विश्व मानव समुदाय ७९औँ मानवअधिकार दिवस मनाउने चरणसम्म आइपुगेको छ । मानवअधिकारको विश्वव्यापी घोषणापत्र संयुक्त राष्ट्र संघको महासभाद्वारा अनुमोदन गरी सन् १९४८ जारी भएको मितिलाई आधार मानेर यो दिवस मनाउन थालिएको हो । वर्तमान विश्व मानव समुदायको सर्वाधिक चर्चाको विषय मध्येको एक विषय मानव अधिकार भएको छ ।
शिक्षितदेखि अशिक्षित प्राज्ञिकदेखि सर्वसाधारण सबैको चर्चाको विषय पनि मानवअधिकार नै हुने गरेको छ । घोषणापत्र आफैँमा दूरदर्शी र निष्ठापूर्ण भए पनि यसले प्रत्याभूत गरेका कुराहरू किन उल्लंघन भइरहेका छन् ? तिनको प्रत्याभूति हुन किन व्यवधान खडा भइराखेको छ ? फेरी पनि अमेरिकाजस्तो राष्ट्रमा राष्ट्रपतिको चुनावमा समेत फलानाले जिते तेस्रो विश्वयुद्ध हुन्छ भन्ने अभिव्यक्ति किन आए ?
अमेरिकाले आणविक हतियारको प्रचारप्रसार निर्माण प्रयोग एवं अभ्यासमा कसैल रोक लगाउन सक्दैन तर उही अमेरिका साना राष्ट्रहरूले गर्ने आणविक हतियारको अभ्यास प्रयोगमा भने एकोहोरो रोक धम्की नाकाबन्दी र दबाब दिइरहेको छ के मानवअधिकारको विश्वव्यापी घोषणापत्रको सार लक्ष यही हो त ? संसारमा युद्धजस्तो अति पासविक काम किन भइरहेको छ ? अझै पनि मानिसले आफ्ना अति आवश्यक अधिकारका लागि पनि संघर्ष गर्नुपर्ने अवस्था किन आएको छ ?
विश्वमा अझै आतंकवादी संगठन, सशस्त्र समूहको जन्म किन भइराखेको अवस्था छ ? किन नेल्सन मण्डेलाजस्ताले फेरि रंगभेदजस्ता मानवअधिकारको विश्वव्यापी घोषणापत्रले सम्बोधन गरिसकेको कुराका लागि पनि फेरी किन संघर्ष गर्नुप¥यो ? महात्मा गान्धीले किन सत्याग्रहको माध्यमले फेरी उपनिवेशविरुद्द स्वतन्त्रताको आन्दोलन गर्नुप¥यो ? फिडल क्यास्ट्रो किन अमेरिकाको नजरमा एक तानाशाहको पदवी पाउँदै छ ? सद्दाम हुसेनजस्ता शासक किन र कसरी जन्मन्छन् र फासीको सजाय पाउँछन् ? एक सिमानासम्मको विषयलाई लिएर देशहरू बीचमा र आधारभूत अधिकारका लागि आन्तरिक रूपमा पनि देशहरूभित्र किन सैनिक संघर्ष जारी छ ?
