प्रशासन दयाले होइन न्यायले चल्नुपर्दछ

प्रशासन दयाले होइन न्यायले चल्ने वातावरण र संस्कारको विकास वर्तमानमा खट्किएको आवश्यकता हो । काँधमा जिम्मेवारी, हृदयमा इमानदारी, मस्तिष्कमा समझदारी भएको पेसाप्रति समर्पित जनशक्ति तथा साधनस्रोत सम्पन्न चित्ताकर्षक व्यवस्थापन सुशासनका लागि आधारभूत सर्त हुन् । निजामती सेवालाई स्थायी सरकारको रूपमा लिइन्छ । वर्तमानमा निजामती सेवालाई निष्कलंक, निष्पक्ष र जवाफदेही बनाउन चुनौति देखिएका छन् ।

राजनीतिक हस्तक्षेपका कारण निजामती सेवा अक्रान्त भएको परिवेशमा सुशासन कागजमा मात्र सीमित नहोला भन्न सकिन्न । मौजुदा संरचना र अवस्थालाई चुस्त र दुरुस्त व्यवस्थापन गर्न सकेमा लक्ष्यको नजिक पुग्न सकिने यर्थाथतालाई बिर्सनु हुँदैन । व्यवस्थापन परीक्षणले संगठनको उद्देश्य, नीति, योजना, संरचना, स्रोत साधनको प्रयोग तथा कार्य सम्पादन र प्रक्रियाहरूको सुपरीवेक्षण, अनुगमन र मूल्यांकन गरी संगठनमा नियन्त्रण तथा सुधार गर्दै गतिशील संगठन र जवाफदेही प्रशासन निर्माण गर्न मद्दत पु¥याउँछ ।

यसले संगठनको सम्पादित क्रियाकलापहरूको मात्रै मूल्यांकन नगरी संगठनको नीति, नियम, कानुन, योजना, संगठनातमक लक्ष्य र उद्देश्य, संगठनात्मक संरचना, मानव स्रोतको अवस्था र त्यसको परिचालन, संगठनको आर्थिक तथा भौतिक अवस्थालगायत समग्र पक्षको सुपरीवेक्षण र मूल्यांकन गर्दछ । जसले व्यवस्थापनको गुणस्तरलाई उन्नत बनाई कार्यसम्पादनमा नतिजा केन्द्रित रहन सहयोग गर्दछ । सेवाग्राही सन्तुष्टि हुने गरी नियमानुसार गुणस्तरीय छरितो सेवा प्रदान गर्नु नै सुशासन हो । सुशासनको प्रत्याभूति दिन व्यवस्थापकीय पक्ष वैज्ञानिक एवं निष्कलंक तथा चुस्तदुरुस्त हुनुको विकल्प छैन ।

राज्यकातर्फबाट नागरिकलाई प्रदान गर्नुपर्ने सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउने गरी स्थापना भएका निकायहरूले गर्ने समग्र कार्यको सुपरीवेक्षण, निरीक्षण, जाँच वा अनुगमन तथा मूल्यांकनलाई नै व्यवस्थापन परीक्षण भनिन्छ । व्यवस्थापन परीक्षण प्रशासन सञ्चालनको एक महत्वपूर्ण व्यवस्थापकीय औजार हो । यसले आन्तरिक नियन्त्रणको प्रभावकारिता र उपयुक्तताको मूल्यांकन गरी नतिजामा जोड दिई कारण र प्रभावको विश्लेषण गर्दछ । सार्वजनिक प्रशासनका हरेक तहमा यसलाई अवलम्वन गरी पूर्ण कार्यान्वयन गर्न सकेको खण्डमा नतिजा उन्मुख प्रशासनको विकास भई गुणस्तरीय सुशासन कायम गर्न महत्वपूर्ण योगदान पुग्छ । व्यवस्थापनलाई जीवन्त राख्दै लोकप्रिय बनाउन समयानुकूल अध्यावधिक गर्दै जानुपर्दछ ।

व्यवस्थापकीय परिष्कृतका क्रममा मौजुदा अवस्थाको वस्तुनिष्ठ पहिचान पहिलो शर्त हो । यसरी सबल र दुर्बल पक्षहरू केलाएर अनावश्यक कुराहरू निफन्न व्यवस्थापन परीक्षणबाट प्राप्त सूचना बढी विश्वसनीय हुने वास्तविकता हो । संघसंस्थाहरूमा सबैखाले साधानस्रोतको उच्चतम परिचालन गरेर सुगमतापूर्वक निर्धारित लक्ष्यमा पुग्न व्यवस्थापन परीक्षणबाट प्राप्त सूचनाहरूले मार्गदर्शनको भूमिका खेल्दछ । अनावश्यक भद्दा तथा आउटडेटेड व्यवस्थापकीय पद्दति र पक्षलाई निरुत्साहित गर्दै नविन आविष्कारलाई प्रयोगमा ल्याउन परीक्षणले अहं भूमिका खेल्दछ।

