-रुद्रप्रसाद पाठक
कुनै पनि राष्ट्रको परिचय त्यहाँको मूर्त अमूर्त सांस्कृतिक सम्पदा, संस्कार एवं परम्परागत रहनसहनले दिन्छ । नेपाल भन्नु नै वास्तवमा पूर्व मेचीदेखि पश्चिम महाकालीभित्रको विभिन्न जातजाति एवं क्षेत्रमा विद्यमान परम्परागत रूपले सिंगारिएका मूर्त अमूर्त सांस्कृतिक सम्पदा, संस्कार एवं परम्परागत शाश्वत मूल्य मान्यताहरू नै हुन् । यस्तै सांस्कृतिक मूल्य मान्यताको धरोहर डोट्याली क्षेत्र हालको डडेल्धुरा जिल्लामा पर्ने उग्रताराको जाँत(मेला) पनि एक हो ।
सुदूरपश्चिमाञ्चल क्षेत्र अर्थात डोटेली क्षेत्रमा प्रत्येक जातजातिका मानिसहरूले कुनै न कुनै स्थानिय देवीदेवतालाई इष्ट कूलदेवताको रूपमा प्रत्येक वर्ष आआफ्नै परम्पराअनुसार विभिन्न तिथिमितिमा पुँजी जाँत मनाउने चलन छ । तथापि कात्तिक शुक्ल औँशीदेखि पूर्णिमासम्मको समयलाई भने विशेष रूपमा जाँत पक्षको रूपमा मनाइने चलन छ । डोटेली संस्कृतिमा जात पर्वको महत्वपूर्ण भूमिका रहेका पाइन्छ ।
यस क्षेत्रका चाडबाडहरूमा जाँत र मेला प्रमुख मानिन्छन् । यहाँ बाह्रै मास जाँत मनाइन्छ र मेला लाग्छन्, तापनि श्रावण शुक्ल पञ्चमीदेखि मंसिर शुक्ल पूर्णिमासम्म यिनको आयोजना बढी मात्रामा गरिन्छ । यिनका लागि निश्चित दिनहरू तोकिएका हुन्छन् । ती प्रायः तिथिका आधारमा निर्धारित हुन्छन् । कुनै कुनैचाहिँ खासखास पर्व र संक्रान्ति विशेषमा आयोजित हुन्छन् । जाँत भनेको स्थानीय देवीदेवताहरूको त्रैमासिक, षट्मासिक वा वार्षिक पूजा गरिने दिनको विधिवत् पूजा, धामीकमाइ, धामीनाच, देउरोनाच, गानाबजान जस्ता कृतका साथ सम्पन्न गरिने परम्परागत जात्रा हो ।
यसमा स्वाभाविक रूपले प्रसस्त जनसमुदायको जमघट हुन्छ । त्यसबाट सहजै मेलाको जस्तो रमाइलो वातावरण उत्पन्न हुन्छ । प्राचीनकालमा हालको अमरगढी नगरपालिका–७ र ८ मा पर्ने कोइली गाउँका थापाहरूको गाईगोरु चरन क्षेत्रको रूपमा रहेको हालको उग्रतारा मन्दिर परिसरको एक शिलामा गाईले आफैँ दूध बगाइरहेको गोठालाहरूले देखेपछि गाउँमा गएर सबै गाउँलेहरूलाई बताउँदा ती थापा गाउँका गाउँलेले उक्त शीलालाई भगवती मानी पुज्दै आएका र उक्त तिथि कात्तिक शुक्ल चतुदर्शी परेकाले हालसम्म पनि कात्तिक शुक्ल चतुर्दशीको दिनलाई नै उग्रताराको जाँत वा देमाणौकी भनेर मनाउने परम्परा यथावत रूपमा रहेको छ ।
