एमाले–माओवादी एकता मुलुकको आवश्यकता

519675051123-(1)

एमाले – माओवादी एकतालाई धेरैले धेरै ढंगले धेरै कोणबाट विश्लेषण गरे पनि यो ती पार्टीका लागि गर्नै पर्ने बाध्यता थियो । ढिलै भए पनि यसको सुरुवात भएको छ । कसैलाई यो चमत्कार वा आश्चार्य लाग्न सक्छ तर, सबैले बुझेको कुरो के थियो भने यी दुई पार्टी अलग–अलग रहेमा एउटाको अस्तित्व खतरामा थियो । को सकिन्थ्यो त्यसको हिसाब त एक वा दुई संसदीय निर्वाचनले देखाँउँथे ।

सशस्त्र द्वन्दरत् माओवादीले जुन दिन बिस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्यो सोही दिनदेखि उसको लोकतान्त्रिकरण सुरु भयो । माओवादी सेनाको व्यवस्थापन भइसकेपछि त उसको एमालेकरण सुरु भइसकेको थियो । नेताहरूले फरक देखाउन सिद्धान्त र आदर्शका जे जे लेपन लगाए पनि वा जस्तो– जस्तो तर्क गरे पनि जनताले पत्याएका थिएनन् । त्यसैले पहिलो संविधानसभाको निर्वाचनमा माओवादी पहिलो पार्टी बन्दा एमाले तेश्रोमा झरेको थियो । दोश्रो संविधानभाको निर्वाचनमा एमाले उकासिँदा माओवादी खिइएको सबैले देखेका छन् । स्थानीय तहको निर्वाचनमा पनि त्यस्तै देखियो त्यो पहाड होस् वा तराई ।

व्यक्तिगत हित वा स्वार्थलाई छाडेर मुलुकको हित हेर्ने हो भने कसैले यो एकताबाट तर्सिनु पर्ने कुनै कारण छैन । नयाँ संविधानमा मुलुक समाजवाद तर्फ उन्मुख हुने भनिएकाले पनि त्यो वैज्ञानिक समाजवाद तर्फको यात्राको गोरेटो तयार गर्न पनि यो एकता कोशेढुंगा हुन सक्दछ । जहाँसम्म सिद्धान्तका कुरा छन् जनताको बहुदलिय जनवाद भने पनि २१ औं शताब्दीको जनवाद भने पनि दुवैबीचको तात्विक भिन्नता देखिदैंन । बरु प्रचण्डले भन्ने गरेको २१ औं शताब्दीको जनवादको ब्याख्या छैन जति जनताको बहुदलिय जनवादको छ । अधिनायकत्वको विषय छोडेर बहुलवाद र आवधिक निर्वाचन स्वीकार गरिसकेपछि अन्य विषय त्यसै पनि तपसिलमा पर्दछन् । नाम र झण्डा जे राखे पनि दुवै समाजवादी पार्टीमा रुपान्तरित पार्टी भएकाले सिद्धान्तको खिचलो देखाउँने दाँत मात्र हो ।

अब पनि यो वा त्यो पक्षले सिद्धान्तको किचलो झिक्नु भनेको एकता विराधी वा पुँजिवादीको चक्रब्यूहमा फस्नु हो । किनभने बामपंथीहरू मिल्दा दक्षिपन्थी खेमामा ठूलै भूइचालो गएको छ । उनीहरूले यसलाई सकारात्मक ढंगले लिएका छैनन् । कहिले एमालेलाई पुठ दिएर माओवादीमाथि खनिने कहिले माओवादीलाई उठाएर एमालेमाथि प्रहार गर्दै सत्ता टिकिरहने गिरिजा कोइरालाले प्रतिपादन गरेको सिद्धान्तलाई यसले ठूलो धक्का दिएको छ । उनीहरूको अनुहार मलिन छ ।

अब कांग्रेस पनि ब्यूझनु पर्छ  र उदारवादी पँुजिवादी समूहलाई एकत्रित गर्न थाल्नु पर्छ । नत्र प्रजातन्त्रकै नाममा जनताले उसलाई पत्याउन गाह्रो छ । काँग्रेस आफूलाई मात्र नेपाली लोकतन्त्रको ठेकेदार ठान्दछ । जबकी कुनै पनि लोकतान्त्रिक आन्दोलन नेपाली कम्युनिष्टहरू सहभागिता विना न आएको छ न टिकेको छ । नेपाली कम्युनिष्टको सहभागिता विना कांग्रेसले न पञ्चायतको न त राजतन्त्रकै रौंसम्म हल्लाउन नसकेको इतिहास साक्षी छ । कांग्रेसले कम्युनिष्टहरू मिले भनेर कोकोहोलो नगरी उदारवादी पुँजिवादका पक्षधरलाई एकत्रित गर्न सक्यो भने नेपाली लोकतन्त्रको जग अझ बलियो हुनेछ ।

प्रतिक्रिया