वासिंगटन । आतंककारी समूह आइएसको आक्रमणबाट मारिएका १ जना अमेरिकी सैनिककी पत्नीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टेलिफोनले झनै दुःखी बनाएको बताएकी छन् । यसै महिनाको सुरुमा नाइजेरमा आइएससँगको भिडन्तका क्रममा मारिएका ४ जना अमेरिकी सैनिकमध्येका १ जना थिए सार्जेन्ट ला डेभिड । सो क्रममा मारिएका ती अमेरिकी सैनिक डेभिडकी पत्नीले दिएको सो अभिव्यक्ति यतिखेर अमेरिकी मिडियामा व्यापकता रूपमा आएको छ ।
राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गर्न उनलाई टेलिफोन गरेको बताइएको छ । त्यस क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो पतिको नाम सम्झन नसकेको दुःखेसो उनले पोखेकी छन् । उनले अमेरिकी सञ्चारलाई पनि सो प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन्, ‘मेरा श्रीमान्ले देशको लागि ज्यान गुमाउनु परेको छ र त्यो पीडा त मसँग छँदै नै छ । त्यसैमा पनि समवेदना दिनका लागि भन्दै मुलुकका राष्ट्रपतिले फोन गर्दा पनि देशको लागि मारिएका सहिदको नाम सम्झिन नसक्नुले मलाई थप पीडा दिएको छ ।’
डेभिडकी पत्नीले एक अमेरिकी टेलिभिजनसँग कुरा गर्दै सोमबार सो दुःखेसो गरेकी थिइन् । उनले राष्ट्रपतिको टेलिफोनले आफूलाई झन रुवाएको बताएकी थिइन् । डेभिडकी गर्भवति पत्नी मेशिया जनसनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्ना दिवंगत पतिको नाम सम्झन कठिन अनुभव गरेको र यस्तो थाहा पाउनुपर्दा आफूलाई झनै ठूलो चोट पुगेको बताएको समाचार आएको थियो । नाइजरमा इस्लामिस्ट उग्रवादीहरूको हमलामा ४ जना अमेरिकी सेना मारिएका थिए । त्यसमा परी सार्जेन्ट ला डेभिड जनसनको पनि मृत्यु भएको थियो ।
प्रतिक्रिया