इस्लामावाद । भारतले पाकिस्तानभित्र ‘सर्जिकल स्ट्राइक’ वा परमाणु केन्द्रमाथि हमला गरे पाकिस्तान चुप लागेर नबस्ने पाकिस्तानी विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफले चेतावनी दिएका छन् । वासिंगटनमा आयोजित एउटा कार्यक्रममा उनले आक्रमण गरिएको अवस्थामा पाकिस्तानबाट कुनै किसिमको धैर्यको अपेक्षा नगर्न सुझाव दिए । भारतीय वायु सेनाका प्रमुख वीरेन्द्र सिंह धनोआले पाकिस्तानका परमाणुसहितका केन्द्रहरूलाई ध्वस्त पार्ने क्षमता भारतसँग रहेको बताएपछि पाकिस्तानी विदेशमन्त्रीले त्यसको जवाफ दिएका हुन् ।
अमेरिका भ्रमणका क्रममा विदेशमन्त्री ख्वाजाले आफ्ना अमेरिकी समकक्षी रेक्स टिलर्सन र राष्ट्रिय सुरक्षा सल्लाहकार एच आर म्याकमास्टरसँग भेटवार्ता गरेका छन् ।पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा पछिल्लो समय देखिएको तनाव अन्त्य गर्ने प्रयासमा ख्वाजाको भ्रमण केन्द्रित रहेको बताइएको छ । गत अगष्टमा दक्षिण एसियासम्बन्धी आफ्नो नीतिबारे बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले ‘आतंकवादीहरूलाई आश्रय दिने काम पाकिस्तानले बन्द गर्नुपर्ने’ बताएका थिए । उनले त्यस विषयमा अमेरिका चुप लागेर बस्न नसकिने चेतावनीसमेत दिएका थिए ।
‘आतंकवादीहरूलाई आश्रय दिने काम पाकिस्तानले बन्द नगरे कडा कदम चाल्न सकिने’ ट्रम्पले बताएका थिए । ट्रम्पको त्यस्तो अभिव्यक्तिपछि दुई देशबीचको सम्बन्धमा तनाव बढेको थियो । पाकिस्तानी विदेशमन्त्री ख्वाजाले सन् २०१४ पछि पाकिस्तानले आतंक मच्चाउने समूहलाई ध्वस्त पारिदिएको बताए । उनले अमेरिकासँग मिलेर पाकिस्तानले आतंकवादविरुद्ध लडाइँ जारी राख्न चाहेको उल्लेख गरे । परमाणु शक्ति सम्पन्न दुई छिमेकी मुलुक भारत र पाकिस्तानबीच आतंकवादी संगठनलाई लिएर प्रायः आरोप–प्रत्यारोप चलिरहन्छ ।
प्रतिक्रिया