द्रव्यदान गरेर पार्टी प्रवेश गराउँदै देउवा

वाम गठबन्धनको लहर जब नेपालमा सुरु भयो तबदेखि कांग्रेसले आमनेपाली जनतामाझ नेपालमा एकतन्त्रीय कम्युनिज्म लागू हुन्छ । नेपालमा यदि वामपन्थीहरूको राज्य स्थापना भयो भने अधिकारका त कुरै छाडौँ अधिनायकवादमा त रुनसमेत पाइँदैन । कम्युनिस्ट भनेका तानाशाह हुन्छन् भन्ने जस्ता अशोभनीय र अपत्यारिला अफवाहहरू फैलाउँदै छ । कम्युनिस्ट शासन आयो भने लोकतन्त्रका मूल्य र मान्यता सबै खोसिन्छन् अनि जनताले निरंकुश तानाशाही वाम सरकारको चेपुवामा बाँच्नुपर्ने हुन्छ ।

देश ५०औँ वर्षसम्म क्युवा र उत्तर कोरिया बन्छ भन्दै नेपाली जनताका माझ कांग्रेसले प्रस्तुत गरेका अशोभनीय शब्दले बजार, गल्ली र टोलमा मतदाताहरूका माझ वायु प्रदूषण गरिरहेको अवस्था यतिखेर देखिन्छ । देशकै प्रधामन्त्रीसमेत रहेका शेरबहादुर देउवाले त ७ नम्बर प्रदेशका विभिन्न स्थानहरूमा जपेका भाषण र नेपाली जनतालाई दिएका फोस्रा आश्वासन आमबुद्धिजीवी अनि नागरिक समाजकाबीच व्यापक चर्चा र परिचर्चा हुन थालेको छ । देशको प्रधामन्त्रीले राजनीतिमा जुन खालको अपरिपक्वता देखाएका छन् यसबाट देश कतातर्फ डोरिँदै छ ।

र, देशले कस्तो प्रधानमन्त्री पायो होला भन्ने कुराले समेत बहस सिर्जना गरिदिएको छ । ७ नम्बर प्रदेशको डडेल्धुरामा आफू र कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा पत्नी डा. आरज राणा जुनसुकै हालतमा पनि चुनाव जिताउनका लागि प्रधामन्त्री देउवाले आफ्ना हुक्के ढुक्केहरूलाई लामो समयदेखि प्रयोग गर्दै आएका मात्र छैनन् उनले डडेल्धुरा र कैलाली–५ मा त बलियो सम्भावना भएका कांग्रेसका नेताहरूको राजनीतिक जीवन पूर्णविराम लगाइदिएका छन् । लोकतान्त्रिक पार्टीका सभापति अनि देशकै प्रधानमन्त्रीजस्तो व्यक्ति जसले विगतमा कांग्रेसभित्र परिवारवाद हावी भयो, कोइराला समूहले देश बर्बाद ग¥यो, लोकतन्त्रको उपहास भयो ।

प्रजातान्त्रिक पद्धती नै पार्टीले बिर्सेर गयो भन्दै नेपाली कांग्रेस (प्रजातान्त्रिक) को स्थापना गरे ।  जब उनी पार्टीमा बरिष्ठ नेता हुँदै सभापतिको पदमा आसिन भए अनि सुरु भयो देउवाको जंगली सयर । आज अरूलाई अधिनायकवादी भन्ने अनि ७ नम्बर प्रदेशमा गुटगत राजनीति हावी मात्र होइन पार्टीलाई पारिवारिक घेराभित्र राख्ने कुचेष्टा भएको भन्दै त्यसको व्यापक विरोध र असन्तुष्टि पनि बाहिर आइसकेको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि आफ्नै पत्नी डा. आरजुलाई अगाडि सार्नु र डडेल्धुरामा देउवा रहन्झेलसम्म अरू नेता कार्यकर्ताहरूले पीपलको छहारीमा रोपिएका सुन्तलाका बोट झैँ ताप नपाएर, पानी नपाएर सुकेर जानुपर्ने अवस्थाको सिर्जना गरिदिएको आरोप र आक्षेप देउवामाथि लाग्दै आएको पनि छ ।

कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ का कांग्रेसका सक्रिय नेता तथा कार्यकर्ताहरूमा निराश मात्र होइन अब आफ्नो राजनीतिक जीवन देउवा परिवारले समाप्त गरिछाड्ने भयो भन्ने त्रास बढेको छ । लामो समयदेखि पार्टीमा सहभागी हुँदै आएका नेता तथा कार्यकर्ताहरू यति बेला देउवाले अरूलाई अधिनायकवादको कुरा गर्ने तर आफैँले आफ्ना नेता कार्यकर्ताहरूमाथि लादेको दमन र एकाधिकारवादलाई किन अधिनायकवाद नभन्ने भन्दै त्यसको विरोधसमेत भित्रिरूपले गर्न थालिसकेका छन् ।

देउवाले आफूलाई जहिले पनि शक्ति र सत्ता अनि पार्टीभित्र छाइरहनका लागि डडेल्धुरा जिल्लामा साम, दाम, दण्ड, भेदको नीतिलाई अवलम्बन गरेका छन् । डडेल्धुरा जिल्लामा आफ्नो पराजय हुने पक्का ठानेपछि देउवाले खासगरी हिजोका दिनमा आफैँले पेलेका अनि ठेलेका नेता तथा कार्यकर्तादेखि लिएर डडेल्धुरा जिल्लामा रहेर समाजिक बहिष्करणमा परेका विभिन्न पार्टीका भ्रष्ट व्यक्तिहरूलाई ठूलो द्रव्य चढाएर पार्टी प्रवेशसमेत गराएका छन् । निर्वाचनको मुखमा सामान्य जनता वा स्थानीय कार्यकर्ता एक पार्टी छोडेर अर्को पार्टीमा प्रवेश गर्नु स्वभाविक पनि हो ।

तर, यस्ता व्यक्तिलाई उनले आफूलाई सघाउनका लागि तिकडमबाजी गरेका छन् कि त्यसको रामकहानी सुन्यो भने जो कोही अचम्मित मात्र होइन साँच्चै देउवाजस्ता व्यक्ति राजनीतिक भ¥याङ चढ्नका लागि जे पनि गर्न सक्दा रहेछन् भन्ने कुरालाई जनतामाझ छल्र्लंग पारिदिएको छ । सत्तामा पुग्दा जहिले पनि विवादले गन्हाउने प्रवृत्तिका देउवाले त डडेल्धुराका कुख्यात व्यक्तिहरू जो व्यक्तिले द्वन्द्वकालदेखि ७ नम्बर प्रदेशको प्राकृतिक स्रोत र सम्पदामाथि खेलबाड र दोहन गर्दै आएका छन्, कहिले माओवादी त कहिले राष्ट्रिय जनमोर्चामा रहेर राजनीतिक आडमा ७ नम्बर प्रदेशको हरियो वन विनास गरे तिनै व्यक्तिहरूलाई सौदावाजीको सर्तसहित पार्टी प्रवेश गराएर थप राजनीतिक फोहोरी खेलको झल्को देखाइदिएका छन् ।

‘पैसा देखे महादेवका तीन नेत्र’ भन्ने उक्ति डडेल्धुरा जिल्लामा प्रमाणित भएको छ । डडेल्धुराको प्रतिनिधिसभामा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य खगराज भट्ट र प्रदेशसभामा एमालेका पठानसिंह बोहरा र डा. तारा जोशी उम्मेदवार छन् । तीनै जना वामपन्थी नेताहरू लोकप्रिय र प्रभावशाली भएका कारण जतिसुकै सत्ताको दुरुपयोग गरे पनि देउवालाई चुनाव जित्न फलामको च्युरा चपाएसरह हुने देखिएको छ । यो अप्ठेरोलाई पार गर्न देउवाले नयाँ राणनीति तय गरेका छन् ।

चुनाव जित्न कठिन देखेपछि देउवाले जोगबुढाको जंगलमा डोजर लगाएर ट्रयाक खोली वन फँडानी गरेर करोडौंको काठ तस्करी गर्ने माओवादी केन्द्रका केन्द्रीय सदस्य जगत पार्कीलाई जोगबुढाको आलितालमा आयोजित चुनावी सभामा सर्तसहित ठूलो द्रव्य चढाएर पार्टीमा भित्र्याएको चर्चा यतिखेर ७ नम्बर प्रदेशमा व्यापक बन्दै गएको छ ।

चुरे वनक्षेत्रको एक सामुदायिक वनमा काठ काटिरहेको अवस्थामा एकीकृत माओवादीका केन्द्रीय नेता जगत पार्कीसहित ७ जना पक्राउमा परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयको टोलीले ०७१ मंसिर २६ मा आलिताल–६ स्थित सिद्धभगवती महिला सामुदायिक वन मेलगाँजामा काँचा सालका ६२ थान गोलिया काठसहित पार्कीलाई पक्राउ गरेको थियो ।