व्यवस्थापन परीक्षणले संगठनको सञ्चालनको सन्दर्भमा गरिएका व्यस्थापकीय क्रियाकलापमा रहेका कमीकमजोरीहरूको पहिचान गरी सुधारका लागि आवश्यक पृष्ठपोषण दिने काम गर्ने हुँदा यसलाई व्यवस्थापकीय नियन्यत्रणको आन्तरिक कडीका रूपमा लिइन्छ । व्यवस्थापन परीक्षण कुनै संगठन वा त्यसको कुनै एक एकाईको विस्तृत एवं पूर्ण मूल्यांकन गर्ने कार्य हो । व्यवस्थापन परीक्षणले व्यवस्थापकीय निर्णय र कार्यप्रणालीको कार्यदक्षता, मितव्ययिता, औचित्यता र प्रभावकारिताको परीक्षण गरी सोको नतिजा व्यवस्थापनसमक्ष प्रस्तुत गर्दछ ।
व्यवस्थापन परीक्षणको सैद्धान्तिक अवधारणको प्रादुर्भाव सन् १९६० को दशकमा पहिलोपटक अमेरिकाबाट भएको हो । नेपालको निजामती सेवामा यसको प्रारम्भ पहिलोपटक ०५५ सालमा निजामती सेवा ऐन २०४९ को पहिलो संशोधनसँगै व्यवस्थापन परीक्षण कानुनीरूपमा स्थापित भयो । निजामती सेवा ऐन÷नियमावलीको व्यवस्था तथा नेपाल सरकार कार्य विभाजन नियमावलीले सुम्पिएको जिम्मेवारीस्वरूप सामान्य प्रशासन मन्त्रालयले गर्दै आएको छ । प्रथमपटक सामान्य प्रशासन मन्त्रालयले व्यवस्थापन परीक्षण निर्देशिका, २०६२ जारी गरेको थियो ।

पछी समस्या र चुनौतीलाई समेटेर परिमार्जन गर्ने क्रममा सामान्य प्रशासन मन्त्रालयले व्यवस्थापन परीक्षण निर्देशिका, २०६७ जारी गरेको छ । परिमार्जित निर्देशिकाले व्यवस्थापन परीक्षणलाई थप परिभाषित गर्ने प्रयाश गरेको देखिन्छ ।  निजामती सेवा ऐनको दफा ७२ (क) अनुसार ः लोकसेवा आयोगको कार्यक्षेत्र भित्रका विषयबाहेक सामान्य प्रशासन मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायहरूमा कार्यरत निजामती कर्मचारीहरूले प्रचलित कानुन तथा अन्य प्रशासकीय नियम र कार्यविधिहरू पालना गरे नगरेको सम्बन्धमा सुपरीवेक्षण, अनुगमन, मूल्यांकन गरी निर्देशन दिन र त्यसरी सुपरीवेक्षण गर्दा कुनै निजामती कर्मचारी उपर विभागीय कारवाही गर्नुपर्ने देखिएमा समेत सिफारिस गर्न सक्नेछ, र सोको वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने कानुनी व्यवस्था गरेको छ ।
व्यवस्थापन परीक्षण गर्दा व्यवस्थापन कर्ता वा निकायले विभिन्न विधि र तरिकाको माध्यमद्वारा व्यवस्थापन परीक्षण गर्ने गरिन्छ । अवलोकन, निरीक्षण प्रश्नावली, छलफल, अन्तर्वार्ता, कागजात वा प्रमाणपत्रहरूको अध्ययन, विगतका प्रतिवेदनहरूको अध्ययन र सोको पुनरावलोकन नै व्यवस्थापन परीक्षणका उपयुक्त विधि÷तरिकाहरू हुन् । व्यवस्थापन परीक्षणमा रहेका चुनौतिका रूपमा, ऐन, नियम तथा नीति निर्देशिकामा अस्पष्टता रहनु, कानुन पालनामा उदासीनता बढ्दै जानु, उचित पुरस्कार र दण्ड सजायलाई कडाइ गर्न नसक्नु, व्यवस्थापन परीक्षणको कार्यले प्राथमिकता पाउन नसक्नु, विषय क्षेत्र व्यापक र विस्तृत हुनु, उपयुक्त विषय क्षेत्र अनुसारको सांगठनिक संरचना, जनशक्ती र व्यवस्थापनमा कमी हुनु, उत्प्रेरणा र मनोवलको स्तरमा कमी आउनु, एक अर्को निकाय र संगठनका बीचमा समन्वय, सहकार्य र सहयोग हुन नसक्नु, सामाजिक परीक्षणको विषयलाई अवलम्वन गर्न नसक्नु आदी पर्दछ ।
व्यवस्थापन परीक्षणका सम्बन्धमा देखिएका नीतिगत, कानुनी, व्यवस्थापकीय र सांगठनिक समस्याहरूको समाधानका लागि, व्यवस्थापन परीक्षणलाई प्राथमिकता प्राप्त कार्यका रूपमा रूपान्तरण गर्ने, ऐन, नियम तथा नीतिमा रहेका अस्पष्टतालाई सरलीकरण गर्नेे, प्रर्याप्त साधनस्रोतको उचित व्यवस्थापन गर्ने, पुरस्कार र दण्ड सजायलाई पारदर्शी र प्रभावकारी वनाउने, परीक्षणका निश्चित विधि, मापदण्ड र सूचकहरूको निर्धारण गर्ने, प्रतिवेदनले आैँल्याएका विषयको पूर्ण कार्यान्वयन गर्ने, संगठनात्मक र व्यवस्थापकीय क्षमतामा वृद्धी गर्ने, अन्तरनिकाय समन्वय र सूचना प्रविधिको उच्चतम उपयोग गर्ने, परीक्षण प्रक्रियालाई निरन्तर सञ्चालन गर्ने, व्यवस्थापन परीक्षण संवैधानिक अंगबाट हुुने व्यवस्था गर्ने, व्यवस्थापन परीक्षणको परिणामलाई कर्मचारीको वृत्ति विकाससँग आवद्ध गर्ने, वार्षिक प्रतिवेदन संसदीय समितिमा छलफलको व्यवस्था गर्ने, हरेक मन्त्रालय, आयोग र सचिवालयमा व्यवस्थापन परीक्षण शाखाको स्थापना गर्ने, व्यवस्थापन परीक्षणको नतिजालाई पुरस्कार र दण्डसँगको आधार बनाई पारदर्शी र वस्तुनिष्ठ बनाउनु आवश्यक छ । [email protected]

प्रतिक्रिया