साउदी अरबद्वारा यमनलाई सशस्त्र हुठी समूह बाट मुक्त गर्न आग्रह

रियाद, २० मङ्सिर । साउदी अरबले इरानको सहयोग प्राप्त गरी आतङ्क मच्चाइरहेका हुथी विद्रोही लडाकूहरुबाट आफूलाई मुक्त गर्न यमनलाई आग्रह गरेको छ ।

यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको हत्या हुथी विद्रोहीले गरेपछि पहिलोपटक साउदी अरेबियाले हुथीका विरुद्धमा यो अभिव्यक्ति दिएको हो । तर उनको हत्याको बारेमा भने साउदीले कुनै धारणा सार्वजनिक गरेको छैन ।

साउदी अरब सरकारले सो आग्रह गरेको हो । साउदी अरेबियाको मन्त्रिपरिषदले विज्ञप्ति जारीगरी इरानको सहयोग प्राप्त गरेर हुथीहरुले यमनमा विखण्डनकारी राजनीति गरेकोले उनीहरुबाट यमनलाई मुक्त गर्नुपर्ने बताएको हो ।

यसै हप्तामात्र यमनका पूर्व राष्ट्रपति सालेहको त्यहाँ हत्या भएको छ । उनले यमनमा करिब ३३ बर्ष शासन चलाएका थिए । सालेहले सन् २०१४ पछि यमनी सिया हुथी विद्रोहीकै सहयोग लिएका थिए ।

सालेह सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको यमनको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएको बताइएको छ । यो कुराको पुष्टी यमनको गृह मन्त्रालयले गरेको थियो ।

पूर्व राष्ट्रपति सालेहले केही दिनमात्र अघि इरानको समर्थनमा रहेका हुथी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गरेका थिए । तर उनले तिनै विद्रोहीको सहयोगमा यमनको राजधानी सानामा तीन वर्ष जति शासन सम्हालेका थिए ।

प्रतिक्रिया