पार्कीविरुद्धको मुद्दा अख्तियारले विशेष अदालत हुँदै सर्वोच्च अदालतमा पु¥याएको छ । पार्की गएको स्थानीय निर्वाचनमा माओवादीबाट उमेदवार भई आलीताल गाउपालिकाको अध्यक्षमा पराजित भएका थिए । त्यो मुद्दा जिताइदिने भनेर देउवाले उनलाई कांग्रेसमा प्रवेश गराएका हुन् । देउवाले योग्यता र त्यागका आधारमा गाउँपालिकाको अध्यक्ष पनि नदिएपछि लोकराज भट्ट, किशोर विष्टजस्ता धेरै युवाहरू कांग्रेससँग रुष्ट छन् ।

पार्कीजस्ता काठ तस्करीमा बदनामलाई भित्र्याए पनि देउवालाई निर्वाचन जित्न निकै सकस परेको छ । यतिसम्मकी साविक कैपालमाण्डु गाविस हाल गन्यापधुरा–१ बाट माओवादी केन्द्रले पुरै वडासमेत स्थानीय निकायमा जितेको थियो, त्यो देउवाको पकड भएको वडा थियो । प्रतिनिधिसभाको निर्वाचन जित्न फलामको च्युरा चपाएसरह हुने ठानेपछि देउवाले वडाध्यक्ष चेतराम भट्टसहितको टिमलाई कांग्रेस पार्टीमा प्रवेश गराएका छन् ।

स्थानीयका अनुसार ठूलै रकम खर्चेर माओवादी केन्द्रका वडाध्यक्ष पार्टी प्रवेश गरेको बताइन्छ । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका परशुराम नगरपालिकाबाट एमालेले मेयरको टिकट दिई झिनोमतले पराजित तारीसिंह बोहरा, माओवादी केन्द्रका जनक कलौनी लगायतका नेताहरूलाई कांग्रेस प्रवेश गराउन देउवाले एक महिनादेखि साम, दाम, दण्ड, भेदको नीति लागू गरेको बताइएको छ ।

पार्कीसँगको के हो सौदाबाजी ?
जगत पार्कीलाई वनमाराका रूपमा हेरिन्छ ७ नम्बर प्रदेशमा । उनी स्त्रीका मामलामा पनि पटकपटक विवादमा तानिएका व्यक्ति हुन् । पार्कीले बैंग्लोरमा अध्ययनरत छोरीका लागि प्रधानमन्त्री राहत कोषबाट महिना दिनअघि ४ लाख भुक्तानी लिएका थिए ।उक्त रकम पनि देउवाले नै दिएका हुन् । ४४ करोड रुपैयाँको बिगो रहेको वन मुद्दा सर्वोच्चमा छ ।

यो वन मुद्दामा अति कम बिगो कायम गरी मुद्दा जिताइदिने भनी देउवाले पार्कीलाई प्रवेश गराउँदाको भाषणमै बताएका थिए । पार्कीसँगै वन मुद्दा लागेका १ सय २५ जना साल काट्ने आरोपीहरूलाई पनि मुक्त गराइदिने र उनकी आमा जो सामुदायिक वनको काठ तस्करीमा संलग्नलाई समेत मुद्दा फिर्ता गर्ने भाषण देउवाले आलितालको आमसभामा गरेका थिए । उनीमाथि लागेको वन मुद्दा फिर्ता गर्ने र वन मुद्दामा मुछिएका अन्य फरार व्यक्तिहरूलाई पनि उन्मुक्ति दिलाउने भन्दै ठूलो प्रपञ्च रचेर पार्कीलाई पार्टी प्रवेश गराइएको बुझिएको छ ।

कांग्रेसबाट रुष्ट भई अन्य पार्टीमा गएका र आफ्नै वडामा माओवादीले स्थानीय निकाय कब्जा गरेपछि उनीहरूलाई पार्टीमा प्रवेश गराउनका लागि डडेल्धुराको प्रसिद्ध देवता घटाल बाबा र उग्रतारा देवी देउता समेतलाई साक्षी राखेर भाकल गरिएको छ । उनीहरूलाई निर्वाचनमा सक्रियतापूर्वक लाग्नुपर्ने सो बमोजिम नगरे घटाल बाबाले परिणाम दिनेछन् जस्ता सर्तहरू पनि राखिएको बताइन्छ ।

 

प्रतिक्रिया