रोल्पा, २० कात्तिक । उपप्रधान तथा बिना विभागीय मन्त्री कृष्णबहादुर महराले देशको समृद्धिका लागि प्राविधिक शिक्षा जरुरी रहेको बताएका छन् ।
उपप्रधान मन्त्री महराले रोल्पाको लिवाङमा निर्मित रोल्पा पोलिटेक्निकल इन्स्टिच्यूटको सोमबार उद्घाटन गर्दै देश विकास अभियानमा प्राविधिक जनशक्तिको खाँचो रहने बताए ।
उपप्रधानमन्त्री महराले भने, “रोल्पामा सञ्चालनमा रहेको प्राविधिक शिक्षालयमा देशकै उत्कृष्ट र नमूना बनाउनुपर्छ ।” आफू निर्वाचनको क्रममा दाङ पुगे पनि रोल्पा नछोडेको बताए । रोल्पा प्राविधिक शिक्षालय आफ्नो परिकल्पना भएकाले यसको विकासका लागि निरन्तररुपमा लागिरहने उनले बताए ।
पोलिटेक्निकल इन्स्टिच्यूटमा अध्ययनरत विद्यार्थीलाई पढाउँदै महराले शिक्षालय उद्घाटन गरेका हुन् । नेपालको नक्सामा विकासको खाका तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई नक्सांकन गर्दै महराले करिब १५ मिनेट विद्यार्थीलाई पढाएका थिए ।
उपप्रधानमन्त्री महरा आफैँले दान गरेको करिब ३५ रोपनी क्षेत्रफल जग्गामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा सञ्चालित सो पोलिटेक्निकल इन्स्टिच्यूटमा हाल पशु विज्ञानतर्फ डिप्लोमा तहमा पठनपाठन शुरु भएको छ ।
शिक्षालयमा आगामी दिनमा वन विज्ञान, स्वास्थ्य, निर्माण तथा कृषि विषयको समेत पठनपाठन गरिने जनाइएको छ ।
प्रतिक्रिया