पुँजी बजारमा पहिरो

नेपालको सेयर बजारमा पनि बेलाबेलामा मुग्लिन नारायणगढ सडक खण्ड जस्तै पहिरोले अवरोध पु¥याइरहेको जस्तै हुन्छ । सेयर बजार गएको २ सातादेखि निरन्तर ओरालो लागेको थियो । २३ गते बिहीबार नेप्से १ हजार ४ सय ६० दशमलव ७३ अंकमा बन्द भएको थियो । हुन त नेप्से घट्ने भनेको सामान्य हो, सेयर बजारमा नेप्से घट्ने बढ्ने भइरहन्छ ।

सेयर बजारमा नेप्से घट्ने बढने सेयर बजारको विशेषता नै हो भन्दा फरक नपर्ला तर विगत २ सातादेखि सेयरबजार निरन्तर ओरालो लागेकोले कतिपय लगानिकर्ताहरूले भनाइमा यो अस्वभाविक हो भन्ने पनि गरेका छन । अहिले सेयर बजार यतिको घट्न पर्ने अवस्था भने थिएन । कतै सेयरबजारमा चलखेल त भइरहेको छैन त भनेर पनि चर्चा हुन थालेका छन् । अहिलेको समयमा सेयर बजार निरन्तर ओरालो लाग्नुपर्ने बलियो कारण पनि छैन ।

सेयरबजार निरन्तर ओरालो लागेको कारणले लगानिकर्ताहरू निराश भएका छन् । लगानिकर्ताहरू सेयर खरिद गर्न डराइरहेका जस्तो देखिन्छ । सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरू पनि अन्योलमा छन । सेयरबजार नेप्से घटिरहेको कारणले कतिपय लगानिकर्ताहरू अझ घट्ने हो कि भनेर हतोत्साही भइरहेका छन् । फेरि घट्ने हो कि भनेर लगानीकर्ताहरू सेयर बिक्री गर्न तर्फ लागेको देखिन्छ । बजारमा सेयरको आपूर्ति बढेको कारणले पनि सेयर खरिद गर्न उत्साह नआएको देखिन्छ ।

सेयर बजारका सामान्य लगानीकर्ताहरूको मनोविज्ञानलाई हेर्दा पनि कतिपय लागानीकर्ताहरू सेयरबजार बढेको बेला अझ बढ्छ कि भनेर सेयर किन्ने गर्छन् भने घटेको बेला अझ घट्छ कि भनेर आत्तिएर बिक्रि गर्नतर्फ लाग्छन् । यसले पनि सेयरबजार ओरालो लाग्नमा मद्दत पुग्ने हुन्छ । कतिपय लगानीकर्ताहरू हेर र पर्खको स्थितिको अवस्थामा रहेका हुन्छन् । अहिलेको समय भनेको सेयर बजार र सेयरधनीहरूको लागि महत्वको समय हो । अहिलेको समयम विभिन्न कम्पनीहरूले समीक्षा अवधिको लाभांश घोषणा गर्न समय हो ।

विभिन्न कम्पनीहरूले धमाधम लाभांशहरू पनि घोषणा गरिरहेका छन् । विगतमा भए अहिलेको समयमा नेप्से बढ्ने समय हो तर पछिल्लो समयमा विभिन्न कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहँदा पनि नेप्से बढ्नुपर्नेमा झन् घटिरहेको छ । हुन त अहिले देशमा निर्वाचनको माहोल छ । देशमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन गइरहेको छ । निर्वाचनले सेयरबजारमा केही प्रभाव पारेको पनि हुन सक्छ । देशको राजनीतिले सेयर बजारमा प्रभाव पारेको हुन्छ । देशमा राजनीतिक उथलपुथलसँगै सेयर बजारमा पनि उथलपुथल हुने गरेको छ ।

देशमा सरकार परिवर्तन, राजनीतिक दलहरू टुट्ने, फुट्ने, जुट्ने, राजनीतिक आन्दोलन र निर्वाचनले पनि सेयर बजारमा प्रभाव पारेको हुन्छन् । तर, अहिलेको अवस्थालाई हेर्दा सेयरबजारमा पहिरो जानुको कारण राजनीतिकभन्दा पनि सेयर बजारमा सेयरको आपूर्ति बढेर हो ।  बैंक तथा वित्त कम्पनीहरूले नेपाल राष्ट्र बैंकले तोकिएको समयमा तोकिएको पुँजी पु¥याउनुपर्ने भएकोले सेयरधनीहरूलाई हकप्रद सेयरको भारी बोकाइएको छ। आफ्नो पुँजी बढाउनको लागि सेयरधनीहरूलाई हकप्रद सेयरको भारी बोकाइ पुँजी बढाएका कारण पनि सेयरको मूल्य घटेको हो ।

