हरिबोधिनी एकादशी, व्रत उपासना विधि र फल

-उप प्रा. नारायणप्रसाद निरौला चान्द्रमास अनुसार महिनाको ११औँ दिनलाई एकादशी भनिन्छ । प्रत्येक महिनामा २ वटा एकादशी पर्दछन् । कात्तिक शुक्लपक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ । एकादशी मध्ये उत्तम एकादशी भएकाले यो दिनलाई ठूली एकादशी पनि भनिएको हो । हरिबोधिनी एकादशीमा विधिवत् तुलसीको विवाह हुने गर्दछ । हरि भनेका साक्षत् विष्णु भगवान् हुनुहुन्छ ।

बोधिनीको अर्थ जागृत हुने वा उठ्ने भन्ने अर्थ हुन्छ । क्षीरसागरको शेषशैयामा आषाढ शुक्ल एकादशीका दिन शयन गरेका विष्णु भगवान् यही कात्तिक शुक्लपक्षको एकादशीका दिन ४ महिनापछि उठ्ने भएकाले यसदिनलाई हरिबोधिनी एकादशी भनिएको हो । विष्णु भगवान् स्वप्न अवस्थाबाट जागृत हुने भएकाले यस तिथिलाई हरिबोधिनी एकादशी भनिएको हो ।

यसदिन भगवान् विष्णुको प्रतीकसँग तुलसीलाई पूजाआजसहित विवाह गर्ने धार्मिक विधि रहेको छ । तुलसीको मठलाई लिंगा, ध्वजा एवं फूलमालाले सजाई विधिपूर्वक तुलसी विवाह हुने गर्दछ । तुलसीको पूजासँगै व्रत धारण गर्ने पनि शास्त्रीय विधान रहेको पाइन्छ । जलाहार वा फलाहार गरी भगावान्का नाम एवं गुणगानका साथ व्रतोपवास गर्नाले अक्षण्य पूण्य प्राप्त हुने कुरा एकादशी माहात्म्यमा उल्लेख गरिएको छ । भविष्योत्तर पुराणमा श्रीकृष्ण–युधिष्ठिर संवादमार्फत एकादशी महिमाको विशेष चर्चा गरिएको छ ।

अन्य एकादशीभन्दा हरिबोधिनी एकादशीका दिन गरिने विष्णु भगवान्को उपासना बढी फलदायी हुने भएकाले यसदिन गरिने स्नान, दान, तप, धर्म आदि सबै कार्यको अनन्त पूण्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ । ब्रह्मवैवर्त पुराण अनुसार तुलसीका प्रसिद्ध ८ नाम ः वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी हुन् । आयुर्वेदले पनि तुलसीको विशेष महिमागान गर्दै महौषधीको संज्ञा दिइएको छ । स्कन्दपुराणअनुसार जालन्धरकी पतिव्रता पत्नी वृन्दाको सतीत्व नै उसको अमरत्वको आधार थियो ।

वृन्दाको सतीत्व अन्त्य नगरी जालन्धर राक्षसको अन्त्य सम्भव थिएन ।सृष्टिको कल्याण गर्ने उद्देश्यले भगवान् विष्णुले वृन्दाको सतीत्व नष्ट गर्नुपरेको थियो । सोही उद्देश्य अनुसार विष्णु भगवान्ले रूप बदली जालन्धरको भेषमा गई वृन्दाको सतीत्व हरण गरेको वृन्दाले थाह पाएपछि भगवान् विष्णुलाई श्राप दिन्छिन् । त्यसपछि भगवान् विष्णु पत्थरका रूपमा शालिग्राम हुनुप¥यो । पुनः उनी वृक्षका रूपमा तुलसी पनि हुनपरेको थियो । वृन्दाको श्रापका कारण भगवान् तुलसीरूपमा प्रकट भई सर्वकल्याण गरेको कथा पुराणमा पाइन्छ । तुलसीको वनलाई वृन्दावन भनिन्छ । एकादशी महिमाको चर्चा पद्म पुराणको १४ अध्यायमा पनि गरिएको छ ।

पापी पुरुषले एकादशीकको व्रत धारण लिई धर्म आर्जन गरी मोक्ष प्राप्त गरेको कथा उक्त पुराणमा वर्णन गरिएको छ । एकादशीको व्रत धारण गर्नाले सम्पूर्ण पाप नष्ट भई पूण्य प्राप्त हुने कुरा ब्रह्मवैवर्त पुराणले पनि बताएको छ । एकादशीका दिन साक्षात् पाप अन्नमा गई निवास गर्ने भएकाले यस दिन अन्न नलिनु भनिएको हो । यस दिन अन्न खानाले पापवृत्ति बढ्ने कुरा शास्त्रमा बताइएको छ । त्यसैले कन्दमूल आदि फलाहार गर्ने चलन रहिआएको छ । व्रत रहनु आफूमै स्वच्छ पवित्रताको वरण गर्नु हो । आजको विज्ञानले पनि व्रतलाई आवश्यक ठानेको छ । वैदिक संस्कृति र सभ्यतामा व्रतलाई एक यज्ञको संज्ञा दिइएको छ ।

व्रत पनि एकप्रकारको यज्ञ नै हो । यसैले विशेष तिथि पर्वमा व्रत धारण गर्ने परम्परा रहिआएको छ । यस्तै व्रत धारण गर्ने उपयुक्त दिन एकादशी पनि हो । व्रत रहनाले समस्त मनोकांक्षा पूर्ण हुने धार्मिक मान्यता रहीआएको छ । हरेक १५ दिनमा एउटा एकादशी पर्ने गर्दछ । हाम्रो समाजमा एकादशीको व्रत वस्ने चलन छ । जसको धार्मिक एवं वैज्ञानिक कारण पनि रहेको पाइन्छ । चान्द्रमास अनुसार महिनामा २ वटा शुक्ल र कृष्ण एकादशी पर्ने गर्दछन् । लाग्दो तिथि छोड्दो व्रत भन्ने चलन नै रहेको छ । अर्थात् तिथि श्राद्ध गर्दा तिथि लागेपछि गर्नुपर्छ भने व्रत धारण गर्दा छोड्दो तिथिलाई लिनुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

अर्थात् द्वादशी लाग्ने एकादशीको व्रत वस्नु उत्तम हुने शास्त्रीय प्रमाण पाइन्छ । एकादशीका दिन ॐ नमो भगवते वासुदेवाय मन्त्र जप गर्नाले पनि उत्तम गति प्राप्त हुन्छ । एकादशीको दिन तुलसीको विवाह र भोलिपल्ट अर्थात् द्वादशीका दिन हवन गरी नयाँ अन्न चढाउने गरिन्छ । पूर्णिमासम्म तुलसीको हवन गर्नलाई साइत हेरिरहनु पर्दैन । सो पश्चात् भने जुराएर उपयुक्त दिनमा तुलसीको हवन गर्न सकिन्छ । व्रत शारीरिक, मानसिक एवं आध्यात्मिक तिनै दृष्टिले उपयुक्त मानिन्छ । महिनामा २ दिन व्रत धारण गर्नाले मानसिक शुद्धिका साथै शारीरिक शुद्धिसमेत हुने गर्दछ ।

आजको विज्ञानले समेत व्रतको पवित्र उद्देश्यलाई स्वीकारेको छ । एक उपचार पद्धतिको रूपमा व्रतलाई प्रयोग समेत गर्दै आएको पाइन्छ । पारलौकिक सत्य नमान्नेका लागि पनि व्रत उपचारको एक माध्यम हुन सक्छ । पाश्चात्य समाजमा पनि यही व्रतको प्रभाव स्वरूप फास्टिङ बस्ने चलन रहेको पाउन सकिन्छ । पेटमा भएका विकारलाई शुद्ध गर्ने एक प्रविधि पनि व्रत हो । यसमा शारीरिक एवं मानसिक पवित्रताको आवश्यक हुन्छ । सोही कारणले उक्त दिन फलाहार गरेर पनि व्रत वस्ने चलन रहिआएको छ । निराहार व्रत वस्ने चलन पनि रहेको छ ।

शरीरको अनुकूलताअनुसार सात्विक आहार लिएर पनि व्रत धारण गर्न सकिन्छ । व्रतको उद्देश्य पवित्र हुनु हो । मनमा पवित्र भावनाको जागृत गराउनु हो । व्रत धारण गरेर पनि मनमा पवित्रता हुन सकेन भने सोको उचित फल प्राप्त हुन सक्दैन । व्रत कसरी गर्ने, कुन व्रतका के नियम छन् भनने कुरा व्रतराज भन्ने पुस्तकमा प्राप्त गर्न सकन्छि । हरेक व्रतका आआफ्नै विधि विधान रहेका छन् । फल अनुसार व्रत उपासना गर्ने विधि पनि भिन्न हुने गर्दछन् । व्रत आफैँमा राम्रो कुरा हो । स्वास्थ्यका दृष्टिले व्रत उपासना गर्नु उचित मानिन्छ ।

शरीर अस्वस्थ रहेको बेलामा व्रत धारण गर्नु नै पर्छ भन्ने कुनै बाध्यता छैन । पवित्रता व्रतको मूल उद्देश्य हो । व्रतले चित्तको विकारलाई वदलेर नवीन एवं सकारात्मक भावनाको जागृत गराउछ । शरीरको अवस्था हेरेर मिताहारी व्रत धारण गर्न पनि सकिन्छ । शुद्ध पवित्र आचरणमा रहन सकेनौँ भने व्रत निष्प्रभावी हुन्छ । व्रत आफैँका लागि बस्ने हो । चित्तवृत्तिलार्ई सकारात्मक बाटोतर्फ लैजाने कार्य व्रतले गर्दछ । सात्विक भाव र विचारको प्रवाह गरेर मनमा नवीन ऊर्जा प्रवाहित गर्न सक्नु व्रतको उपलब्धी हुन्छ ।

व्रतधारणसँगै आत्मबोध पनि हुनु आवश्यक छ । यो आत्मबोध गराउने माध्यम पनि हो ।आत्मिक भाव जागृतिका निम्ति व्रत उपासना आवश्यक हुन्छ । यस्तै मध्ये भगवान् विष्णुको उपासना गर्ने पद्धति विशेष नै एकादशीको व्रत हो । जसको धारण गर्नाले इह एवं पारलौकिक सुख मिल्ने गर्दछ । त्यसैले एकादशी व्रत पनि मानवलाई सकारात्मक मार्गतर्फ डोहो¥याउने एक माध्यम हो । जसको धारण गर्नु सबैका निम्ति कल्याणकारी हुने देखिन्छ । (लेखक ज्योतिषाचार्य तथा वास्तुविद् हुन्)

 

प्रतिक्रिया