‘वित्तीय सहकारीका समस्या र समाधानको मार्ग‘

ballav timilsena1

-बल्लभ तिमल्सिना ,कार्यक्रम अधिकृत, नेफस्कुन
गएको हप्ता राजधानी काठमाडौंका केही सहकारीहरूका वित्तीय संकटका समाचारहरू पढ्न पाइयो । हुन त यो नयाँ र नौलो होइन । राजधानी मात्रै नभई देशका विभिन्न भागमा समेत सहकारी सञ्चालकहरू फरार भएको, खारेजीमा परेका जस्ता समाचारहरू आइरहेका छन् । देशको जनसंख्या र भौगोलिक क्षेत्रको आधारमा सहकारीको संख्या अत्यधिक रहेकाले पनि सहकारीका नकारात्मक समाचारहरू दिनहुँजसो पढ्न पाइन्छ । सहकारीको संख्या मुलुकको जनसंख्या र भूगोलको आधारमा व्यवस्थित भएको भए सम्बन्धित निकायले सहजै नियमन गर्न सम्भव हुन्थ्यो र यस्ता समाचारहरूमा कमी आउन सक्थ्यो ।

हुन त विभिन्न वर्गका बैंकहरूमा समेत यदाकदा वित्तीय समस्याहरू देखिन्छन् नै, ती समस्यालाई हेर्ने, जाँच गर्ने, आवश्यक परामर्श दिने नियामक निकाय राष्ट्र बैंक भएकोले त्यसको असर आमनिक्षेपकर्तासम्म तत्कालै आइपुग्दैन । नियामक निकायको सुक्ष्म व्यवस्थापन र अनुगमनले त्यस्ता क्षेत्रको वित्तीय जोखिम घटाएको हुन्छ ।

किन सहकारीहरू असफल हुन्छन् त ?
यो विषयले थुप्रै पक्षहरूलाई समेटछ । सहकारी संस्था असफल हुनुमा यति नै कारणहरू हुन्छन् भनेर ठोकुवा गर्न गा¥हो हुन्छ । तैपनि केही विषम पक्षहरूलाई यहाँ बुँदागत रूपमा प्रस्तुत गर्ने जमर्को गरेको छु ।

कारण १. गैर वित्तीय लगानी ः सहकारी संस्थाको मुख्य वित्तीय स्रोत वचत, सेयर पुँजी र विभिन्न कोषहरू हुन् । सहकारीले गैर वित्तीय क्षेत्रमा गरेको लगानीको प्रतिफल निश्चित हुँदैन । सदस्यले माग गरेको बखत वचत वा सेयर फिर्ता गर्न नसक्ने अवस्था आँउछ जसले वित्तीय संकट निम्त्याउँछ । हालैका दिनहरूमा सहकारीहरूमा देखिएको समस्यामध्ये यो सबैभन्दा पहिलो कारण हो । अत्यधिक मात्रामा घरजग्गा खरिदमा ऋण प्रवाह गर्नु पनि गैर वित्तीय लगानी हो । उत्पादनशील क्षेत्रमा गरिने लगानीलाई बेवास्ता गर्दै जाने हो भने कुनै दिन यो क्षेत्रमा भयावह स्थिति देखापर्ने निश्चित छ ।
समाधानको मार्गः

 गैर वित्तीय क्षेत्रमा लगानी गर्न अनुमति पाएका सहकारीहरूले सबैभन्दा पहिले सम्पत्ति दायित्वको उचित व्यवस्थापन गर्ने ।
 वित्तीय सहकारीहरूले गैर वित्तीय क्षेत्रमा हुने लगानीलाई शून्य बनाउने । पहिले नै गरिएका लगानीलाई घटाउँदै लाने ।

कारण २. ऋण लगानीको सही व्यवस्थापन नहुनु ः मुख्यतः वित्तीय सहकारीहरूले ऋणको व्यवस्थापनलाई वैज्ञानिक बनाउन नसक्नु अर्को ठूलो कमजोरी हो । भावनात्मक र व्यावहारिक रूपमा लगानी गरिने ऋण लगानीहरूमा अत्यधिक जोखिम रहन्छ । त्यस्तै ऋण लगानी गर्नुपूर्व आवश्यक विश्लेषण नगरी व्यावहारिक पक्षलाई मात्र ध्यानमा राखेर गरिएको ऋण लगानी असुली हुने सम्भावना न्यून हुन्छ र यसले वित्तीय संकट निम्त्याउँछ ।

सहकारीमा ऋणको भाखा नाघ्नु, भाखा नाघिसकेपछि त्यसको पहिचान हुन नसक्नु र असुली कार्यलाई वैज्ञानिक बनाउन नसक्नु सबैभन्दा ठूलो कमजोरी हो । गैरवित्तीय क्षेत्रमा लगानी गर्नका लागि अनुमति पाएका सहकारीहरूले सम्पत्ति दायित्वको व्यवस्थापन गर्न नसक्दा त्यसले पनि वित्तीय समस्या निम्त्याउँछ।

समाधानको मार्गः
 ऋण प्रवाह गर्दा भावनात्मक र व्यवहारिक पक्षलाई ध्यान नदिने,
 लगानी गर्नुपुर्व अनिवार्य रूपमा ऋण विश्लेषण गर्ने प्रणाली स्थापित गर्ने,
 साना साना ऋणलाई बढी प्राथमिकता दिने ताकि जोखिम न्यून गर्न सकियोस्,
 ऋणको प्रशासन चुस्त बनाउने, सञ्चालक समितिले ऋण लगानी र असुलीमा प्रत्यक्ष संलग्न नहुने,
 ऋण उपसमिति गठन गर्दा क्षमताको आधारमा गर्ने,
 ऋण उपसमितिलाई नै लगानी र असुलीमा सक्रिय बनाउने,
 ऋण लगानी गर्दा कुल सम्पत्तिको ७० देखि ८० प्रतिशतको हाराहारीमा कायम राख्ने,
 ऋण परामर्श गर्ने प्रणाली स्थापित गर्ने र आवश्यकता र क्षमताको आधारमा मात्र लगानी गर्ने,
 गैर उत्पादनशिल क्षेत्रमा हुने ऋण प्रवाहलाई कुल ऋणको २० प्रतिशतभन्दा कम कायम गर्ने,
 ऋण पोर्टफोलियोको स्वास्थ्य नियमित परीक्षण गर्ने,
 ऋण लगानी अनिवार्य रूपमा किस्ताबन्दीमा गर्ने । ओभरड्राफ्ट वा यस्तै प्रकृतिका ऋण लगानी गर्दा सहकारी संस्थाहरूको तरलता व्यवस्थापनमा कठिनाइ हुन्छ ।

कारण ३. सदस्य शिक्षामा कमी ः सहकारीले आफ्नो सदस्य शिक्षा कार्यक्रमहरूमा संस्थाको नीति, नियमहरू, वस्तु तथा सेवाको बारेमा जानकारी गराउन सक्नुपर्छ । मुख्यतः वित्तीय अनुशासन र वित्तीय साक्षरतामा सदस्य शिक्षा केन्द्रित रहनुपर्छ ।

समाधानको मार्गः
 सदस्य शिक्षाको लागि आवश्यक बजेटको तयारी गर्ने,
 शिक्षा उपसमितिलाई सक्रिय बनाउने,
 सदस्य शिक्षाको पाठ्यक्रम निर्माण गर्ने,
 वार्षिक कम्तिमा निश्चित प्रतिशत सदस्य समेटिने गरी विभिन्न शैक्षिक कार्यक्रमहरू गर्ने,
 संस्थाको नीति, नियम, वचत ऋणका सेवा लगायतका विषयहरूको प्रशारण गर्ने,
 सम्भावित सदस्यहरूलाई समेत लक्षित गरी कार्यक्रमहरूको आयोजना गर्ने ,
 सदस्य शिक्षाका कार्यक्रमहरूमा अडियो भिडियोको प्रयोग गर्ने,
 पूर्वसदस्य शिक्षामा विशेष जोड दिने ।

कारण ४. व्यवस्थापकीय क्षमतामा कमी ः नीति तथा कार्यक्रम तथा बजेटको कार्यान्वयनको जिम्मा व्यवस्थापनको हो । वित्तीय बजारमा भइरहेका परिवर्तनहरू, छिटोछिटो परिवर्तन हुने प्रविधिहरूलाई आत्मसात गर्न नसक्नुले पनि संस्थालाई अगाडि बढाउन सकिँदैन ।

समाधानको मार्गः
 व्यवस्थापनको क्षमता अभिवृद्धिमा विशेष जोड दिने,
 निरन्तर तालिम तथा अध्ययनलाई जोड दिने,
 ज्ञान बाँड्ने विषयलाई महत्व दिने,
 व्यवस्थापनका आधुनिक तौर तरिकाहरू सिक्ने, लागू गर्ने ।

कारण ५. जोखिम विश्लेषण नहुनु ः सहकारी संस्था स्वभावैले जोखिम रहने क्षेत्र हो । संस्थाभित्रको वित्तीय र गैर वित्तीय जोखिमहरूको पहिचान, विश्लेषण र न्यूनिकरणका उपायहरू बेलैमा अपनाइएन भने भविष्यमा संकट निम्तन्छ । आमधारणामा हेर्ने हो भने सहकारीमा के नै जोखिम हुन्छ र भन्ने गरेको पाइन्छ । जोखिम त ठूला बैंक वित्तीय संस्थामा मात्र हुन्छ भन्ने धारणालाई चिर्न जरुरी छ ।

वित्तीय व्यवस्थापन गर्न नसक्दा त्यसबाट उत्पन्न हुने जोखिमको बारेमा विश्लेषण गर्नु अति जरुरी छ । हामीले अनुभव गरेका छौँ, अर्बाैंको सम्पत्ति भएका सहकारी संस्थाहरू अब कहिल्यै उठ्न नसक्ने गरी जोखिममा परेका छन् । गैर वित्तीय जोखिम भन्नाले नीतिगत जोखिम, व्यवस्थापकीय जोखिम, प्रविधिमा हुने जोखिम, मानव संसाधनमा हुने जोखिम आदि हुन् ।

समाधानको मार्गः
 विशेषगरी व्यवस्थापन पक्ष जोखिम पहिचान गर्न सक्ने हुनुपर्छ ,
 आवधिक रूपमा जोखिमका क्षेत्रहरूको पहिचान गरी न्यूनीकरणका उपायहरू सहित प्रतिवेदनको तयारी, आवश्यक छलफल र रणनीतिमा केन्द्रित हुनु । व्यवस्थापन गर्न सक्ने जोखिमलाई बेलैमा व्यवस्थित गरिहाल्नुपर्छ ।

कारण ६. वित्तीय विश्लेषण नहुनु ः वित्तीय कारोबारमा संलग्न सहकारी बचत ऋण सहकारीहरू हुन् । पूर्णरूपमा बैंकिङ कार्य गर्ने वचत ऋण सहकारीहरूको वित्तीय विश्लेषण सबैभन्दा महत्वपूर्ण पक्ष हो । विश्व ऋण परिषद्ले प्रतिपादन गरेको पल्स अनुगमन प्रणालीलाई अबलम्बन गर्ने, त्यसका सूचक तथा अनुपातहरूको सही ढंगबाट विश्लेषण गर्ने र सोही अनुसार रणनीति बनाउँदै जाने हो भने वित्तीय समस्या बेलैमा पहिचान भई त्यसको उचित व्यवस्थापन गर्न सकिन्छ ।

समाधानको मार्गः
 मासिक रूपमा पल्स प्रतिवेदन तयारी गर्नु,
 पल्स लगायतका वित्तीय प्रतिवेदनहरूको गहिरो अध्ययन गर्नु,
 सूचकहरू लक्ष्य अनुरूप नभए तत्कालै आवश्यक रणनीतिहरू बनाई लागू गर्नु ।

कारण ७. अत्यधिक महत्वाकांक्षा ः सहकारी संस्था सञ्चालन गर्नेको अत्यधिक महत्वाकांक्षाले पनि वित्तीय दुर्घटना निम्त्याएको पाइएको छ । विशेषगरी गैर वित्तीय क्षेत्रमा गरिने लगानी, कार्यक्षेत्र विस्तारमा हुने आकांक्षा, वाह्य ऋणको अनुपातमा वृद्धि हुनु, संस्थाको क्षमताभन्दा कर्मचारीको संख्या अत्यधिक हुनु, स्थिर सम्पत्तिमा अत्यधिक वृद्धि हुनु, संस्थाको नाममा अनावश्यक घर जग्गा खरिद गर्नुजस्ता महत्वाकांक्षाले सहकारी संस्थालाई समस्यामा पार्छ ।

समाधानको मार्गः
 संस्था नीति, नियम र विधिले सञ्चालन हुने प्रणाली स्थापना गर्नु,
 निर्णयहरू गर्दा नीतिलाई ध्यानमा राख्ने,
 नकमाउने सम्पत्तिको वृद्धिमा रोक लगाउने र कुल सम्पत्तिको ५ प्रतिशतभन्दा कम कायम गर्ने,
 कर्मचारीहरू नियुक्ती गर्दा संस्थाको तिर्न सक्ने क्षमतालाई आधार बनाउने,
 कुल सम्पत्ति वृद्धिमा विशेष ध्यान दिने ।

कारण ८. वार्षिक बजेट, नीति तथा कार्यक्रमको सही व्यवस्थापन हुन नसक्नु ः संस्थाले साधारणसभाबाट पारित गरेको वार्षिक बजेट तथा कार्यक्रम, सञ्चालक समितिले पारित गरेका नीतिहरूलाई सही ढंगबाट लागू गर्न नसक्दा संस्था अगाडि बढ्न सक्दैन । संस्थाले गर्ने निर्णयहरू नीति सम्मत र कार्यहरू योजना सम्मत नहुनु समस्याको मुख्य पाटो हो ।

समाधानको मार्गः
 नीति निर्माण, संशोधन गर्ने कार्यमा सञ्चालक समितिको संलग्नता हुनुपर्ने,
 नीतिहरूलाई वार्षिक रूपमा आवश्यक संसोधनसहित अद्यावधिक गरी राख्ने,
 नीति निर्माण हुँदा वा संशोधन हुँदा व्यवस्थापनले तुरुन्तै जानकारी लिने,
 व्यवस्थापनले नीतिहरूको अध्ययन गर्ने,
 वार्षिक कार्यक्रम तथा बजेटलाई मासिक खण्डीकरण गरी सोही अनुसार लागू गर्ने,
 बजेट कार्यान्वयनको अवस्थालाई सुक्ष्म रूपमा हरेक महिना विश्लेषण गर्ने,
 गैर बजेट आर्थिक कारोबारहरू शून्य बनाउने ।

कारण ९. संस्थागत पुँजी वृद्धिमा ध्यान नदिनु ः सहकारी संस्थाको मुख्य मेरुदण्ड संस्थागत पुँजी वृद्धिलाई महत्व नदिनु अर्को जोखिमको पाटो हो । संस्थागत पुँजी वृद्धिभन्दा कोषहरूलाई विभिन्न उपायद्धारा खर्च गर्दै जानुले संस्थागत पुँजीमा कमी आउँछ । संस्थागत पुँजी कमी हुँदा आम्दानीको स्तर घट्न जान्छ, भविष्यमा कुनै वित्तीय संकट आएमा संस्थाले थेग्न सक्दैन ।

समाधानको मार्गः
 कुल सम्पत्तिको अनुपातमा संस्थागत पुँजी ५ प्रतिशतभन्दा बढी कायम हुने गरी वार्षिक बजेटको निर्माण गर्ने,
 कानुनले दिएको अधिकार प्रयोग गरी मात्र नाफाको बाँडफाँड गर्ने,
 सञ्चालन तथा पुँजीगत खर्चहरूलाई बजेटको परिधिभित्र कायम राख्ने,
 सहकारी संस्था लाभांशमुखी नभई सेवामुखी हुनुपर्ने विषयलाई जोड दिने,
 व्यवस्थापनले संस्थागत पुँजी वृद्धिमा विशेष पहल गर्ने ,
 अनुचित तवरबाट लाभांश वितरण नगर्ने,
 भाखा नाघेको ऋणको लागि आवश्यक जोखिम कोष नछुट्याई लाभांश वितरण नगर्ने,
 भाखा नाघेको ऋणलाई ५ प्रतिशतभन्दा कममा कायम राख्ने ।

कारण १०. ऐन, नियमावली, मापदण्ड, अन्तर्राष्ट्रिय अभ्यासलाई आत्मसात नगर्नुः सहकारी ऐन, नियमावलीलगायत सहकारी संस्था सञ्चालन गर्ने अन्र्तराष्ट्रिय अभ्यास तथा अनुभवलाई आत्मसात नगरी पुरानै र परम्परागत धारणाबाट मात्रै संस्था सञ्चालन हुँदा संस्थाको दिगो विकास र वृद्धि हुन सक्दैन । कानुनको उचित पालना, विश्व बजारमा भए गरेका असल अभ्यास र प्रविधिलाई उचित स्थान दिन नसक्दा संस्था पछाडि धकेलिन्छ ।

समाधानको मार्गः
 संस्थाका नीति, नियम, कार्यक्रम तथा बजेटहरू ऐन, नियमावलि बमोजिम छ छैन विश्लेषण गर्ने,
 संस्थाको विनियमले दिएका अधिकारहरूको मात्र प्रयोग गर्ने,
 सहकारीका ऐन, नियमावली, मापदण्ड, विनियम तथा संस्थाका नीतिहरूको गहिरो अध्ययन गर्ने ।

कारण ११. गैर सदस्यसँग कारोबार गर्नु ः सहकारी संस्थामा हुने वित्तीय जोखिमको सबैभन्दा ठूलो गल्ती हो, गैर सदस्यसँग हुने आर्थिक कारोबार । त्यसैगरी जानाजानी प्रोक्सी ऋणीसँग हुने आर्थिक कारोबारले ठूलै वित्तीय समस्या ल्याएको पाइएको छ । गैर सदस्य र कार्यक्षेत्रभन्दा बाहिर गएर आर्थिक कारोबार गर्नु, त्यस्ता क्षेत्रहरूमा लगानी गर्नुले समस्या निम्त्याउँछ ।

समाधानको मार्गः
 कार्यक्षेत्रभित्र बसोवास गरेको र विनियमले तोकेको शर्त बमोजिमका गैर सदस्यलाई तुरुन्तै सदस्य बनाउने,
 गैर सदस्यसँगको कारोबार तुरुन्तै रोक्ने,
 गैर सदस्यसँगको कारोबारलाई तुरुन्तै राफसाफ गर्ने,
 कार्यक्षेत्रभन्दा बाहिर लगानी नगर्ने,
 कार्यक्षेत्र बढाउने भन्दा पनि कार्यक्षेत्र भित्रकै जनसंख्यालाई पहिलो प्राथमिकता दिने,
 कार्यक्षेत्रको जनसंख्याको अनुपातमा संस्थाको सदस्य अनुपातलाई कम्तिमा ३० प्रतिशत कायम राख्ने लक्ष्य राख्ने ।

कारण १२. सञ्चालक समिति व्यवस्थापकीय कार्यमा प्रत्यक्ष संलग्न हुनु ः यो विषय राष्ट्रियस्तरमै बहसको विषय बनेको छ । नेफ्स्कूनका पुर्व अध्यक्ष कैलाशभक्त प्रधानांगको शब्दहरू सापटी लिने हो भने, ‘सहकारीका सञ्चालकहरू राजनीतिक प्रवृत्तिका हुन्छन् जो नीति तथा कानुनहरूको निर्माण गर्न र आवश्यक संशोधन गर्नमा संलग्न भएका हुन्छन्, उनीहरू आफैँले बनाएको कानुनको कार्यान्वयन गर्ने तहमा आउनु हुँदैन, यो कार्य व्यवस्थापनले गर्नुपर्छ ।”

अतः नीति निर्माणमा संलग्न हुने पक्षले कार्यान्यवनको तहमा आउँदा त्यसले कानुनी सन्तुलन गुमाउँछ जसले गर्दा नीति नियमको उल्लंघन हुने, मनोमानी हुने, आफू अनुकूलका निर्णयहरू हुने, व्यवस्थापनका अन्य पक्षहरूको बेवास्ता हुने, कर्मचारीहरूको मनोबलमा कमी हुने आदि सम्भावनाहरू हुन्छन् ।

समाधानको मार्ग ः
यसका कुनै पनि समाधानको उपचारहरू छैनन् । पारित सहकारी ऐनले यस विषयमा स्पष्ट मार्गनिर्देश गरेको छ । अब कार्यान्वयनमा आएपछि यो समस्याको केही हदसम्म समाधान हुने विश्वास लिन सकिन्छ ।

प्रतिक्रिया