विश्वमा शरणार्थीहरूको संख्या किन बढिरहेको छ ? मानिसहरू किन घर्म, भूगोल, संस्कृति राष्ट्रियता एवं जातको आधारमा विभाजित हुँदै छन् ,आज प्राकृतिक प्रकोप, न्युनतम स्वास्थ्य सेवा र कुपोषणबाट वञ्चित भएर मात्र होइन एक छाक खान नपाएको भोकमरी समेतले लाखौँको संख्यामा मानिसहरू किन मरिरहेका छन ? कोही बेवारिसे अवस्थामा सडकमै रात बिताउन बाध्य छन् ? भने अर्कातिर विश्वकै सर्वाधिक धनी मानिने अमेरिकाका निर्वाचित राट्रिपति ट्रम्प जस्ता मानिसहरू निर्वाचनको माध्यमले चुनाव जितेर राष्ट्रपतिजस्तो सर्वोच्च पदमा मात्र पुगेका छैनन् कोही मंगलग्रहमासमेत घर बनाउने र सरकारको भन्दा बढी सम्पत्ति भएको हैसियतमा छन् ।
आज फेरि विश्वमा अणुबम परमाणु बमको धक फिजाइएको छ ? आखिर यस्तो किन भएको हो विश्व मानव समुदायका सदस्यलाई आवश्यक पर्ने सबै अधिकारको प्रत्याभूति मानवअधिकारको यो विश्वव्यापी घोषणापत्रले दिइरहँदा पनि र यसको लागि आवाज उठाउने सरकारी तथा गैसरकारी संघसंस्था थपिरहँदा पनि यिनै अधिकारका लागि फेरि मानव समुदाय संघर्षरत गर्नुपर्ने अवस्था किन परिरहेको छ ? मानवअधिकारको विश्वव्यापी घोषणापत्रको यो आफैँमा दुःखदायी पक्ष त छँदै छ तर यसको साटो मानवअधिकारको उक्त घोषणापत्रको कमजोरी र यसको पक्षमा वकालत गर्ने संघसंस्था र हामी मानव समुदायका सदस्यहरूको कमजोरी पनि केलाउनु आवश्यक छ ।
अन्तर्राष्ट्रिय कानुनअनुसार मानवअधिकारको उक्त घोषणापत्रलाई हाम्रो सही र गलत छुट्याउने एक मापदण्ड माने पनि उक्त घोषणापत्र कानुनी बन्धनको नभई एक नैतिक बन्धनको मात्र मानिन्छ । भाषण गर्ने बेलामा नैतिकताको उच्च बखान गर्ने खासगरी शासक वर्ग, तिनको अनुयायी गर्ने मानव समुदाय यो घोषणापत्रको प्रचारको अभावले वा ज्ञानको अभावले वा नैतिकताको अभावले बलमिच्याइपूर्वक समाजको उपल्लोस्तरमा बसिराखु भन्ने वर्ग तथा यस माथिको कानुनी बन्धन दण्ड सजायको कमजोरीको फाइदा उठाएर अनुसरण नगर्ने अधिकारी वर्ग सबैको कमजोरीको फलस्वरूप नै यसको उल्लंघन भएको छ भनेर भन्न सकिन्छ ।
नैतिकताको बन्धन कानुनी बन्धनभन्दा बढी बलियो हुनुपर्ने उक्त घोषणापत्रको आदर्श भए पनि घोषणापत्रको धारा २९ मा प्रत्येक व्यक्तिको समाजप्रति पनि कर्तव्य छन् र त्यस्तो समाजमा बसेर मात्र व्यक्तिको पूर्ण विकास सम्भव छ भन्ने यो घोषणापत्रले व्यवस्था गर्दागर्दै पनि आफू अधिकार मात्र खोज्ने र समाजप्रतिको नैतिक कर्तव्य पूरा नगर्ने र समाजमा केही योगदान गरेजस्तो गरेर भ्रम सिर्जना गरी त्यसको आडमा झन् बढी विरासत खोज्ने अमानवीय, अनैतिक, छट्टुचाल, कार्यान्वयन गर्ने अंगहरूको स्वार्थी मनोवृत्ति कार्यान्वयन गर्ने निष्ठा प्रतिवद्धता एवं क्षमताको अभाव, शक्तिशाली राष्ट्र तथा मानव समुदायले साना र कमजोर राष्ट्र तथा मानवलाई पेल्न खोज्ने प्रवृतिबाट नै मानवअधिकारको उक्त घोषणापत्रको झन् बढी उल्लंघन भई समाजका कमजोर वर्गले अहंकारी एवं शक्तिशाली वर्गसँग आफ्ना नैसर्गिक अधिकारका लागि संघर्ष गर्नु परिरहेको तीतो यथार्थ हो ।
