पृथ्वीसुब्बाको शानदार जित

गोविन्द सुवेदी
पोखरा, २४ मङ्सिर । नेकपा एमालेका संगठन विभाग प्रमुख एवं प्रदेश नम्बर–४ को मुख्यमन्त्रीका दाबेदार पृथ्वीसुब्बा गुरुङ लमजुङको प्रदेश २बाट प्रदेशसभा सदस्यका लागि विजयी भएका छन् । एमालेका सचिवसमेत रहेका गुरुङले प्रतिस्पर्धि नेपाली कांग्रेसका उम्मेदवार कृष्ण कोइरालालाई ८ हजार ६६ मतको फराकिलोले पराजित गरेका हुन् ।

गुरुङले २३ हजार १ सय ८८ मत ल्याउँदा प्रतिस्पर्धी कोइरालाले १५ हजार १ सय २२ मत ल्याए । लम्जुङ प्रदेशसभा ‘२’मा ४१ हजार २ सय ७२ मत खसेको थियो । गुरुङले आफूलाई मतदान गर्ने सबै मतदाता र सबै शुभचिन्तक प्रति आभार प्रकट गरेका छन् । बिजयी भएपछि प्रतिक्रिया दिँदै उनले आफ्नो क्षेत्रको मात्र नभई समग्र प्रदेश नम्बर ४को विकासको खाका आफूले बनाइसकेको प्रतिक्रिया दिए । ‘प्रदेश नम्बर ४ लाई नै नमूना र उत्कृष्ट प्रदेश बनाउने खाका मैले बनाएको छु’ गुरुङले भने ।

प्रदेश नम्बर ४ को राजधानी बन्ने निस्चित रहेको पोखरामा निर्माण सुरु भएको क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थललाई तोकिएकै समयमा सम्पन्न गराउने । यहाँका पर्यटकीय सम्भावनाको उजागर गर्ने । कला संस्कृतिको संरक्षण गर्ने । काला संस्कृतिको उद्घम स्थलहरूलाई अनुसन्धानस्थल बनाउने उनले प्रतिक्रिया दिए । प्रदेश नम्बर ४मा बाम गठबन्धनले सुविधाजनक बहुमत ल्याउने उनले दाबी गरेका छन् । प्रदेश नम्बर ४मा ३ हजार मेगावाट बिजुली निकाल्न सकिने उनले बताए । यो लगायत यहीँ रोजगारमूलक उद्योग स्थापना गरेर विदेशीएका नागरिकलाई यहीँ रोजगार दिनेसमेत उनले योजना सुनाएका छन् ।

गाउँकै विद्यालयमा विज्ञान विषय पढाउँदा–पढाउँदै राजीनामा दिएर गुरुङ वि.सं. २०४३ मै जनपक्षीय उम्मेदवार बनेका थिए । उनी २०२७ मा ईशानेश्वरस्थित प्रमोद हाइस्कुल, भोर्लेटारमा अनेरास्ववियुको तर्फबाट स्ववियु सचिवमा निर्वाचित भएदेखि राजनीतिमा सक्रिय छन् । एमाले तेस्रो पार्टी बन्दा पहिलो संविधानसभाको निर्वाचन २०६४ मा उनी ६ हजार बढी मतले कांग्रेस उम्मेदवारलाई हराउँदै विजयी भएका थिए । तर, दोस्रो संविधानसभाको निर्वाचन ०७० मा उनी ६७२ मतले कांग्रेसकै उम्मेदवारसँग पराजित भए ।

यस अगाडि २ क्षेत्र रहेको लम्जुङमा अहिले १ क्षेत्र मात्र रहेको छ । उनी यसअगाडि लड्दै आएको क्षेत्र नम्बर दुई क्षेत्र अहिले उनी प्रदेश तर्फ लडेको क्षेत्र नै हो । तीन दशकयता हरेक पटक उम्मेदवार बनेपनि उनको यो दोस्रो जित हो, बाँकी पाँच पटक हारे । ०४३ मा ‘एक वाम–एक ठाम’ नारा दिएर चुनाव लडेका उनी यसपटक सबै जसो वाम दल समेटिएको गठबन्धनबाट साझा उम्मेदवार बन्दै विजयी भएका हुन् ।

संविधानसभा निर्वाचन ०६४ मा गुरुङले कांग्रेस उम्मेदवार दिलबहादुर घर्तीलाई ५ हजार ८ सय ८४ मतले पछि पार्दै विजयी भएका गुरुङ ०७० मा भने कांग्रेसका चन्द्रबहादुर कुँवरसँग ६ सय ७३ मतले पराजित भएका थिए । उक्त जिल्लामा ०४१ सालमा घरबारविहीनलाई घर बनाइदिने कार्यको वैचारिक नेतृत्व गुरुङले गरेका थिए । पञ्चायतविरुद्ध लाग्दा ३ महिना बढी उनले जेलजीवन बिताएका छन् । उनी यस अगाडि पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत बनेका थिए ।

प्रतिक्रिया