विद्युतीय पुस्तकालय सञ्चालन

चितवन, ७ मंसिर । पूर्वी चितवनको राप्ती नगरपालिका– ७ स्थित शिरकोट विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन गरिएको छ । आयरल्याण्डमा रहेका नेपाली तथा जिल्ला शिक्षा कार्यालय चितवनको आर्थिक सहयोगमा सो विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरिएको हो ।

चन्दादाताबाट रु तीन लाख ४८ हजार, जिल्ला शिक्षा कार्यालयबाट रु दुई लाख ४० हजार तथा आयरल्याण्डका नेपाली र अन्य विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले पुस्तकालय स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक उमाकान्त भट्टराईले जानकारी दिए ।

विद्युतीय पुस्तकालयमा १५ वटा कम्प्युटर राखिएको छ । पुस्तकालय स्थापनाको लागि पूर्वी चितवनको वीरेन्द्रनगर घर भएका नेपाल आयरल्याण्ड समाजका महासचिव गंगाराम कँडेलको पहलमा आर्थिक संकलन गरिएको थियो ।

नेपाल आयरल्याण्ड समाजले १५ जना गरिब असहाय तथा जेहेन्दार विद्यार्थीलाई एक वर्षका लागि चाहिने छात्रवृत्तिसमेत वितरण गरेको चेपाङ संरक्षण केन्द्रका केपीकिरण शर्माले जानकारी दिए ।

प्रतिक्रिया