केन्द्रकोे अवज्ञा गर्दै क्याटालान संसद् आह्वान

catolaniaम्याड्रिड । स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरू फिर्ता लिनसक्ने जनाएको छ । सो विषयमा केन्द्र सरकारले प्रस्ताव पनि गरेको बताइएको छ ।  उक्त प्रस्तावलाई स्पेनको संसद्को शुक्रबार बस्ने बैठकले अनुमोदन गर्नसक्ने अनुमान पनि गरिएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । क्याटालानलाई दिएका के कति अधिकारहरू फिर्ता लिने भन्ने बारेमा स्पेनको संसद्मा छलफल हुनेछ ।

स्पेनका प्रधानमन्त्री मारिआनो राखोइले क्याटालनको क्षेत्रीय सरकारलाई बर्खास्त गर्ने तयारी स्पेन सरकारले गरेको जानकारी यसअघि नै दिएका थिए । साथै त्यहाँको संसद्लाई यसअघि केन्द्रीय सरकारबाट प्राप्त स्वतन्त्रतासम्बन्धी केही अधिकारहरू कटौती गर्ने योजना पनि स्पेन सरकारको रहेको उनले बताएका थिए । उता क्याटालोनियाको क्षेत्रीय संसदले भने आगामी बिहीबार नै क्षेत्रीय संसद्को बैठक बोलाएको छ । स्पेन सरकारले उसलाई अधिकारविहीन बनाउनसक्ने अनुमान गरिएकोले अगावै यो बैठक बोलाएको पाइएको छ ।

स्पेनको संसद्, सिनेटभन्दा एक दिनअगाडि नै अर्थात बिहीबार नै बैठक बस्ने घोषणा उक्त क्षेत्रीय सरकारले गरेको समाचारमा जनाइएको छ । सो क्याटालान संसद्मा स्पेनको केन्द्रीय संसद्ले आफ्नो नियन्त्रण कायम गर्न चालेको कदमका विरुद्धमा अथवा सो कदमप्रति के कस्तो गृहकार्य गर्ने भन्ने बारेमा त्यस बैठकमा छलफल गरिने बताइएको छ । क्याटालान क्षेत्रीय संसद् र स्पेन सरकारकाबीचमा पछिल्लो यस समयमा शक्ति संघर्ष जारी नै रहेका बेला क्याटालान संसद्ले नै एकतर्फी रूपमा स्वतन्त्रताको घोषणा गर्नसक्ने अनुमानका समाचारहरू पनि आइ नै रहेका छन् ।

त्यसैले पनि अहिले क्याटालान स्वतन्त्रताको पक्षमा रहेका पृथकतावादी नेताहरूले भने स्पेनको केन्द्रीय सरकारले दिने कुनै पनि आदेश पालना नगर्ने अथवा शान्तिपूर्ण अवज्ञा गर्ने योजना बनाएको पनि बताएका छन् । केन्द्र सरकार क्याटालान जनताको चाहना विपरीत लागेको आरोप पनि लगाएका बताइएको छ । त्यसैले यी सबै विषयहरूमा बिहीबार बैठक बसेर क्याटलान संसद्ले आफ्नो योजनाहरू सार्वजनिक गर्ने बताइएको छ । साथै स्वतन्त्रताका पक्षधर नेताहरूले एकतर्फी रूपमा आफ्नो यसअघिको स्वतन्त्रताको घोषणालाई नै अनुमोदन गर्नसक्नेगरी निर्णय लिन सक्ने बारेमा व्यापक समाचारहरू आएका छन् ।

प्रतिक्रिया