प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका पहिलो १० नेता, कसको पृष्ठभूमि के ?

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत अहिले मतगणना जारी छ । राती १०ः३० बजेसम्मको प्राप्त जानकारीअनुसार वाम गठबन्धनले ८ स्थानमा विजयी प्राप्त गर्दा १ स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । अधिकांश स्थानमा वाम गठबन्धनकै उम्मेदवार अग्रभागमा छन् । निर्वाचनको मतगणना जारिरहेका बेला १० स्थानबाट विजयी सांसद माओवादी युद्धका छापामारदेखि बागी उठेका उम्मेदवारसम्म छन् । विजयी उम्मेदवारको पृष्ठभूमि कस्तो थियो त ?

पूर्वी रुकुममा वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी नेतृ कमला रोका विजयी भएकी छन् । उनले हरिशंकर घर्तीमगरलाई पराजित गरिन् । रोका प्रतिनिधिसभा निर्वाचनमा विजयी हुने पहिलो महिला हुन् । रुकुमको प्वाँङमा ०३२ साल १५ पुसमा जन्मेकी रोका माओवादी द्वन्द्वमा पहिलो महिला छापामार पनि हुन् । कक्षा १० पढ्दै गर्दा भूमिगत भएकी उनी ०५२ मा माओवादीको पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा होमिएकी थिइन् ।

०५३ मा माओवादी जिल्ला समिति सदस्य भएकी उनी ०६१ सालमा केन्द्रीय सदस्य बनिन् । अहिले उनी माओवादी केन्द्रमा पोलिटब्युरो सदस्य छिन् । युवा तथा खेलकुदमन्त्री बनेकी रोका पूर्वआपूर्तिमन्त्री पूर्ववाईसीएल अध्यक्ष गणेशमान पुनकी पत्नी हुन् । हिमालपारिको जिल्ला मनाङमा एमालेका पोल्देन छोपाङ गुरुङ विजयी भएका छन् ।

उनले कांग्रेसका टेकबहादुर गुरुङलाई पराजित गरे । पोल्देन मनाङका स्याउ कृषक हुन् । एसियाकै उत्कृष्ट स्याउ फारम चलाएका उनी ख्यातीप्राप्त किसान हुन् । उनले २०७० सालको संविधानसभा निर्वाचनपछि एमालेमा प्रवेश गरेका थिए । होटल व्यवसायी पनि रहेका उनी एमालेको मनाङ जिल्ला अध्यक्ष पनि हुन् । एक मात्र निर्वाचन केन्द्र रहेको हुम्लामा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन् ।लामाले कांग्रेसका मंगलबहादुर शाहीलाई ४७ मतले पराजित गरे । नेकपा माओवादीको पोलिटब्युरो सदस्य रहेका लामा पार्टीले आफूलाई टिकट नदिएपछि कलम चिह्न लिएर स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । पूर्वसांसद लामा पूर्वराज्यमन्त्री पनि हुन्। वाम गठबन्धनले उम्मेदवार बनाएका छिमिदोर्जे लामाले भने २ हजार ७ सय मत पाएका छन् ।

मुगुमा वाम गठबन्धनका गोपालबहादुर बम विजयी भएका छन् । बमले नेपाली कांग्रेसका उम्मेदवार हस्तबहादुर मल्ललाई पराजित गरे । बम नेकपा एमाले मुगुका अध्यक्ष हुन् । लामो समयदेखि एमालेको राजनीतिमा उनी सक्रिय छन् । डोल्पामा पनि वाम गठबन्धनका उम्मेदवार एमाले नेता धनबहादुर बुढा विजयी भएका छन् । ०७० सालको संविधानसभा निर्वाचनमा उनी डोल्पा क्षेत्र नम्बर–१ बाट प्रत्यक्षरूपमा विजयी सांसद हुन् ।

प्रमाणपत्र तह अध्ययन गरेका उनी ०६२÷६३ मा तत्कालीन राजा ज्ञानेन्द्रले मनोनीत गरेको जिल्ला विकास समितिका सभापति पनि हुन् । दाजु कर्णबहादुर बुढासँग राप्रपाको राजनीति गरेका उनी ७० सालमा एमाले प्रवेश गरेपछि संविधानसभा निर्वाचनमा टिकट पाएर विजयी भएका थिए । उनी ठेक्कापट्टाको काम गर्ने व्यवसायी पनि हुन् । म्याग्दीबाट वाम गठबन्धन उम्मेदवार एमालेका भूपेन्द्रबहादुर थापा विजयी भएका छन् ।

थापा ०४७ सालमा एमाले सदस्य भएर सक्रिय राजनीतिमा लागेका नेता हुन् । पार्टीको विभिन्न संगठनमा रहेर काम गरेका थापा ०५४ सालमा स्थानीय निकायको निर्वाचनमा तत्कालीन जिल्ला विकास समिति म्याग्दीको उपसभापति पनि भएर काम गरेका छन् । ५५ सालमा युवा संघको केन्द्रीय सदस्य भएका उनी ६२ मा एमाले म्याग्दीको जिल्ला सचिव भए । ७१ सालदेखि उनी एमाले वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

बझाङमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमाले नेता भैरवबहादुर सिंह विजयी भएका छन् । उनले कांग्रेसका पृथ्वीबहादुर सिंहलाई पराजित गरे । धेरैपटक चुनाव लडे पनि पराजित भएका सिंह वाम गठबन्धनको उम्मेदवार भएपछि विजयी बने । उनले ०४८, ०५१ र ०५६ मा प्रतिनिधिसभाको चुनाव तथा ०५७ सालमा राष्ट्रियसभामा पनि उम्मेदवार बने पनि पराजित भए । दर्जनौँपटक जेलनेल भोगेका सिंह ०३३ सालदेखि राजनीतिमा सक्रिय छन् ।

उनी अहिले एमालेको वैकल्पिक केन्द्रीय सदस्य हुन् । बाजुरामा पनि वाम गठबन्धनका उम्मेदवार एमाले नेता लालबहादुर थापा विजयी भएका छन् । थापाले काग्रेस नेता कविराज पण्डितलाई पराजित गरे । ०५४ सालमा जिल्ला विकास सभापति भएका थापाले ०४४ सालदेखि अनेरास्ववियुबाट राजनीति सुरु गरेका हुन् । कानुनका विद्यार्थी उनी पार्टी राजनीतिसँगै वकालती काममा पनि सक्रिय छन् ।

मुस्ताङबाट वाम गठबन्धनका उम्मेदवार एमाले नेता प्रेमप्रसाद तुलाचन विजयी भएका छन् । उनले कांग्रेसका रोमी गौचन थाकालीलाई पराजित गरे ।

०७० सालको संविधानसभा निर्वाचनमा गौचनविरुद्ध बागी उम्मेदवार बनेर पराजित भएका उनी केही समयअघि एमालेमा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया