सूर्यको उपासना गर्ने महान छठ पर्व

bishwanath_ copyविविध धर्म र संस्कृति रहेको नेपाली समाजमा अनेकन चाडपर्वहरूको आआफ्नै विशेषता रहेको सर्वविदितै छ । हाम्रो देशको धर्म, संस्कृति, कलाकौशल, चाडपर्व, रीतिरिवाज, परम्पराबारे जति धेरै अध्ययन अनुसन्धान गर्न थाल्यौँ त्यति धेरै गहिराइभित्र पुगिन्छ र हामी विस्मित हुन्छौँ । यसैमा नेपालको तराई क्षेत्रमा बस्ने हिन्दूहरूले सयौं वर्षदेखि परम्परागतरूपमा कात्तिक शुक्लपक्ष षष्ठीका दिन छठपर्व मनाउँदै आएका छन् ।

हिन्दूहरूको महान चाडको रूपमा मनाइने दसैं र तिहारको लगत्तैपछि हिन्दूहरूको अर्को महत्वपूर्ण चाड छठपर्व पनि आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको छ । छठलाई छठी, छठीमाई, छठीपरमेश्वरी, छठीदेवीको रूपमा पनि अभिव्यक्त गरिन्छ । भोजपुरी र अवधि भाषाभाषीहरूले मनाउँदै आएको यो पर्व क्रमशः अन्य जातजाति र भाषाभाषीहरूले पनि मनाउन थालेका छन् । विश्वको एक मात्र हिन्दू राष्ट्र हाम्रो देशमा प्रत्येक दिनजसो एक न एक पर्व पर्ने नै गरेको छ ।

हाम्रो देशमा मनाइने जुनसुकै पर्व पनि जात–जाति र मानवसँग आधारित पर्व छन् । तराईवासी हिन्दूहरूको महान् चाडको रूपमा लिइने छठपर्वको पनि आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व रहेको छ । त्यसैगरी छठ पर्व पनि मूलतः तराईबासीमा मैथिली, भोजपुरी र अवधि भाषाभाषीहरूले मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक पर्व हो । खासगरीकन कात्तिक शुक्लशष्ठीका दिन मनाइने छठ पर्व हो । यो पर्वमा सूर्यको पूजा, उपासना गर्नुका साथै स्वादिष्ट परिकारहरू विशेषगरी ठेकुवा, भुस्वा कसार आदि पारिवारिक र आफन्तजन एकै ठाउँमा बसेर खाने गरिन्छ ।

छठपर्वलाई ऐतिहासिक रूपमा अवलोकन गर्दा द्वापरयुगबाट सुरुआत भएको देखिन्छ । त्यसबेला भारत वर्षका मानिसले यस पर्वलाई मनाउँदै आएको थिए । समयको गति सँगसँगै मुलुकको तराई भागमा बसोबास गर्ने प्रायःगरी हिन्दू समुदायले यो पर्वलाई मनाउँदै आएका छन् । बिस्तारै बिस्तारै यो पर्व मुलुकको काठमाडौं उपत्यकालगायत विभिन्न सहरी क्षेत्रमा मनाउँदै आएका छन् । यसपर्वमा खासगरी पोखरी, नदी नाला आदि जलाशयलाई झिलिमिलि पारी सिंगारिन्छ । यसको धार्मिक मान्यताअनुसार सूर्यको पहिलो प्रकाश शरीरमा परेको खण्डमा रोग व्याधी नाश हुन्छ भन्ने किंवदन्ती रहेको पाइन्छ ।

यो पर्वलाई गहिरिएर अध्ययन गर्ने हो भने वैज्ञानिक र आध्यत्मिक दुबै पक्षहरूले भरिभराउ भएको पर्व हो । यस सूर्य देवतालाई उपासना गर्नको लागि केराको घरी, विभिन्न प्रकारका फलफूल, थरीथरी र जातजातका फूलहरूले बेहुलीभन्दा पनि राम्रोसँग सिंगारिएको हुन्छ । यस पर्वमा माटाका भाँडाकुडाहरूले सजिसजाउ गर्ने चलन रहेको थियो भने आजभोलि तामा तथा पित्तलका भाँडाकुडाहरू राख्ने चलनले गर्दा त्यति राम्रो र स्वाभायमान देखिँदैन । ‘छठ’ शब्द षष्ठी शब्दको तद्भव रूप हो । षष्ठीका दिन यो पूजा भएकोले अपभ्रंशमा छठीबाट छठ भएको हो । हिन्दू धर्मग्रन्थमा सूर्य भगवान्को पूजाको ठूलो महत्व छ । छठमा सूर्य भगवान्कै उपासना गरिन्छ ।

सूर्यलाई वैदिककालमा एउटा प्रमुख देवता मानिन्छ । ऋग्वेदमा सूर्यलाई सबै देवताको श्रोत मानिएको छ । विश्वका सबै जीवजन्तु र वनस्पति सूर्यकै तापबाट बाँचेका छन् । अथर्व वेदमा त सूर्यलाई ब्रह्माको रूपमा मानिएको छ । छठपर्वमा सूर्यको पूजा, उपासना गर्नुका साथै स्वादिष्ट परिकारहरू विशेष गरी ठेकुआ (एकप्रकारको स्वादिष्ट रोटी), भुस्वा कसार (एक प्रकारको स्वादिष्ट लड्डु) आदि विशेषरूपमा तयार गरी आफन्तजन मिलनमा खाइन्छ । छठलाई स्त्रीलिंगी रूपमा सम्बोधन गरिए पनि यस पर्वमा सूर्यको पूजा, आराधना र उपासना गरिन्छ । पौराणिक मान्यताअनुसार सूर्यदेव (लोक भाषामा दिनानाथ) र षष्ठीदेवी (सूर्यदेवकी पत्नी) को संयुक्त पूजा, उपासना नै छठको मौलिकता हो ।

छठपर्व कात्तिक शुल्क चतुर्थीदेखि सुरु हुन्छ । चतुर्थीका दिन व्रतालु महिलाले स्नान गरी शुद्ध शाकाहारी भोजन गर्ने, गोबरले घरआँगन लिपपोत गरी पवित्र बनाएर दिनभरि उपवास बस्दछन् । साँझपख शुद्ध दूधमा खिर पकाई केरा, मिष्ठान्न, फलफूल इत्यादि प्रसाद चन्द्रमालाई उत्सर्ग गरी व्रतालुले आफू पनि ग्रहण गर्ने गर्दछन् । यसलाई खर्ना भनिन्छ । छठका दिन शुद्ध गहुँको पिठोबाट विभिन्न गुलिया खाद्यपदार्थ बनाउँछन् । साथै केरा, सुन्तला, ऊखु, विभिन्न जातजातका फलफूलसहित नाङ्लो वा डालोमा राखी निर्धारित जलाशय, पोखरी, नदी, ताल तलाउ आदिमा गएर स्नान गरी नयाँ वस्त्र पहिरिएर छठमाईको पूजाआजा गरी त्यहाँ मन्त्रोचारण गरेर पूजा सामग्रीहरू राखी प्रणाम गर्दछन् ।

त्यसपछि व्रतालुहरूले सन्ध्याकालीन सूर्यलाई अघ्र्य दिनका लागि जलाशयको पानीमा पसेर पश्चिम मुख फर्काएर अघ्र्य दिने गर्दछन् । डालोमा रहेका पूजा सामग्रीहरू सूर्यलाई अर्पण गरी अघ्र्य दिने गरिन्छ । सम्पूर्ण विधि सम्पन्न गरी व्रतालुहरू पूजा सामग्रीहरू लिएर घर फर्किने गर्दछन् । कति महिला, पुरुषहरू त त्यहीँ रातभरी जाग्राम बसी छठ परमेश्वरीका गीतहरू गाउने गर्दछन् । पुनः बिहानै सूर्योदयभन्दा पहिले नै उठी पूजा सामग्रीहरूले पूजाआजा गरी भगवान्लाई अर्पण गरी अघ्र्य दिने गरिन्छ । पूजा सकिएपछि यही प्रसाद वितरण गरिन्छ । त्यसपछि आआफ्नै घर फर्किन्छन् र व्रतालुहरू सूर्यपुराण सुन्छन् । यसले नै छठ पर्वको सम्पूर्ण विधि समाप्त हुन्छ ।

छठ पर्वको ऐतिहासिक महत्व रहेको कुरालाई कसैले पनि नर्कान सकिन्न । यद्यपि छठ पर्व कहिलेबाट सुरु भयो भन्ने कुराको यकिन गर्न कठिन छ । सूर्य पुराणमा वर्णित कथाअनुसार कात्तिक शुक्ल षष्ठीका दिन सुख, सौभाग्य, समृद्धि र दाम्पत्य प्रेमको निरन्तरताका लागि अत्रि ऋषिकी पत्नी सती अनुसुयाले गरेकी थिइन् र छठपर्व आरम्भ भयो । महाभारत पर्वमा वर्णन भएअनुसार ५ पाण्डव पत्नी द्रौपदीले १ सय ८ पटक सूर्यको मन्त्र जप गरी कात्तिक शुक्लषष्ठीका दिन व्रत बसेको र व्रतको प्रभावबाट पाण्डवहरू सफल भएको मानिएको छ । ऋग्वेदमा ऋषिहरूले सूर्यदेवको पूजा गर्ने गरेको उल्लेख छ ।

त्यसैगरी आयुर्वेदमा सूर्यको महत्व ब्रम्हाण्डमा ज्यादा रहेको सम्पूर्ण चराचर जगत्का निम्ति अनिवार्य चिजको रूपमा लिइएको छ ।त्यसैले सूर्यलाई शक्तिको महत्वपूर्ण श्रोतको रूपमा पूरा गर्न थालियो । छठपर्वको महिमा रोगव्याधी निको हुने विश्वास बढ्दै गएको छ । आफ्नो दुःखकष्ट र रोग निको होस् भने भाकल गरेपछि रोगमुक्त भएका कतिपय श्रद्धाजुभक्तजनको अनुभव सुन्न पाइन्छ । सुखशान्ति र धनधान्यको कामनासहित छठको व्रत बसी पूजा गरेमा मागेको वरदान पाइन्छ भन्ने जनविश्वास छ । हिन्दू धर्म दर्शनमा ॐकारको सम्बन्ध सूर्यसित नै दर्शाइएको र ॐकार नै सूर्र्यको आदित्यरूप भएकाले त्यसको आराधनाका लागि निर्देशित गरिएको छ ।

छठपर्वले कर्मप्रतिको निष्ठामा विशेषरूपमा जोड दिएको पाइन्छ । कर्मको फल मीठो हुन्छ र मानव समुदाय साँचो मनले कर्मप्रति समर्पित हुनुपर्ने छठपर्वको मौलिक उपदेश रहेको सबै जनमानसको विचार रहेको छ । छठपर्वमा सबै जातजातीबीच साम्प्रदायिक सद्भाव वृद्धि गर्ने कुरालाई जोड दिएको छ । जनमानसमा प्रसन्नता, सद्भाव सौहाद्र्रता फैलाउन छठपर्वले भूमिका खेलेको र यसको प्रभावबाट सबै रोग र विकृति नाश भई सुख, शान्ति, समृद्धि प्राप्त हुने मान्यता छठपर्व मान्नेहरूले राख्ने गरेको पाइन्छ ।

प्रतिक्रिया