सोल, २२ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई क्रुर तानाशाहको संज्ञा दिएका छन् । मङ्गलबार दक्षिण कोरिया पुगेका उनले बुधबार बिहान कोरियाली राजधानी सोलमा सो धारणा राखेका हुन् ।
दक्षिण कोरियाको संसदलाई बुधबार बिहान सम्बोधनगर्दै उनले सो धारणा राखेको समाचारमा जनाइएको छ । एसियाको भ्रमणका क्रममा आइतबार जापान पुगेका उनी जापानबाटै मङ्गलबार दक्षिण कोरिया पुगेका हुन् ।
आफ्नो यस एसिया भ्रमणका क्रममा प्राय उत्तर कोरियाका विरुद्धमा निकै आक्रामक बन्दै आएका राष्ट्रपति ट्रम्पले बुधबार बिहान दक्षिण कोरियाली संसदलाई सम्बोधन गर्दै अमेरिकालाई कमजोर नठान्न पनि उत्तर कोरियालाई चेतावनी दिएका छन् ।
उनेले भने, उत्तर कोरियाजस्ता क्रुर र तानाशाहले अमेरिकालाई कमजोर ठान्ने होइन, आवश्यक पर्दा अमेरिकाले पनि देखाइदिनसक्छ । गएको २४ बर्षपछि पहिलो पटक अमेरिकी राष्ट्रपतिको हैसियतमा कोरिया पुग्नुभएका ट्रम्पले उत्तर कोरियाको निकै आलोचना गरे ।
उनले उत्तर कोरियालाई अत्याचारी, क्रुर र तानाशाही शासको संज्ञा पनि दिए । पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश दक्षिण कोरिया र जापानलाई पनि ठूलो चुनौती भएको छ । उत्तर कोरियाले दक्षिणका विरुद्धमा क्षेप्यास्त्र परीक्षण पनि गर्ने गरेको छ ।
यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको दक्षिण कोरिया भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि ठूलो महत्वका साथ हेरिएको विश्व समुदायको विश्लेषण छ ।
उनले उत्तर कोरियालाई एक्लो बनाउन विश्वका सबै देशलाई आग्रह पनि गरे । उनले चीनलाई पनि उत्तर कोरियाका कारणले विश्वमा मानवीय सभ्यता र शान्तिमाथि नै धावा बोलिरहेको अवस्थामा उसलाई साथ नदिन आग्रह गरेका थिए ।
उनले उत्तर कोरियाका विरुद्धमा संसदमा कडा सम्बोधन गरिरहँदा दक्षिण कोरियाका सांसदहरुले निकै उत्साहित भएर ताली ठोकेका थिए । उनको सम्बोधनको उनीहरुले समर्थन गरेका थिए ।
उनको यस एसियाको भ्रमणको मुद्धा विशेषतः उत्तर कोरिया बनेको छ । उत्तर कोरियाको आणविक कार्यक्रम उनको मुद्धा बनिरहेको उनका जापान र दक्षिण कोरिया भ्रमणका अभिव्यक्तिहरुले पनि देखाएको छ ।
राष्ट्रपति ट्रम्पले मङ्गलबार मात्र पनि उत्तर कोरियालाई आफ्ना सबै परमाणु हतियारहरु परित्याग गरेर वार्ताको टेबलमा आउन र सबै विषयमा छलफल गर्न आह्वान गरेका थिए ।
राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा मङ्गलबार मात्र गरेको सम्बोधनमा अमेरिकाले प्योङयाङका विरुद्धमा सेना परिचालन गर्ने अवस्था नआओस भनेर पनि सोचिरहेको स्पष्ट गरेका थिए ।
एसिया भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा उनका समकक्षी मुन जाय इनसँग पत्रकार सम्मेलनमा बोल्दै सो धारणा राखेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि भने आवश्यक परेमा उत्तर कोरियाका विरुद्धमा अमेरिकाले आक्रमण पनि गर्नसक्ने चेतावनी दिएका थिए । उनी अहिे एसियाका पाँच देशको भ्रमणमा छन् ।
तर यी सबै देशको भ्रमणमा पनि उनको मुद्धा उत्तर कोरिया र विशेषगरी यसको परमाणु हतियारको महत्वाकांक्षा बनेको छ । दक्षिण कोरियाको राजधानी सोलमा आयोजित सो विशेष पत्रकार सम्मेलनमा ट्रम्प र मुन नै उत्तर कोरियाका विरुद्धमा खनिएका थिए ।
उनीहरुले उत्तर कोरियाका सामु परमाणु हतियारविहीन बन्नु बाहेकको अर्को बिकल्प नरहेको कुरा बारम्बार दोहार्याएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सुरुमै उत्तर कोरिया वार्ताको टेबलमा आएर सबै आफ्ना कुरा राख्ने र शान्तिपूर्ण रुपमा अघि बढ्न सकेमा मात्र उत्तरका लागि हित हुने सुझाव प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया