बेजिङ । चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले राष्ट्रपति सी जिनपिङलाई पार्टीको विधानमा माओ सरहको स्थान दिएको छ । पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सीको राजनीतिक विचारलाई ‘नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सी जिनपिङको विचार’ भन्ने नारा समाविष्ट गरेको छ ।
चीनमा हालसम्म त्यस्तो सम्मान कम्युनिस्ट पार्टीका संस्थापक नेता माओलाई र सन् १९८० को दशकमा चीनमा आर्थिक सुधार ल्याएका देङ सिआओपिङलाई मात्रै दिइएको छ । बिबिसीकी चीन सम्पादक क्यारी ग्रेसी भन्छिन्, ‘कम्युनिस्ट चीनमा यो तेस्रो चरणको विकासले पार्टीको महत्वाकांक्षालाई देशभित्रै र विदेशमा सशक्त रूपमा लागू गराउने संकेत गरेको छ ।’
पार्टीको विधानमा गरिएको अन्य संशोधनले राष्ट्रपति सीलाई थप शक्तिशाली बनाएको छ भने उनका प्रतिद्वन्द्वीलाई कमजोर तुल्याएको छ । सन् २०१२ मा नेता भएपछि सीले क्रमिक रूपमा सत्तामाथि आफ्नाे नियन्त्रण बढाउँदै लगेका छन् । पछिल्लो संशोधनको अर्थ राष्ट्रपति सीलाई दिइने कुनै पनि चुनौतीलाई कम्युनिस्ट पार्टीको शासनका निम्ति खतराको रूपमा लिइनेछ । गतहप्ता राष्ट्रपति सीको ३ घन्टा लामो भाषणबाट कम्युनिस्ट पार्टीको महाधिवेशन सुरु भएको थियो ।
त्यसबेला उनले पार्टीमा आफ्नो हैसियत थप मजबुत बनाउँदै आफ्नो छुट्टै राजनीतिक सिद्धान्त प्रस्तुत गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनलाई चीनमा सबैभन्दा ठूलो राजनीतिक घटना मानिन्छ । बिबिसीकी चीन सम्पादकका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ नारा उच्चारण गर्न खासै सहज हुनेछैन । तर, चिनियाँ कम्युनिस्ट पार्टीका ९ करोड सदस्यका साथै विद्यालय एवं कलेजका विद्यार्थी तथा सरकारी कारखानाका कर्मचारीले पनि अब ‘नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सी जिनपिङको विचारधारा’ पढ्नेछन् ।
‘नयाँ युग’ ले आधुनिक चीनको तेस्रो चरणलाई इंगित गर्दछ । पहिलो चरणमा संस्थापक अध्यक्ष माओले गृहयुद्धले क्षतविक्षत भएको देशलाई एकढिक्का बनाए भने दोस्रो चरणमा देङ सिआओपिङले चीनलाई समृद्ध बनाए । यो नयाँ युगमा सिले देशलाई थप एकढिक्का र समृद्ध बनाउनुका साथै देशभित्र अनुशासित बनाएका छन् भने देशबाहिर सशक्त रूपमा प्रस्तुत गरेका छन् । एक हप्ता लामो महाधिवेशनबाट २ हजारभन्दा बढी प्रतिनिधिले प्रान्तीय प्रमुख, गभर्नर र सरकारी स्वामित्वका उद्योगहरूका प्रमुख चयन गरेका छन् ।
प्रतिक्रिया