अर्को कथनअनुसार उग्रताराको तल्लो प्रांगगणमा रहेको नारंगी मन्दिरमा स्थानीय साँकी जातीका क्षेत्रीयले हलो जोत्दा भगवती भेटाएको र त्यो तिथि पनि कात्तिक शुक्ल चतुदर्शी परेको भनाइ पनि रहेको छ ती साँकी जातका क्षेत्रीय वर्तमान समयमा मुख्य पुजारी रहनुले पनि यो कुरा पुष्ठी गर्दछ । चैत, आश्विन नवरात्रीका अष्ठमी, विजयादशमी र माघ शुक्ल पञ्चमीमा हुने पूजा उग्रताराका सहायक जाँत हुन् भने कात्तिक शुक्ल चतुदर्शीमा मनाइने मुख्य जाँत हो उक्त दिन मात्रै उग्रताराको प्रतिक स्वरूप बनाएको गाज नचाइन्छ ।
उक्त कुरा १४औँ शताब्दीमा तत्कालीन डोटी राज्यका राजा भूपति शाहीले आफ्नी घरकी नोकर्नी कामदारलाई उग्रताराकी जाँत कहिले हुन्छ त्यहाँका स्थानीयलाई सोधी त्यसको तिथि पत्ता लगाएर आऊ भनी सोधेको र ती कामदारले पनि उग्रतारा भगवतीको स्थानमा गएर त्यहाँका विशेष सरोकारवालालाई सोधी राजालाई जाँत कात्तिक शुक्ल चतुदर्शीमा पर्ने बताएको निम्नलिखित चैतलोबाट पनि उक्त कुरा पुष्ठी हुन्छ ।
कोट अजैमेरु भूपति शाही राजन सोधन लाग्या कुरा
भनन भन पातर शोभा कहिले हुन्छ दुर्गाईको जाँत
जाउ न जाउ पातर शोभा देवी दुर्गाईको थान
दगुर्दै गइन पातर शोभा देवी दुर्गाईको थान
साँकी सँकालका भुत्युँका पद्य कैले हुन्छ दुर्गाको जाँत
कात्तिक मासको शुक्ल चतुर्दशी तैले हुन्छ दुर्गाको जाँत
दगुर्दै पात्तर शोभा अजैमिर पुगी गई
अजैमिरकोट भूपति शाहीसित त्यसले विन्ती लगाई
भनन न भन पातर शोभा कहिले हुन्छ दुर्गाईको जाँत
कार्तिक माशको शुक्ल चतुर्दशी तैले हुन्छ दुर्गाईको जाँत
यसरी कात्तिक शुक्ल चतुर्दशीमा मनाइने यो जाँत पर्वको अघिल्लो दिन राती रतेडी मनाएर खनमडा, दमडा छचोडा र जिलोडाबाट देउरो (भण्डार सामग्री) बिहानको मिर्मिरेमा उग्रताराको जुज्न्यउटामा मुख्य खनमडाको देउरोमा भेट गराएर उग्रताराको मन्दिरमा एकसाथ भित्र्याइन्छ भने फर्कंदा पनि जुज्नेउटाको ढुंगोसम्म सँगै गएर उपासकहरू आआफ्ना देउराका साथ गाउँवस्तीतिर फर्कन्छन् । भोलिपल्ट जाँत हुन्छ जाँतमा मध्याह्न ढाँट जातिको चलो आएपछि उग्रताराको प्रतिकस्वरूप विशेषरूपले सिंगारिएर बनाएको गाँज उग्रतारा परिसर भित्र नचाइन्छ जसको सांस्कृतिक संस्कारजन्य महत्व र मनमोहकता अद्वितीय प्रकृतिको छ ।
१० महाविद्या मध्ये तारा पनि पर्दछिन् भने उग्रतारालाई नीलसरस्वतीका रूपमा पनि मान्ने गरिन्छ । यिनको पूजा वैदिक र तान्त्रिक दुवैविधिद्वारा गरिन्छ । उग्रतारा भगवती शीलाका रूपमा उत्पन्न भएको मानिन्छ त्यसकारण यिनको शिला गर्भगृहमा स्थापित छ । कुनै पनि दिन यी देवीलाई अपुज अर्थात अर्चनाविहीन बनाउनु हुँदैन भन्ने जनविश्वास छ । त्यसैकारणले साँकीजातका क्षेत्रीय मुख्य पुजारी र ३ थरी भट्ट र १ पन्त थरीका छुट्टाछट्टै ४ व्राह्मणलाई सहायक पुजारी तोकिएको पाइन्छ भने मुख्य पुजारी धामी बन्ने नयाँ व्यक्तिले असाधारण शक्ति देखाउनु पर्दछ । पुजालाई व्यवस्थित तुल्याउन गुठीको व्यवस्था पनि छ ।
तत्कालीन डोट्याली राजाहरूको पालामा जाँतको समयमा तत्कालीन गर्खागर्खाबाट बाजागाजासहित जाँत ल्याउने र तिनका बीचमा धनुषवाण चलाएर कलाकौशलको प्रतिस्पर्धा गराउने अराजक चलन थियो तापनि वर्तमान समयमा तत्कालीन डोटी राज्य नेपाल एकीकरणमा गाभिएपश्चात् डोटी राज्यका राजाहरू भरतको सिंहाइमा गएपछि त्यस्तो गर्खागर्खा बीचको धनुषवाण चलाउने अराजकपूर्ण चलनको पूर्णतया अन्त्य भएर एक विशुद्ध शान्तिपूर्ण सांस्कृतिक सम्पदाको रूपमा मात्र यो जाँत सीमित हुन पुगेको छ । डाटी राज्यकालमा राष्ट्रदेवी रूपमा प्रतिष्ठित उग्रतारा जाँत हाल पनि डोट्याली क्षेत्रको सबैभन्दा ठूलो जाँत हो ।
डडेल्धुरा बैतडी राजमार्गबाट नजिकै पर्ने यो जाँतका अवसरमा टाढाटाढा गएकाहरू घर फर्कने, धेरै समयमा भेट नभएकाहरूको भेट हुने र विभिन्न चैतलो फाग धमारी भोलाउलो नेउल्या ढुस्को डेउडा गाउने चलन छ । धामी नाच हुने, गाँज नचाइने टाढाटाढाका दर्शनार्थीहरूको ओइरो लाग्ने चण्डी पाठ, देवी भागवतको पाठ हवन र विषेश पूजा हुने भएकोले पनि यसको महत्व बढेको हो । कात्तिक शुक्ल चतुर्दशीमा हुने उग्रताराको यो जाँत सांस्कृतिक मात्र होइन पर्यटकीय एवं पर्यावरणीय सुन्दरताको दृष्टिकोणले पनि महत्वपूर्ण छ ।
यहाँबाट देखिने कश्यप, अपि, सैपाल हिमालको दृश्यावलोकन र अग्लो डाँडाबाट देखिने प्राकृतिक सुन्दरताले यो क्षेत्रको मनमोहकता अझ बढाएको छ । डोट्याली क्षेत्र अर्थात् सुदूरपश्चिम विकास क्षेत्रमा यस्ता राष्ट्रिय रूपमा महत्व राख्ने सम्पदाहरूको उचित संरक्षण एवं प्रचारप्रसारको अभावले तिनले आशातीत महत्व पाउन सकेका छैनन् । जसको कारणबाट पनि यहाँका सम्पदाहरूको उचित पहिचानको अभावबाट राष्ट्र र स्थानीय ठाउँले समेत आशातीत फाइदा लिनसकेको छैन । जसको लागि काम गर्नु आजको आवश्यकता हो । विगतका केही वर्षदेखि उग्रतारा क्षेत्र विकास समिति गठन गरी गरिएको सुधारको प्रयास प्रसंशनीय छ । (लेखक अधिवक्ता हुन् ।)
प्रतिक्रिया