै आफ्नो क्षेत्रको विकासमा ध्यान नदिएको आरोप उनले चुनावी प्रचारका क्रममा पनि खेपेका थिए । यद्यपि, एमालेका हेभिवेट नेता गौतमको हारलाई अप्रत्याशित नतिजाको रूपमा हेरिएको छ ।
यसैबीच, निकटतम प्रतिद्वन्द्वीसँग थोरै मतान्तरले पराजित भएका गौतमले आफ्नो हार स्वीकार गरेका छन् । उनले एक वक्तव्य निकाल्दै भनेका छन्, ‘म हारे पनि गठबन्धनले जितेकोमा खुसी छु, गठबन्धनको उद्देश्य पूरा गर्न काँधमाकाँध मिलाएर अघि बढ्छु ।’

झापा–३ मा कांग्रेस ‘हेभिवेट’ नेता कृष्णप्रसाद सिटौला पनि पराजित भएका छन् । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद लिङदेनले १३ हजार ४ सय ४३ भारी मतान्तरले सिटौलालाई हराएका हुन् । लिङदेनले ४४ हजार ६ सय १४ मत ल्याएर विजयी हुँदा सिटौलाले ३१ हजार १ सय ७१ मत प्राप्त गरे । अन्य स्थानमा नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेको राप्रपाले झापा–३ भने वाम गठबन्धनसँग तालमेल गरेको थियो । कांग्रेसका पूर्वमहामन्त्री सिटौलालाई आफ्नै पार्टी नेतृत्वको सरकारलाई समर्थन गरेको पार्टीका उम्मेदवारले नमीठो हार चखाएका हुन् । योसँगै २०७० को निर्वाचनमा सिटौलासँगै पराजय बेहोरेका लिङदेनले भने बदला लिन सफल भएका छन् । दोस्रो संविधानसभाको निर्वाचनमा सिटौलाले १४ हजार ३ सय ५५ मत ल्याउँदा लिङदेनले ९ हजार २ सय ५३ मतका साथ हार बेहोरेका थिए ।
अन्य स्थानमा आफ्नो पार्टीसँग चुनावी तालमेल गरेको राप्रपाले झापा–३ मा लिङदेनलाई उठाउने निर्णय गरेपछि कांग्रेस र राप्रपाबीच मनमुटाव बढेको थियो । लिङदेनले उम्मेदवारी फिर्ता लिन नमानेपछि कांग्रेसले पनि सिटौलालाई उठाउने निर्णय गर्दै चुनावी मैदानमा होमिएका थिए ।

०४८ र ०५१ को संसदीय निर्वाचनमा पराजित सिटौला ०५६ सालको चुनावमा पहिलोपटक संसद् सदस्य भएका थिए । पूर्वगृहमन्त्री सिटौला ०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा भने झापा–३ बाटै पराजित भएका थिए । त्यसबेला उनी आपैmँ गृहमन्त्री थिए । हेभिवेट नेता पौडेल, गौतम र सिटौला पराजित हुँदा यो सूचीमा अन्य उम्मेदवार पनि परेका छन् ।

यो सूचीमा पटकपटक अर्थमन्त्री बनेका र नुवाकोटबाट अविछिन्न रूपमा जित हासिल गर्दै आएका नेपाली कांग्रेसका नेता डा. रामशरण महत पनि परेका छन् । उनी नुवाकोट–१ बाट माओवादीका हितबहादुर तामाङसँग ८ हजार ५ सय ५३ मतान्तरले पराजित भएका हुन् । तामाङले ३६ हजार ४ सय ७३ मत ल्याउँदा महतले २७ हजार ९ सय २० मत पाए ।

सत्ता र शक्ति केन्द्रमा पटकपटक पुग्दै आएका राप्रपा अध्यक्ष कमल थापाले पनि पराजय बेहोर्नु परेको छ । मकवानपुर–१ बाट राप्रपा अध्यक्ष थापालाई एमालेका कृष्णप्रसाद दाहालले ५ हजार ९ सय ७३ मतले पराजित गरेका हुन् । दाहालले ४० हजार ६ सय ३१ मत ल्याउँदा थापाले ३४ हजार ६ सय ५८ मत ल्याए ।

कांग्रेस नेता अर्जुननरसिंह केसी पनि पराजित हेभिवेट नेताको सूचीमा परेका छन् । नुवाकोट–२ मा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार नारायण खतिवडासँग केसी पराजित भएका हन् । उनी १० हजार ५ सय ५७ मतान्तरले पराजित भएका हुन् । खतिवडाले ३६ हजार ८ सय ९२ मत पाँउदा केसीले २६ हजार ३ सय ३५ मत प्राप्त गरे । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा र कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधी पनि पराजित हेभिवेट नेताको सूचीमा परेका छन् ।
कैलाली–५ बाट उम्मेदवारी दिएकी राणालाई निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नारदमुनी रानाले ४ हजार ८ सय ८० मतान्तरले पराजित गरे । उम्मेदवारी दिएलगतै धनगढीमा ३ करोडको घर किनेर चुनावी प्रचारमा जुटेकी राणालाई टुरिस्ट उम्मेदवारको रूपमा चर्चा गरिएको थियो । रानाले २७ हजार २ सय २ मत ल्याए भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत ल्याइन् । कांग्रेस नेता निधीले धुनषा–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोसँग पराजय बेहोरेका छन् ।

निधी महतोसँग २ हजार ९ सय ३ मतान्तरले पराजित भएका हुन् । निधीले २७ हजार ८ सय ४७ मत ल्याँउदा महतोले ३० हजार ७ सय ५० मत ल्याएर विजयी भएका हुन् । निधी र महतोबीचको चुनावी प्रतिस्पर्धालाई सबैले चासोका साथ हेरेका थिए । यो चुनावी लडाइँमा अन्ततः महतोले बाजी मारेका छन् भने निधीका लागि दुर्भाग्य भएको छ ।
पूर्वराजदूत तथा कांग्रेसका नेता दीपकुमार उपाध्यायका लागि पनि यो चुनाव फलिफाप भएन । भारतका लागि राजदूत रहेका उपाध्याय पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका थिए । कपिलवस्तु–१ बाट उम्मेदवारी दिएका उपाध्याय माओवादी केन्द्रका नेता चक्रपाणी खनाल बलदेवसँग ९ सय ४६ मतको थोरै अन्तरले पराजित भए । यो नतिजासँगै उनी पनि पराजित हेभिवेट नेताको सूचीमा परेका छन् । २९ हजार ७ सय ९९ मत ल्याएर खनाल विजयी हुँदा उपाध्यायले २८ हजार ८ सय ५३ मत ल्याए ।

हेभिवेटको चर्चामा रहेका वाम गठबन्धनका उम्मेदवार खगराज भट्टले पनि पराजय बेहोर्नु परेको छ । डडेल्धुराबाट प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गरेका माओवादी केन्द्रका नेता भट्ट प्रधानमन्त्री शेरबहादुर देउवाको निकटतम प्रतिद्वन्द्वी भएकाले पनि चर्चाको शिखरमा थिए । प्रधानमन्त्री देउवासँग भट्ट ६ हजार ९ सय २९ मतले पराजित भएका हुन् । २८ हजार ४४ मत पाएर देउवा विजयी हुँदा भट्टले २१ हजार १ सय १५ मत प्राप्त गरे । ०४८ सालदेखि डडेलधुराबाट लगातार विजयी हुँदै आएका देउवाको गृह जिल्लामाथि वाम गठबन्धनले यसपटक भने कांग्रेस किल्ला तोड्ने प्रयास गरेको थियो ।

भक्तपुर–२ मा कांग्रेसका पूराना नेता दमननाथ ढुंगानालाई एमालेका युवा नेता महेश बस्नेतले भारी मतले पराजित गरे । पूर्वसभामुख ढुंगाना र बस्नेतबीचको चुनावी प्रतिस्पर्धालाई सबैले चासोका साथ हेरेका थिए । यो प्रतिस्पर्धामा बस्नेतले बाजी मार्दा ढुंगानाले पाको उमेरमा पराजयको तितो अनुभूति गर्न बाध्य भए । ढुंगाना बस्नेतसँग झन्डै दोब्बर मतान्तरले पराजित भएका हुन् । बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर विजयी भएका हुन् भने पराजित ढुंगानाले १८ हजार ६ सय ८७ मत ल्याए ।

पछिल्लो समय राजनीतिमा मौलाएको फोहोरलाई सफाइ गर्न आपूm भएको भन्दै प्रचार गरेका ढुंगानाले पराजित भएपछि भने भूतले खाजा खाने बेलामा आपूm आएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया