सामाजिक विकासमा प्रहरीको भूमिका

traffic-police-tries-minसमाज परिवर्तनशील भएकाले त्यहाँको समस्या पनि परिवर्तन भइरहन्छ । हाम्रा पुर्खा आदिम मानव अविकसित थिए । ढुंगे युगबाट अगाडि बढ्दै मानव यस २१आैँ शताब्दीमा आइपुगेको छ । समयको क्रमसँगै विभिन्न क्षेत्रमा विकास हुँदै आएको छ । विकासका गतिविधि वातावरणमैत्री नहुँदा आज अनेकौँ समस्या आइरहेका छन् । मानव अनेकौँ समस्यासँग जुध्दै र ती समस्याको समाधान गर्दै अगाडि बढ्ने अवस्थामा छ । पछिल्लो समयमा स्वार्थका कारण मानवमा धर्म, नैतिकता, इमानजस्ता धेरै गुणहरूको खडेरी पर्दै गएको आभास हुन्छ ।  एक परिवारबाट अर्को परिवार हुँदै समाज बन्छ र समाजहरूको समूहबाट राष्ट्र बन्छ ।

आज समाज निकै जटिल समस्याले ग्रसित छ । समाजमा बस्ने सबैमा सकारात्मक सोच हुँदैन । गलत क्रियाकलापमा संलग्न हुने एक÷दुई जनाले समाजमा अपराध जन्माउँछन् । त्यसबाट जब लाभ हुन थाल्छ उनीहरू अझ उत्साहित बन्छन् र विभिन्न समूह बनाएर धेरै स्थान आपराधिक क्रियाकलाप फैलाउँदै जान्छन् । त्यस्तो अमानवीय र कानुनले निषेध गरेको कार्यलाई नियन्त्रण गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्ने गहन जिम्मेवारी सम्हालेर रहने प्रहरी वास्तवमा सिंगो देशका पहरेदार हुन् ।  आफ्नो घरपरिवार इष्टमित्र जात्रा पर्व कोहीको वास्ता नगरी हरदम राष्ट्र सेवामा तल्लीन रहने राष्ट्रसेवक प्रहरीहरूको योगदान हरेक क्षेत्रमा छ ।

समाजमा घट्ने आपराधिक घटनाहरू नियन्त्रण गर्ने, अपराधीलाई पक्रने र त्यस्ता गतिविधि हुन नदिनका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने विविध कार्यक्रमको परिणामले क्रमशः आपराधिक मानसिकतामा परिवर्तन आएर समाज सुध्र्रिएका अनेकौँ दृष्टान्त छन् । समुदायमा हुने गलत क्रियाकलापलाई निरूत्साहित गर्नका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गरी शान्त, सभ्य र समुन्नत समाजको निर्माणमा प्रहरीहरू खटिरहेका हुन्छन् । व्यक्तिगत समस्यादेखि सामूहिक समस्यामा आफ्ना सबै तहका सेवकलाई एकीकृत गरी निरन्तर देशका लागि खट्ने सच्चा राष्ट्रभक्तका लागि कामबाट बिदाको समय मिलाउन हम्मे हुन्छ ।

आफ्नो जिम्मेवारीप्रति सचेत भएर चाडपर्वमा समेत छुट्टी नलिने अवस्था आउँछ । आफ्नै सहकर्मीका बीचमा रमाइलो गर्दै चाडपर्वमा रम्न बाध्य हुने प्रहरीहरू दसैंतिहारजस्ता पर्व र घरमा हुने उत्सवमा पनि आफूलाई कार्यक्षेत्रमा नै राखेर रमाइरहेका हुन्छन् । लुटपाटका घटनादेखि लागुऔषध कारोबारसम्मका गतिविधिमा प्रहरीले ध्यान पु¥याउनु पर्छ । संगठित अपराधका घटना, महिला हिंसाका अनेकौँ स्वरूप, श्रम बजारमा बालबालिकाको शोषण, मानव बेचविखनको समस्यालाई न्यूनीकरण गर्न पनि प्रहरीहरू उत्तिकै दत्तचित्तका साथ लागेका हुन्छन् । दिनरात नभनी आफ्नो कार्यमा लागेका इमानदार प्रहरीलाई देश विकासको महत्वपूर्ण आधार मान्नुपर्ने हुन्छ ।

