विवादास्पद डा. चौधरी स्वास्थ्य सचिवको दौडमा

काठमाडौं, २२ मंसिर । स्वास्थ्य मन्त्रालयको रिक्त सचिवमा सरकारले नयाँ नियुक्ति गर्ने तयारी गरेको छ । स्वास्थ्य सचिव डा. किरण रेग्मीले चार दिन पहिले अनिवार्य अवकाश पाएपछि रिक्त पदका लागि प्रतिस्पर्धामा रहेका १२ औं तहका तीन उम्मेदवार मध्ये एकलाई सचिवमा नियुक्ति गर्ने सरकारले तयारी गरेको हो ।

तीन प्रतिस्पर्धी मध्ये डा. पुष्पा चौधरी सबैभन्दा विवादस्पद छविकी मानिन्छिन् । उनी आफूलाई सचिव बनाउन दौडधूपमा भने सबैभन्दा अघि देखिएकी छन् ।

चौधरीसंग आफ्नो जागिरको ३८ वर्ष राजधानी बाहिर सेवा गरेर १२ औं तहमा बढुवा भएपछि मन्त्रालय आएका डा।सुशिल प्याकुरेल र डा. विनोदमान श्रेष्ठ सचिवको दौडमा छन् ।

डा. श्रेष्ठले चार तिन महिनापछि अवकाश पाउने भएकाले चौधरीले सरकारका उच्च व्यक्तिलाई भेटेर आफूलाई नै सचिव बनाउन भनसुन गर्न थालेको सरकारी उच्च स्रोतको दाबी छ ।

दाम चढाएर स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक समेत भइसकेकी डा। चौधरी अहिले पनि एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको संयोजकका रुपमा रहेकी छिन् ।

कुनै पनि सरकारी अधिकृतले अर्को विदेशी संस्थाको सदस्य हुन र दुई ठाउँमा काम गरेर दोहोरो तलव सुविधा लिन नपाउने स्पष्ठ कानूनी व्यवस्था छ । चौधरीलाई दोहोरो सुविधा लिइरहेको आरोप मात्र होइन प्रमाण पनि छ ।

यस बिषयमा अख्तियार र स्वास्थ्य मन्त्रालयमा उजुरी पनि परेको थियो । तर रामजनम चौधरी स्वास्थ्य मन्त्री भएका बेला डा। पुष्पाले सबै फाइल मिलाएर मुद्दा मिलाउन लगाएको स्वास्थ्यका एक अधिकारीले बताए ।

डा. चौधरी स्त्री तथा प्रसूति रोग विशेषज्ञको पेसागत संगठन (नेसोग) र सोही समबन्धि अन्तर्राष्ट्रिय संगठन (फिगो)को सहकार्यमा सञ्चालित परिवार स्वास्थ्यसँग सम्बन्धित पिपिआईयूडी कार्यक्रमको संयोजकका रुपमा कार्यरत रहेको स्रोतको दाबी छ ।

सन् २०१५ देखि २०१७ को डिसेम्बरसम्म सम्झौता गरेकी उनले त्यस बाफत मासिक १ लाख ५० हजार (१५०० अमेरिकी डलर) अझै पनि लिइरहेकी छिन् ।

कुनै पनि सरकारी कर्मचारीले दोहोरो सुविधा लिए बर्खास्तमा पर्ने कानूनी प्रावधान रहेको स्वास्थ्य सेवा ऐनमा व्यवस्था छ । सामान्य प्रशासन मन्त्रालयले यस्ता कर्मचारीको सूची तयार पार्ने काम भइरहेको र उनीहरु माथि भित्री रुपमा अनुसन्धान समेत भइरहेको जनाएको छ ।

निजामती सेवामा रहेका राष्ट्रसेवकले गैरसरकारी संस्थामा आवद्घ भई पारिश्रमिकमा काम गर्न नपाइने मन्त्रालयले जनाएको छ । डा. पुष्पाले आफ्नो घर समेत आफ्नै पति डा। श्रवणकुमार चौधरीको नाममा सोही संस्थासँग मासिक ४० हजार लिने गरि भाडामा दिएकी छन् ।

सन् २०१५ देखि तीन वर्षका लागि गरिएको भाडा सम्झौतामा ४० हजार प्रति महिना भाडा, ४ हजार मर्मत र बार्षिक १० प्रतिसत भाडा बढाउने सम्झौता छ ।

राजजनम चौधरी स्वास्थ्य मन्त्री भएका बेला नियम विपरित विभागको निमित्त महानिर्देशक बनेकी चौधरीलाई सही नेतृत्व दिन नसकेपछि त्यसपछि स्वास्थ मन्त्री भएका गगन थापाले महानिर्देशकबाट हटाएर मन्त्रालय सरुवा गरेका थिए ।

डा. चौधरी नागरिकतामा उमेर हद विवादको घेरामा समेत रहेकी छन् । उनले उमेर ढाटेर नागरिकता लिएको स्रोतको दाबी छ । डा. चौधरीको माइती भारत हो ।

उपत्यका बाहिर गएर काम नगरेको, पैसाको बलमा सधै राजधानीमा रहेको, प्रसाशनको कुनै ज्ञान नभएको जस्ता आरोप उनलाई लागेको छ । स्रोतका अनुसार गत वर्ष विभागको महानिर्देशक बन्दा कर्मचारी सरुवामा डा. चौधरीले करोडौ चलखेल गरेकी थिइन ।

पैसाका भरमा सचिव बन्ने होडका रहेकी डा. पुष्पाका हरेक निर्णय र गतिविधि मन्त्रालयका चर्चा र विवादको बिषय बन्ने गरेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

प्रतिक्रिया