बेनी नगरपालिका साक्षर घोषित

सन्तोष गौतम

बाबियाचौर, १९ मंसिर । बेनी नगरपालिकालाई साक्षर घोषणा गरिएको छ ।

जिल्ला शिक्षा कार्यालयको संयोजन र नगरपालिका कार्यालयले सदरमुकामस्थित बेनी सामुदायिक मावि परिसरमा सोमबार आयोजना गरेको समारोहमा साक्षर घोषणा गरिएको हो ।

नगरपालिकाका ९६.८२ प्रतिशत नागरिक साक्षर भएको बताइएको छ ।

शिक्षा मन्त्रालयले १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकले अंक र अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर वडा, स्थानीय तह र जिल्ला घोषणा गर्न सकिने नीतिगत व्यवस्था गरेको छ ।

दश वटा वडा रहेको नगरपालिकालाई साक्षर घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले घोषणालाई व्यवहारमा प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने र निरक्षर समूहलाई विभिन्न कार्यक्रममार्फत साक्षर बनाएर साक्षरता प्रतिशत बढाउनुपर्नेमा जोड दिए ।

प्रजिअ कृष्णप्रसाद अधिकारीले साक्षरता दरमा भएको बढोत्तरीसँगै सामाजिक विकासको सूचकांक थपिने र समग्र विकासमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले हालसम्म ४५ मध्ये ३५ वडा साक्षर घोषणा भएको म्याग्दीलाई आगामी माघ ८ गते साक्षर जिल्ला घोषणा गर्ने निर्णय भएको जानकारी दिए ।

जिल्लाको साक्षरता प्रतिशत अहिले ९६.२७ प्रतिशत छ । बाँकी दश वटा वडालाई यही मंसिर महिनाभित्र साक्षर घोषणा गर्न लागिएको बताइएको छ ।

निरक्षरलाई अंक र अक्षर लेखपढ गर्न सिकाउने उद्देश्यले विसं २०६७ देखि साक्षरता कक्षा सञ्चालन हुँदै आएको छ ।

अवैध प्रयोगशाला

सदरमुकाम बेनीमा नियमनकारी निकायकै कार्यालय अगाडि कानुनी प्रक्रिया र मापदण्ड पूरा नगरी प्रयोगशाला सञ्चालन भैरहेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय र बेनी अस्पतालको प्रवेशद्वार नजिकै अस्पताल चोकमा रहेको कालीगण्डकी प्याथोलोजी सेवा नामको प्रयोगशाला दर्ताविना सञ्चालन भएको पाइएको हो ।

करिब दश वर्षदेखि सञ्चालित सो प्रयोगशालाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सिफारिस र जिल्ला जनस्वास्थ्य कार्यालयबाट अनुमति लिएर स्वास्थ्य संस्था सञ्चालन गर्नुपर्ने व्यवस्था पालना गरेको छैन ।

उक्त प्रयोगशालामा रगत, दिसापिसाब, बाथरोग, मधुमेह, कमलपित्त, विषमज्वर, एचआइभी र यौनरोगको परीक्षण हुने गरेको छ ।

अनुमति नलिई स्वास्थ्य सेवा सञ्चालन गरेको पाइएमा सो कार्य रोक्ने तथा कारवाही गर्ने अधिकार जिल्ला प्रशासन र जनस्वास्थ्य कार्यालयलाई छ ।

प्रयोगशाला सञ्चालनका लागि प्राविधिकले अनुमतिपत्र, पूर्वाधार र उपकरणलगायत मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था छ ।जनस्वास्थ्य कार्यालयका अनुसार म्याग्दीमा हाल तीन वटा मात्र प्रयोगशालाले अनुमति लिएर सञ्चालन भएका छन् ।

नेशनल ड्रग सेन्टरका सञ्चालक शम्भु पाण्डेले पाण्डे पोलिक्लिनिक प्रालि दर्ताका लागि निवेदन दिए पनि आवश्यक मापदण्ड र प्रक्रिया नपुगेकाले अघि बढ्न नसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सहायक प्रजिअ शोभाखर पोख्रेलले जिल्ला जनस्वास्थ्य कार्यालयसँंग समन्वय गरी तत्कालै बजार अनुगमन गरिने बताए ।

अनुगमनका क्रममा दर्ता नगरी स्वास्थ्य संस्था सञ्चालन गरेको भेटिएमा कानुनी दायरामा ल्याइने पोख्रेलले बताए ।

समाधिस्थल निर्माण

रघुगंगा गाउँपालिका-३ मा पर्ने राहुपारेको मरणघाटमा एक व्यक्तिको लगानीमा समाधिस्थल निर्माण भएको छ ।

घुमाउने ताल निवासी रामबहादुर शाहीले कालीगण्डकी नदी किनारमा समाधिस्थल र मलामीका लागि विश्रामस्थल निर्माण गरेका हुन् । समाधि र विश्रामस्थल निर्माणका लागि रु पाँच लाख लगानी भएको बताइएको छ ।

रानीपौवा र पिप्लेका बासिन्दाले सो ठाउँलाई दाहसंस्कारका लागि प्रयोग गर्दै आएका छन् । पूर्वाधार निर्माण भएपछि मलामीलाई सहज भएको छ ।

भारतीय गोर्खा सैनिकका सेवा निवृत्त शाहीले निवृत्तिभरण वापतको रकम खर्च गरेर समाधि र विश्रामस्थल बनाएको बताए । उनले निवृत्तिभरण वापतको रकम स्थानीय सामुदायिक विद्यालयलाई पनि सहयोग गरेका छन् ।

रानीपौवाको अमरसिंह आधारभूत विद्यालयमा रु एक लाख एक हजार २५१ को अक्षयकोष स्थापना गरेका शाहीले पिप्लेको रघुगंगा माविलाई रु एक लाख ११ हजार सहयोग गरेका छन् ।

प्रतिक्रिया