प्रभावकारी बन्दै सामाजिक स्वास्थ्य बिमा

swasthya-bimaपोखरा । कास्कीमा सामाजिक स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको देखिएको छ । आधारभूत स्वास्थ्य सेवालाई संविधानले नै सर्वसाधारणको मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ ।  यसै अनुरुप सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने ब्यवस्थासहित निश्चित वर्गका लागि थप सेवा व्यवस्था गरेको छ । अहिले देशका विभिन्न २१ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालित छ । आगामी २ वर्षमा यसलाई सबै नागरिकको पहुँचमा पु¥याउने सरकारको लक्ष्य छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीका प्रबन्धक कृष्णप्रसाद भट्टराईले यो कार्यक्रम लागु भएका जिल्लामध्ये कास्कीमा सबैभन्दा प्रभावकारी रहेको दावी गरे । उनका अनुसार कार्यक्रममा अहिलेसम्म कास्कीका ४५ हजार सर्वसाधारण सहभागी छन् । यो कार्यक्रममार्फत २० हजारले स्वास्थ्य सेवा लिएको उनले बताए । भट्टराईका अनुसार स्वास्थ्य बिमा कार्यक्रमपछि सेवा दिन सम्झौता भएका सरकारी र अन्य अस्पतालले समेत गुणस्तरमा आफूलाई बृद्धि गरेको पाइएको छ । कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लामा १ सय १२ जना अभिकर्ता परिचालित छन् ।

प्रत्येक वडामा जनसंख्याका आधारमा १ देखि ५ जनासम्म अभिकर्ता खटाइएको उनले बताए । सुरुका दिनमा केही अन्योल रहे पनि कार्यक्रममा सहभागि भएर सेवा लिनेहरुले अन्यलाई थप आकर्षित गरेको उनको भनाई छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख दिनेशकुमार चापागाइँले स्वास्थ्य बिमा कार्यक्रम लागु भएपछि स्वास्थ्य चौकीदेखि अस्पतालसम्मको गुणस्तर सुधारमा सकारात्मक प्रभाव परेको बताए । स्वास्थ्य बिमा कार्यक्रममा सम्झौता गरेका स्वास्थ्य संस्थाहरुले तोकिएको सेवा दिनुपर्ने र त्यसअनुरुपको मापदण्ड कायम गर्नुपरेका कारण पनि गुणस्तरमा सुधार आएको उनको भनाइ छ । आधारभूत रुपमा सरकारले उपलब्ध गराउने स्वास्थ्य सेवा र बिमा स्वास्थ्य कार्यक्रमले समेट्ने सेवालाई एउटै आधारमा नहेर्न उनले आग्रह गरे ।

‘यो कार्यक्रममा सहभागी हुनेले जम्मा गरेको रकमबाट नहुनेको पनि सेवा होस् भन्ने हो,’ उनले भने, यदाकदा यहाँ पाउने सुविधा उपयोग गरिहालौँ भनेर बेला कुबेला चेकजाँच गराउने गरेको देखिन्छ, यसो भयो भने समस्या हुन्छ ।’ आफूले तिरेको रकमले अन्य थप पीडा भोगेकालाई सुबिधा हुन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको उनले बताए । स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन जनस्वास्थ्य कार्यालयको तर्फबाट खेल्नुपर्ने भूमिका आफूले निर्वाह गर्ने उनको भनाइ छ ।

मातृशिशु मितेरी अस्पताल बाटुलेचौरका मेडिकल सुपरिटेन्डेन डा.प्रेमराज पंगेनीले स्वास्थ्य बिमा कार्यक्रम सुरु भएपछि सरकारी स्वास्थ्य संस्था र अस्पतालको गुणस्तरमा बृद्धि भएको बताए । बिरामीहरु धेरै आउन लागेका र विश्वाससमेत बढेको उनको ठम्याइ छ । बिमा कार्यक्रममा सहभागी भएकाहरु अस्पताल आउँदा ढुक्कले प्रस्तुत हुनेगरेको बताउँदै उनले यसले नागरिकमा उत्साह ल्याएको जानकारी दिए । स्वास्थ्य संस्था र अस्पतालमा दरबन्दीअनुरुप चिकित्सक ब्यवस्था गर्न यो कार्यक्रमले सहयोगी भूमिका खेलेको उनको ठहर छ । यो कार्यक्रमलाई बृहतरुपमा लैजानुपर्ने र सबै नागरिक यसमा समावेश हुनुपर्ने उनले बताए ।

कास्कीमा स्वास्थ्य बिमा कार्यक्रमसँग २ निजी र ८ सरकारी अस्पताल जोडिएका छन् । गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पताल निजी अस्पताल छन् भने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल तथा अर्मला, भेडाबारी, थुम्सीकोट र कृस्ती स्वास्थ्य चौकीलगायत छन् ।

स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन चाहने ५ जनाको परिवारले बिमा शुल्कबापत प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । परिवारमा त्योभन्दा बढी सदस्य भए प्रतिसदस्य ४ सय २५ रुपैयाँका दरले शुल्क बुझाउनु पर्छ । यो रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बिमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । यो व्यवस्थाअन्तर्गत सरकारले अति विपन्नलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखामुनी रहेकालाई ५० प्रतिशतका दरले बिमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था छ ।
कार्यक्रममा सहभागी व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेसनलगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् ।

तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई यो बिमा कार्यक्रमले समेट्दैन ।

प्रतिक्रिया