खोजखबर

काठमाडौँ ९ मा एमाले, १० मा कांग्रेसको अग्रता

सौर्य अनलाइन २०७४ मंसिर २२ गते १६:३३ मा प्रकाशित

काठमाडौँ, २२ मंसिर । काठमाडौँ क्षेत्र नं ९ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रस्थानमा देखिएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता लिएका छन् ।

काठमाडौँ ९ मा गणना भएको तीन हजार ३५१ मध्ये श्रेष्ठले एक हजार ७६५ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका उम्मेदवार ध्यानगोविन्द रञ्जीतले ९३८ मत प्राप्त गरेको काठमाडौँ क्षेत्र नं ९ का मतदान अधिकृत विदुर काफ्लेले जानकारी दिए ।

त्यसैगरी विवेकशील साझा पार्टीका उम्मेदवार मिलन पाण्डेले ४१६ प्राप्त गरेका छन् । काठमाडौँ ९ मा ६७ हजार ६५१ मतदाता छन् भने यहाँ ४८.४७ प्रतिशत मात्रै मत खसेको हो ।

क्षेत्र नं १० मा अहिलेसम्म गणना भएको कूल मत दुई हजार ६०४ मध्ये नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसीले एक हजार ४५९ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यले ७९३ र विवेकशील साझा पार्टीका उम्मेदवार प्रदीप ढकालले ६३ मत प्राप्त गरेका छन् ।

काठमाडौँ १० मा ७१ हजार २०१ मतदाता छन् भने यहाँ ७७.३९ प्रतिशत खसेको छ । काठमाडौँ क्षेत्र नं ९ र १० को मतगणना नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय