दैलेखका सबै स्थानमा वाम गठबन्धन विजयी

दैलेख, २४ मंसिर । दैलेखका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र भएको दैलेखको प्रतिनधिसभा सदस्यमा क्षेत्र नं. १ बाट एमालेका रवीन्द्र शर्माले २३ हजार ७७३ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका केन्द्रीय सदस्य दीपककुमार शाहीले १७ हजार २५३ मत प्राप्त गरे ।

यसैगरी क्षेत्र नं २ बाट राजबहादुर बुढाले २३ हजार ३२३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शिवराज जोशीले १६ हजार ६३४ मत प्राप्त गरे ।

क्षेत्र नं १ को प्रदेशसभा (क) मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता धर्मराज रेग्मीले १० हजार ३६१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्व काँगे्रसका जिल्ला सभापति कृष्णकुमार विसीले आठ हजार ७६२ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा (ख) मा एमालेका अम्मरबहादुर थापाले १२ हजार ५६७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जगतजंग थापाले १० हजार ५८४ मत प्राप्त गरे ।

त्यस्तै क्षेत्र नं २ प्रदेशसभा (क) मा एमालेका सुशील थापाले ११ हजार ८४ मत प्राप्त गरी विजयी भएका छन् । उनले काँग्रेसका मधुविक्रम खनाललाई दुई हजार ७८६ मतान्तरले पराजित गरेका छन् ।

प्रदेशसभा (ख) मा एमालेका राजबहादुर शाहीले ११ हजार ४४५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दिक्पाल शाहीले आठ हजार ४६६ मत प्राप्त गरेका छन् ।

विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै धर्मराज रेग्मीले दैलेखको समग्र विकासमा आफ्नो योगदान हुने र वाम गठबन्धनले लिएको नीतिअनुसार जिल्ला र आफ्नो क्षेत्र समृद्धि गर्ने अभियानमा लाग्ने बताए ।

जिल्लाको आर्थिक अवस्था सुधार हुने, कामहरु प्रभावकारी ढंगले लागू गर्ने र आफूले कुनै पनि रकमको लोभ नगरेर जनताको हितका लागि काम गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

त्यस्तै जित भएपछि संक्षिप्त प्रतिक्रिया दिदैं अमर थापाले आफू दैलेखको सांसद हुँदा शुरु गरेका र पूरा हुन नसकेका ठूला विकासे योजना तत्काल पूरा गर्ने, दैलेख सदरमुकाम हुँदै महावु सडकखण्डकोे निर्माण कार्यलाई तीव्रता दिने, दैलेख सुर्खेत सडकखण्ड दुई लेनको बनाउने र दैलेखको समग्र विकास आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै युवा बेरोजगारी समस्या समाधान गर्ने कार्यमा आफू लागिरहने बताए ।

प्रतिक्रिया