कतिपय कम्पनीहरूले २ वर्षमा ३ पल्टसम्म पनि हकप्रद सेयरको भारी बोकाइ सेयरधनीहरूलाई दुःखसमेत दिए । जसको कारणले सेयर बजारमा सेयरको बाढी नै आयो । बजारमा सेयरको आपूर्ति बढ्यो । मागभन्दा आपूर्ति बढेको कारणले सेयरबजार ओरालो लागेको हो । अर्थशास्त्रको सिद्धान्तले पनि यसै भन्छ । बैंक तथा वित्त कम्पनीहरूले सेयरधनीहरूलाई हकप्रद सेयरको भारी बोकाइ बोकाइ पुँजी त बढाए तर पुँजी बढे अनुसारको आम्दानी नाफा बढाउन नसकेको कारणले कम्पनीहरूको प्रति सेयर आम्दानी घट्यो ।

कतिपय बैंक तथा वित्त कम्पनीहरूले आम्दानी पनि नबढाएका होइनन् तैपनि पुँजी बढे अनुसारको नाफा भने बढाउन असफल भए । कम्पनीहरूको प्रति सेयर आम्दानी घटे पछि सेयरधनीहरूले पाउने लाभांश पनि घट्ने भयो । यसकारणले पनि अहिलेको समयमा पनि सेयरका लगानीकर्ताहरूमा उत्साह नदेखिएको हो । विगत २ वर्षदेखि बैंक तथा वित्त कम्पनीहरूले बोनस सेयर मात्र वितरण गर्नुपर्ने नीति र ३÷४ सयको प्रतिशतमा हकप्रद सेयरहरू जारि गर्ने गरेकोले यस अबधिमा सेयरधनीहरूसँग सेयरको थुप्रो नै भयो । यसकारणले पनि लगानीकर्ताहरू सेयर बिक्री गर्नपट्टि लागेको जस्तो देखिन्छ ।

बजारमा सेयरको आपूर्ति बढेसँगै सेयर बजारमा खरिदकर्ता तथा लगानीकर्ताहरू भने बढ्न सकेनन् । सेयरबजारमा प्रवेश गर्दा घाटा खाइन्छ कि भनेर उनीहरू हेर र पर्खको अवस्थामा छन् । सरोकारवालाहरू सेयरबजारका नियमन निकायहरूले लगानिकर्ताहरू बढाउनका लागि कुनै पाइला चालेको देखिएन । सेयरबजारमा गैर आवासीय नेपालीहरूलाई ल्याउने र पूर्ण अनलाइनबाट सेयर कारोबार गर्ने भनेको त ‘आकाशको फल आँखा तरी मर’ भन्नेजस्तो भएको छ ।

पछिल्लो समयमा सेयर बजारको बारेमा, नेप्सेको बारेमा सेयरको मूल्यको बारेमा सञ्चार माध्यमहरूमा खासगरी टेलिभिजन च्यानलहरूमा प्रभावकारी कार्यक्रम आएको पाइँदैन । सेयरबजारको कार्यक्रमहरूमा सेयरबजारका विश्लेषक विज्ञ र सेयरबजारका जानकार भनिनेहरूले कार्यक्रममा आएर नेप्से यति अंकसम्म बढ्छ यति अंकसम्म घट्छ यो कम्पनीको सेयर मूल्य यतिसम्म बढ्छ र यतिसम्म घट्छ भनेर हचुवाका आधारमा आफ्ना भनाइहरू राख्ने गरिरहेका छन् ।

सार्वजनिक मिडियाहरूमा त्यो पनि सेयरसम्बन्धी कार्यक्रममा यस्तो भनाइ राख्न उचित हो ? हुनसक्छ कहिले संयोगले मिल्न पनि सक्छ यसले लगानीकर्ताहरूमा अन्योलता बढ्छ । लगानीकर्ताहरू आत्तिन्छन्, हतोत्साहित हुन्छन् । सेयर बजारका विज्ञ विश्लेषक भनिनेहरूले आफू सेयर बजारका जानकार भएको देखाउँदा लगानीकताहरू आत्तिन सक्छन् । यसमा टेलिभिजनका कार्यक्रमका सञ्चालकहरूले पनि ध्यान दिनुपर्ने हुन्छ । सेयरबजारमा हल्लाले काम गरेको हुन्छ ।

सेयर बजारलाई हल्लाले हल्लाउने पनि गरिन्छ । कतिपय लगानीकर्ताहरू हल्लाको पछि पनि लागेका हुन्छन् । सेयर बजारका लगानीकर्ताहरू कुनै पनि हल्लाको पछि लाग्नु हुँदैन । लगानीकर्ताहरूले सेयरबजार र कम्पनीहरू सम्बन्धी प्रर्याप्त जानकारी राख्नु पर्दछ । लगानीकर्ताहरू निरन्तर सचेत हुन पर्दछ । केही दिन नेप्से घट्यो भन्दैमा डराउनुपर्ने आत्तिनुपर्ने, हतोत्साही हुनुपर्ने कारण छैन । सेयर बजार सधैँ बढिरहने र सधैँ घटिरहने हुँदैन । नेप्से त घट्ने बढ्ने भइरहन्छ ।

प्रतिक्रिया