मिक्साङ वाइबा तामाङ काठमाडौं २० मंसिर । चुनावी प्रचारको क्रममा मंगलबार चपलीमा घरदैलो गरिरहँदा बम विष्फोटमा परी घाइते भएका कांग्रेस नेता गगन थापा टाउकोमा पट्टी बाँधेर त्रिवि शिक्षण अस्पतालबाट बाहिरिए । तर, सो अस्पतालमा उपचार गराएको घाइतेको सूचीमा थापाको नाम छैन । विष्फोटमा परेका घाइतेको अवस्थाबारे जानकारी लिन अस्पताल पुग्दा उपचार गराएको सूचीमा थापाबाहेक अन्यको नाम मात्रै सामेल थियो ।
‘कांग्रेस नेता गगन थापाको चाहिँ उपचार गरिएको सूचीमा किन नाम राखिएन भन्ने प्रश्नमा आकस्मिक कक्षमा चिकित्सकले थापालाई उपचार नगरिएको बताए । राजधानीको बूढानीलकण्ठस्थित चपली हाइटमा सोमबार चुनावी अभियानका क्रममा भएको बम विस्फोटमा परेर घाइते भएका थापालाई सामान्य चोट मात्र लागेको त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा. गोविन्द प्रधानले जनाए । थापाको कानमा सानो ‘स्क्र्याच’ जस्तो मात्रै भएको उनको भनाइ छ ।
‘गगनजीको कानमा अलिकति स्क्र्याच भएको जस्तो मात्र थियो,’ प्रवक्ता प्रधानले भने, ‘इनफेक्सन नहोस् भन्नाका लागि ब्यान्डेज लगाएको हो, उहाँ तत्कालै फर्किनुभयो ।’ प्रवक्ता प्रधानले बाहिर आएजस्तो थापालाई कुनै प्रकारको चोट नलागेको बताए । उनका अनुसार थापाको ढाडमा पनि सामान्य चोट देखिएको थियो । उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएका थापालाई आकस्मिक कक्षमा लगिएको केही समयमै अस्पतालका कार्यकारी निर्देशक डा. दीपक महराको कार्यकक्षमा लगिएर मलमपट्टी गरिएको उनले प्रष्ट पारे ।
निर्वाचन प्रचार कार्यक्रमअन्र्तगत काठमाडाैं क्षेत्र नम्बर ४ स्थित चपली हाइटमा सोमबार घरदैलो कार्यक्रमको क्रममा थापालाई लक्षित गरी बम विस्फोट गराइएको थियो । सो क्रममा थापासहित ११ जना घाइते भएको छन् । जसमध्ये मध्ये ७ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी ३ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
घुँडामा चोट लागेका राजकाजी श्रेष्ठ र खुट्टामा चोट लागेका जयराज लामिछानेको अहिले पनि शिक्षण अस्पतालमा नै उपचार भइहेको छ । श्रेष्ठलाई घुँडाको अपरेसनपछि पोस्ट वार्डमा सिफ्ट गरिएको छ भने लामिछानेको पनि सामान्य अवस्थामा उपचार भइरहेको प्रधानले जानकारी दिए । अर्का घाइते रेणु बडुवाललाई थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ । बडुवालकै आग्रहमा अस्पतालले उनलाई ट्रमा सेन्टर पठाएको र उनको अवस्था पनि खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
आकस्मिक कक्षमा उपचार भइरहेको जानकारी पाएर भेटन पुगेका गगनका प्रतिस्पर्धी एमाले नेता डा. राजन भट्टराईलाई भेटन नदिएर सहयोगीले दुव्र्यवहार गरेका थिए ।
प्रतिक्रिया