मानवअधिकारको यो विश्वव्यापी घोषणापत्र सन् १९४८ जुन रूपमा आयो त्यो सहजै तरिकाले आएको थिएन । होलोकास्ट नाजीहरूद्वारा गरिएको क्षतविक्षत, उपनिवेशद्वारा विभाजित तथा असमानताबाट ग्रस्त तत्कालीन द्वन्द्वत्तर विश्वमा धर्म, वर्ण, जाति, उत्पति, भाषा, भूगोलको लफडाबीच आएको हो । मानव जातिको अन्तर्निहित मर्यादा, स्वतन्त्रता एवं समानताप्रति विश्वव्यापी रूपमा दूरदर्शी एवं साहसिक भावनाले निष्ठापूर्ण प्रतिवद्धता गरिएको दस्तावेजको रूपमा रहेको मानवअधिकारको विश्वव्यापी घाषणापत्र सन १९४८ आफैँमा एक अद्वितीय प्रकृतिको दस्ताबेज हो ।
मानिसका लागि विश्वव्यापी र व्यक्तिगत सन्दर्भमा मानवअधिकारको परिभाषा गरी संसारका ३ सय ६० भन्दा बढी भाषामा यो घोषणापत्र उपलव्ध छ । संसारमा सबभन्दा बढी अनुदित हुनुले पनि यस घोषणापत्र प्रतिको विश्वव्यापी निष्ठा बलियो प्रमाण हो । यसले नव स्वधिन राष्ट्र तथा नवलोकतान्त्रिक मुलुकका संविधानहरूलाई मात्र प्रेरित गरेको छैन वर्तमान अवस्थामा हामीले भन्ने गरेको सही र गलत छुट्याउने मापदण्डको रूपमा समेत यो दस्तावेज रहेको छ । प्रथम तथा द्वितीय विश्वयुद्धको विनास लीला, दमन, उपनिवेश हिंसा एवं विभाजनको बीचबाट आएको यो घोषणापत्र यसका मस्यौदाकार, रचयिताहरूको दूरदर्शिता, अनुभव साहसिक एवं न्यायिक समर्पण भावको उत्कृष्ट नमुना पनि हो ।
यसको प्रस्तावनामा भनिएको छ –‘मानव परिवारका सबै सदस्यहरूको अन्तरनिहित प्रतिष्ठा, समान र अविछिन्न अधिकारहरूको मान्यता नै विश्वमा स्वतन्त्रता, न्याय र शान्तिको आधार भएकोले मानवअधिकारको अपहेलना र अनादरको परिणाम स्वरूप मानव जातिको अन्तस्करणलाई नै आहात गर्ने बर्बरतापूर्ण कामहरू भएको र मानव जातिले आस्था र वाकस्वतन्त्रताको तथा भय र अभावबाट मुक्तिको उपभोग गर्न पाउने विश्वको अभ्युदय गराउनु नै सर्वसाधारण जनताको घोषित सर्वोच्च आकांक्षा भएकोले ।’ संसारको सौन्दर्य भन्नु नै विश्व मानव समुदायबीचको संस्कार, संस्कृति, भाषा, भूगोल, धर्म, वर्ण आदि बीचको विविधता हो ।
तर, आज यसै कुरालाई लिएर मानव समुदायका बीचमा विभाजनको मुर्खतापूर्ण अवस्थाको सिर्जना हुनु नै मानवअधिकारको विश्वव्यापी घोषणापत्रप्रतिको अपमान हो यसको उल्लंघन हो । मानवअधिकारको विश्वव्यापी घोषणापत्रले यसको प्रचारगरी यसको शिक्षा दिने कुरा त ग¥यो तर कस्तो शिक्षा दिने कसरी मानवअधिकार संस्कृतियुक्त जनशक्ति तयार कसरी पार्ने र त्यसका योजना यसले दिन सकेन र नैतिक बन्धन लिएका यसका सञ्चालकले पनि त्यस्तो तत्परता देखाएनन् फलस्वरूप यसको उल्लंघन भइरह्यो ।
घोषणपत्र जनित वा सन्धिजनित कहीँ कार्यान्वयन गर्ने अंगको व्यवस्था भए पनि त्यो सर्वसुलभ र पहुँच योग्य छैन । आज यसैको प्राप्तीका लागि केही वर्ग तह एवं तप्काका मानव समुदायको संघर्ष जारी छ ।
प्रतिक्रिया