मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या१४० पुग्यो

earthquakeaकाठमाडौं । मध्य मेक्सिकोमा आएको भीषण भूकम्पले अहिलेसम्म १४० को मृत्यु भएको छ । विनाशकारी भुकम्पमा राजधानी मेक्सिको सिटी र आसपासका राज्यहरूमा १४० भन्दा बढी व्यक्तिहरूको मृत्यु भैसकेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार भूकम्पको तीव्रता ७.१ रेक्टर मापन गरिएको छ । मारेलस राज्यका गभर्नरले दर्जनौं व्यक्तिहरू मारिएको बताएका छन् । छिमेकी राज्य प्वेबलामा पनि थुप्रै व्यक्तिहरूको मृत्यु भएको समाचारमा बताइएको छ ।

यो भूकम्पबाट राजधानी मेक्सिको सिटीमा ठूलो त्रासको वातावरण छाएको छ । मेक्सिको सिटीका मेयर अनखेल मानसेराले यस भूकम्पबाट सहरका कैयौं भवनलाई क्षति पुगेको बताएका छन् ।

मेयरका अनुसार भूकम्पका कारण केही भवनमा आगो लागेको छ र त्यसमा कतिपय व्यक्तिहरू फसेका छन् । समाचारमा भूकम्प अत्यन्त तीव्र रहेको र भवनहरू एकदमै हल्लिएको बताइएको छ ।

भूकम्पका बेला मेक्सिको सिटी वरिपरिको इलाकाका हजारौं व्यक्तिहरू बच्नका लागि सडकमा आएका थिए । भूकम्पमा मरेका व्यक्तिहरूको संख्या बढ्न सक्ने समाचारमा बताइएको छ ।

संयोग नै मान्नुपर्छ, भूकम्प आउँदाको दिन मेक्सिकोमा भूकम्पकै बारेमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो । यहाँ ३२ वर्षअगाडि यस्तै भूकम्प आएको थियो, जसमा १० हजार व्यक्तिहरु मारिएका थिए ।

भूकम्पको समयमा कसरी बच्ने भन्ने बारेमा जानकारी गराइरहेका बेला त्यहाँ ठूलो भूकम्प गएको बताइएको छ । मेक्सिको सिटीको विमानस्थल पनि केही बेर रोकिएको थियो ।

अमेरिकी जियोलोजिक सर्वेअनुसार ५१ किमी तलबाट भूकम्प गएको थियो । स्थानीय समयअनुसार १ बजेर १४ मिनेट जाँदा भूकम्प गएको थियो ।

प्रतिक्रिया