किनभने समाजमा शान्ति सुव्यवस्था कायम गर्न सकिएन भने विकासले गति लिन सक्दैन। जहाँ शान्ति कायम हुन्छ, त्यहाँ नै विकास निर्माणका कार्य प्रभावकारी रूपमा सम्पादन हुने भएकाले नै शान्ति र विकास एकअर्काबीच पूरक छन् । प्रहरी सेवामा लाग्ने कर्मठ देशभक्तहरू विपद् व्यवस्थापनमा पनि उत्तिकै खटेको देखिन्छ । यस यथार्थलाई २०७२ साल वैशाखमा आएको विनाशकारी भूकम्पपश्चात प्रहरीबाट भएका उद्धार र राहतका कार्यबाट प्रस्ट हुन्छ । दैवी विपत्तिलाई रोक्ने सामथ्र्य मानवमा हुँदैन तर सजग भएर कम क्षति गर्न भने अवश्य सकिन्छ ।

विपत्तिपश्चात जसरी प्रहरीले मानवीय उद्धार र भौतिक संरचनाबाट घाइते र मृतकलाई निकाली व्यवस्थापन ग¥यो त्यो निःस्वार्थ सेवा देख्ने जो कोहीले प्रहरीको प्रशंसा नगरी रहन सक्दैन । भूकम्प मात्रै होइन आगलागी, बाढीपहिरो र भूक्षयबाट पीडित, विभिन्न दुर्घटना आदिमा परेका नागरिकलाई असहज अवस्थाबाट सामान्य अवस्थामा फर्काउने महत्वपूर्ण भूमिका सधैँ प्रहरीबाट निर्वाह हुँदै आएको छ र यो सामान्य कार्य होइन ।  सामाजिक शान्ति खलबल्याउने कार्यमा सघाउनेहरूको विरूद्धमा लड्ने मात्र नभई सवारी व्यवस्थापनमा समेत तिनै प्रहरी खटेर सडकको ट्राफिक जाम हटाउने कार्यमासमेत बिहानदेखि राती अबेरसम्म सिठ्ठी बजाएर उभिरहेका हुन्छन् ।

दैनिक थपिने सवारीका साधनलाई साघुँरा सडक, कमजोर प्रविधि र न्यून संख्यामा रहेका ट्राफिक प्रहरीका कारण सडकमा सहज सवारी आवागमनमा कठिनाइ हुनु अस्वाभाविक होइन । चालकमा धैर्यता नहुनु, चालकले नियमको अवज्ञा गर्नु, सवारी चालक अनुमतिपत्र लिने चालक अयोग्य हुनु आदि कारणले पनि सडकमा थप समस्या निम्त्याएको देखिन्छ ।  प्रोत्साहन भत्ताका कारण कतिपय प्रहरी मित्रहरूले चालकलाई अनाहकमा दुःख दिने गरेका घटना पनि नपाइने भने होइन । सवारी साधन गुडाएबापत हरेक सवारीधनीले राज्यलाई कर तिर्ने गर्दछन् । तर, कर तिरेबापत उपलब्ध हुनुपर्ने सडक सुविधा र सवारी साधनको पार्किङ क्षेत्र नहुनुले पनि चालकले दैनिक हैरानीको सामना गरिरहनु परेको छ ।

निःशुल्क भनिएको पार्किङ स्थलमा पनि शुल्क लिइरहेको पाइन्छ । नगरपालिकाले झन्डै २ सय निरीक्षक खटाएर पनि ट्राफिक व्यवस्थापनमा त्यसको प्रभाव नगन्य मात्रै हुनु दुःखद् पक्ष हो । सडक चौडा भए पनि सहज पार्किङ गराउन नसक्नुमा चालक पनि उत्तिकै जिम्मेवार त छन् तर बढी जिम्मेवारी भने नगरपालिकाकै हुन आउँछ । नागरिक पनि विनाबर्दीका प्रहरी भएकाले प्रहरीको मात्रै जिम्मेवारी हो भनेर पन्छने कार्य नगरौँ । समाजमा अमनचैन कायम गर्न होस् या ट्राफिक व्यवस्थापन गर्नमा नै किन नहोस् सदा प्रहरीसँग मिलेर हातेमालो गरे अगाडि बढ्न सकेमा सबै कार्य सहज रूपले गर्न सकिनेमा कसैको पनि विमति नरहला ।

प्रतिक्रिया