योगेशलाई आफ्नै जिल्ला फाप्यो

ताप्लेजुङ, २४ मङ्सिर । ताप्लेजुङमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले विजय हासिल गरेको छ । प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई क्षेत्र रहेको ताप्लेजुङका सबै स्थानमा वाम गठबन्धनले जित हासिल गरेको हो । जसमा प्रतिनिधिसभामा वाम गठबन्धनका साझा उम्मेदवार एमाले सचिव योगेश भट्टराई विजयी भएकान छन् भने प्रदेशसभा तर्फ ‘क’ क्षेत्रमा एमालेका जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ र ‘ख’ क्षेत्रमा माओवादी केन्द्रका टंक आङ्बुहाङ विजयी भएकान हुन् ।

विजयी वाम गठबन्धनले कांग्रेसका उम्मेदवारलाई फराकिलो मत अन्तरले पराजित गरेका हुन् । प्रतिनिधिसभामा प्रतिस्पर्धी मानिएका कांगे्रसका केसवप्रसाद दाहाललाई १२ हजार ५ सय ९१ मत अन्तरले पराजित गर्दै भट्टराई विजयी भएका हुन् । विजयी भट्टराईको २९ हजार ४ सय ७९ र पराजित कांग्रेस उम्मेदवार दाहालको १६ हजार ८ सय ८८ मत रहेको छ । एमालेका सचिवसमेत रहेका भट्टराई यस पटक वाम गठबन्धनबाट ताप्लेजुङमा प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए ।

को हुन् विजयी योगेश भट्टराई

एमालेका नेता योगेश भट्टराईको जन्म २१ भदौ ०२३ मा ताप्लेजुङको साँघुमा भएको हो । उनी बुबा भीमलाल भट्टराई र आमा महेन्द्रादेवीका पहिलो सन्तान हुन् ।  उनले समाजशास्त्र र मानवशास्त्र विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेका छन् । नेता भट्टराईले स्कूल पढ्ने वेला झापा विद्रोहको समय थियो । ताप्लेजुङ लगायतका जिल्लामा यसको प्रभाव परेकाले उनलाई पनि स्कुल पढ्ने समयमै बामपन्थी राजनीतिप्रति झुकाव बढ्यो । परिवारका सदस्यहरू पनि वामपन्थी पृष्ठभूमिकै थिए ।
यही क्रममा उनले २०३७ सालमा अनेरास्ववियुको राजनीति थाले । विद्यालयको प्रारम्भिक कमिटी हुँदै क्याम्पस कमिटीमासमेत बसेर भट्टराईले काम गरे । स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा समेत उनले पटक पटक भाग लिए । २०५१ सालमा उनी अनेरास्ववियूको अध्यक्ष भए । त्यसपछि एमालेको जिल्ला कमिटी, अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्यसम्म पुगे । हाल उनी एमाले सचिव तथा प्रचार विभाग प्रमुख छन् । नेता भट्टराई यसअघि २०६४ सालको पहिलो संविधानसभा चुनावमा पनि काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० सालको दोस्रो चुनावमा क्षेत्र नम्बर ५ बाट उम्मेद्वार भएका थिए । तर पराजित भएका थिए । यस पटक भने उनी आफ्नै गृह जिल्ला ताप्लेजुङबाट उम्मेदवार बनेका थिए ।

उनलाई ताप्लेजुङ फापेको छ । उनका प्रतिस्पर्धी मानिएका कांग्रेस उम्मेदवार दाहाल यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि फुङ्लिङ नगरपालिकामा एमालेकै छत्रपति प्याकुरेलसँग पराजित भएका थिए । ताप्लेजुङमा ५१ हजार ७ सय ४३ मत खसेको थियो ।

प्रदेशसभामा पनि वामकै वर्चस्व
ताप्लेजुङको प्रदेशसभा तर्फ क्षेत्र नंबर (क) बाट एमालेका बलबहादुर साम्सोहाङ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसकी लीला बोखिमलाई ४ हजार ४ सय ४३ मत अन्तरले पराजित गर्दै साम्सोहाङ विजयी भएका हुन् ।

विजयी साम्सोहाङको १५ हजार ४ सय १७ मत र पराजित कांगे्रसकी लीला बोखिमले १० हजार ९ सय ७४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्र्की जानकारी दिए । एमालेका जिल्ला अध्यक्षसमेत रहेका साम्सोहाङले कांगेसकी जिल्ला सभापतिसमेत रहेकी बोखिमलाई फराकिलो मत अन्तरले पराजित गरेका हुन् ।

यस्तै, प्रदेशसभातर्फ अन्य राजनीतिक दलहरूमा संघीय समाज फोरमका भक्तबहादुर एङदेनको १ सय ५८, राष्ट्रिय जनमुक्ति पार्टिका बलबहादुर लिम्बूको १ सय २२, नयाँशक्ति पार्टी नेपालका मानबहादुर गुरुङको २ सय ६७, राप्रपा राष्ट्रवादीका गायत्रीप्रसाद थेबेको ८४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय लिम्बुवान मञ्च, देउवबहादुर खुदाङको ८ सय ६१ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर ‘क’ मा २९ हजार १६ मत खसेको थियो ।

ताप्लेजुङको प्रदेशसभा ‘ख’ मा बामगठबन्धन तर्फका माओवादी केन्द्रका टंक आङ्बुहाङ विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी कांग्रेसका दिपेन्द्रकुमार सेन्दाङ्लाई ४ हजार ६ सय ११ मतले पराजित गर्दै विजयी बनेका हुन् ।

विजयि टंक आङ्बुहाङले १२ हजार १ सय ९८ मत प्राप्त गरेका छन् भने पराजित कांगसका दीपेन्द्रकुमार सेन्दाङले ७ हजार ५ हजार ८७ मत प्राप्त गरेका थिए । विजयी आङ्बुहाङ यसअघि ६३ सालमा माओवादी केन्द्रका तर्फबाट अन्तरिम विधायक रहेका थिए भने त्यसपछि भएका २ वटा संविधानसभाको निर्वाचनमा पराजित भएका थिए ।

यस्तै अन्य राजनितिक दलहरूमा संघिय समाजबादी फोरम, सुकविर लिम्बुको २ सय ३८, राप्रपा राष्टबादीकी सपना सामेखामको ८३, राष्टिय जनमुक्ति पार्टीका यामकुमार लिम्बुको २ सय २२, नयाँशक्ति पार्टीका विसाल लिम्बूको १ सय ६, माले जनसमाजबादीका कृष्णबहादुर लिम्बुको ३ सय ६१, र संघीय लोकतान्त्रिक राष्र्टिय मञ्चका संघीय लिम्बुवान मञ्च मुक्साम लाबुङको ६ सय ९६ मत रहेको छ । ताप्लेजुङको क्षेत्र नंबर ‘ख’ मा २२ हजार ७ सय २७ मत खसेको थियो ।

प्रतिक्रिया