धमाधम इसाई हुँदै रोहिंज्या

isaiदिल्ली १ कात्तिक । मोहम्मद सुल्तान आफ्नो परिवारका अन्य सदस्यसहित म्यानमारबाट भागेर भारत पुगेको ५ वर्ष भएको छ । मोहम्मद सुल्तानबाट अहिले जन सुल्तान बनिसकेका छन् । दिल्लीको उत्तम नगरस्थित रोहिंज्या बस्तीमा बस्दै आएका जन सुल्तानले फेसबुकमा र साथीहरूमाझ इसाई धर्मको प्रचारप्रसार गर्दै आएका छन् ।सुल्तान मात्रै होइनन् उनको बस्तीमा बस्ने करिब १ सय २० जनाले इसाई धर्म मान्न थालेका छन् । उक्त बस्तीमा गिर्जाघर पनि छ र उनीहरू त्यहाँ प्रार्थना गर्न जान्छन् । अचेल सो बस्तीमा जन्मिने बच्चाहरूको इसाई नाम राख्न थालिएको छ । सोही बस्तीमा बस्ने कबीरका ३ जना छोराछोरी छन् रुबिना, फारमिन र स्यामुअल । १३ वर्षीया रुबिना र ७ वर्षीया फारमिनको म्यानमारमा जन्म भएको थियो भने ७ महिना पहिले स्यामुअल भारतमा जन्मिएका हुन् ।

शरणार्थी बस्तीमा बस्ने हकिमले भारत आएपछि जन्मिएका आफ्नो छोराको नाम पिटर राखेको बताएका छन् । इसाई नाम राख्नुको कारणबारे उनले भने, ‘यो नामको चर्चा बाइबलमा पनि गरिएको छ । हामी इशुलाई मान्दछौँ, त्यही भएर त्यो नाम राखेको हुँ ।’ शरणार्थी बस्तीको ठ्याक्कै अगाडि गिर्जाघर पनि छ तर उनीहरू त्यहाँ जाँदैनन् ।आफूहरूलाई त्यहाँ जान प्रतिबन्ध लगाइएको जन सुल्तानले बताए । उनले भने, ‘हाम्रो बस्तीभित्रै गिर्जाघर छ । अगाडिको गिर्जाघरमा हामी जाँदैनौँ । त्यो क्याथोलिकहरूको गिर्जाघर हो तर हामीहरू प्रोटेस्टेन्ट हौँ ।’ शरणार्थी बस्तीका अर्का रोहिंज्या करिमले हरेक आइतबार आफूहरूले गिर्जाघरमा सामूहिक प्रार्थना गर्ने गरेको बताए ।

जन सुल्तान अंग्रेजी बोल्छन् र आफ्नो फेसबुक प्रोफाइलमा अंग्रेजीमै लेख्छन् । रोहिंज्याहरूमाथि म्यानमारमा हुने गरेका आक्रमण र इसाई धर्मसँग सम्बन्धित विषयमा उनले लेख्ने गरेका छन् ।जन सुल्तानले धर्म परिवर्तनसँग सम्बन्धित एउटा भिडिओ पनि आफ्नो फेसबुकमा राखेका छन् जसमा इसाई बन्ने कथा छ । बाइबलका उपदेश पनि उनले फेसबुकमा लेख्ने गरेका छन् । शरणार्थी बस्तीमा बस्ने रोहिंज्याहरूलाई विभिन्न धार्मिक संगठनले सहयोग गरिरहेका छन् र जन सुल्तान तिनीहरूमध्ये एउटा संगठनमा आबद्ध छन् ।

हालै १० कक्षाको परीक्षा दिएका जन सुल्तान अध्ययनबाहेक फुटबल पनि खेल्छन् । रोहिंज्या शरणार्थीहरूको बस्ती चारैतिरबाट पर्खालले घेरिएको छ र आफूहरू बस्दै आएको जग्गाको उनीहरूले भाडा तिर्छन् । हकिमले भने, ‘हामी यहाँ डेढ वर्षदेखि बसिरहेका छौँ । पहिलो वर्ष भाडावापत २ लाख रुपैयाँ तिरेका थियौँ भने भाडा बढेकोले अर्को वर्ष २ लाख २० हजार तिर्नुप¥यो ।’ त्यहाँ बस्दै आएका सबैले मिलेर जग्गाको भाडा तिर्ने गर्छन् र महिला तथा बालबालिकासहित प्रति १ जना २ हजार रूपैयाँ तिर्नुपर्ने हुन्छ । बस्तीमा सिसिटिभी जडान गरिएका छन् भने प्रवेशद्वारमा ‘वाच टावर’ राखिएको छ जसबाट बस्तीमाथि निगरानी गरिन्छ ।

अपरिचितलाई बस्तीमा जान निषेध गरिएको छ । त्यहाँ बस्ने महिलाहरू आपसमा बर्मेली भाषामा कुरा गर्छन् र बाहिरी दुनियाँसँग उनीहरूको सम्पर्क हुँदैन । पुरुषहरू काम गर्न बाहिर जान्छन् तर उनीहरू पनि बाहिरका मानिसहरूसँग घुलमिल हुँदैनन् । शरणार्थी बस्तीमा धुमधामका साथ क्रिसमस मनाइन्छ र आउँदो क्रिसमसको तयारीका लागि युवाहरूले योजना बनाइरहेका छन् । परिवारका ६ जनालाई पालिरहेका हकिम भन्छन्, ‘अब हामी मुस्लिम रहेनौँ, हामीलाई इसाई धर्म राम्रो लाग्छ ।’ भारतमा करिब ४० हजार रोहिंज्या शरणार्थी छन् र उनीहरू विभिन्न राज्यमा बस्दै आएका छन् । उनीहरूमध्ये करिब १६ हजारले राष्ट्रसंघीय शरणार्थी निकायबाट परिचयपत्र पाएका छन् ।

तर, हालसालै भारतीय गृहराज्यमन्त्री किरण रिजुजुले सबै रोहिंज्यालाई उनीहरूको देश फिर्ता पठाइने बताएका थिए । त्यसबारे भारतको सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । रोहिंज्या शरणार्थीबारेको रिटमाथि गत शुक्रवार सुनुवाई गर्दै सर्वोच्च अदालतले मुद्दाको किनारा नलागेसम्म रोहिंज्याहरूलाई स्वदेश फिर्ता नपठाउन आदेश दिएको थियो । उक्त मुद्दाको सुनुवाई नोभेम्बर २१ तारिखसम्मका लागि स्थगित गरिएको छ । उत्तम नगर वरपर बस्ने मानिसहरूका अनुसार पहिला रोहिंज्याले आफूहरू मुस्लिम भएको बताउने गर्दथे । एक महिलाले भनिन्, ‘पहिलापहिला उनीहरूले आफूलाई मुस्लिम भन्दथे र सेतो टोपी पनि लगाउँथे तर अहिले उनीहरू गिर्जाघर जान थालेका छन् ।’

रोहिंज्या शरणार्थीका लागि काम गर्दै आएको जकात फाउन्डेसन अफ इन्डियाका अध्यक्ष डा.सय्यद जफर महमुद धर्म परिवर्तन मान्छेको व्यक्तिगत मामिला भएको बताउँछन् । उनले भने, ‘यदि रोहिंज्याहरू आपैmँले धर्म परिवर्तन गर्ने निर्णय गरेका हुन् भने त्यो उनीहरूको अधिकारको कुरा हो तर जबरजस्ती वा प्रलोभनमा पारेर धर्म परिवर्तन गराइन्छ भने त्यो असंवैधानिक हुन्छ ।’ उनले रोहिंज्याका लागि काम गर्दै आएका संगठनहरूले शरणार्थीसम्बन्धी राष्ट्रसंघीय निकायका बैठकहरूमा धर्म परिवर्तनबारे कुनै कुरा नराखेको बताए ।

प्रतिक्रिया