दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रवासीले गरे सहयोग

दमक, २० कात्तिक । मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका झापा, शिवसतासी नगरपालिका–२ मंगलबारेका अनिल लिम्बूको परिवारलाई दक्षिण कोरियामा कार्यरत प्रवासीले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

कोरियामा बस्दै आएका नेपालीबाट संकलित रु ६७ हजारमा १३ हजार थप गरी रु ८० हजार रकम पीडित लिम्बूको बुबा टीकाराम लिम्बूलाई हस्तान्तरण गरिएको रिभर साइड फाउण्डेसनका अध्यक्ष सञ्जीव चापागाईंले जानकारी दिए ।

रोजगारीका लागि इपिएस प्रणालीबाट दक्षिण कोरिया जान लागेका २२ वर्षीय लिम्बूको एक साताअघि दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएको थियो ।

चापागार्इंका अनुसार आर्थिक अवस्था कमजोर भएका लिम्बूको परिवारलाई राहत पुर्याउन कोरियामा बस्दै आएका पासाङ शेर्पाको संयोजकत्वमा अभियान संकलन गरिएको थियो ।

यसअघि दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बूको उपचारमा सहयोग जुटाउन स्थानीय बासिन्दाले अनिल लिम्बू बचाउ अभियान सञ्चालन गरी करिब रु सात लाख बढी रकम संकलन गरिएको अभियानका सचिव नेत्र मावोले जानकारी दिए ।

डुबेर शिशुको मृत्यु

यसैगरी आफ्नै घर नजिकै रहेको पैनीमा खेल्ने क्रममा डुबेर झापाको मेचीनगरमा आइतबारराति एक शिशुको मृत्यु भएको छ ।

मेची नगरपालिका वडा नं–७ सतिघट्टा बस्ने पदम निरौलाको १७ महिनाको छोरा प्रनिष निरौलाको आइतबार साँझ पैनीमा डुबेर मृत्यु भएको प्रहरी चौकी सतिघट्टाले जनाएको छ ।

डुबेर बेहोस अवस्थामा भेटिएका बालकको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया